सामान्य वर्षा सहित पाथीभरा क्षेत्रमा हिउँ झर्न थाल्यो

ताप्लेजुङ, १० फागुन (रासस) : ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर क्षेत्रमा सामान्य हिउँ परेको स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले जानकारी दिनुभयो ।

यो वर्ष पहिलो पटक यस क्षेत्रमा सामान्य हिउँ झर्न सुरु भएको हो । जिल्लाका उत्तरी उच्च भेगमा भने वर्षा भएको छैन । विगतका वर्षमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङ्गोलासहितका क्षेत्रमा फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभएको स्थानीयवासीले बताएका छन् ।

सदरमुकाम फुङलिङसहित केही ठाउँमा आज परेको वर्षाले किसानलाई सामान्य राहत मिलेको छ । यो वर्ष हिउँद लागेयता वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन सकेको छैन । गहुँ, मकै, तोरीलगायत बालीनाली लगाउने समयमा वर्षा नहुँदा किसान चिन्तामा परेका छन् । वर्षासँगै सदरमुकामलगायत क्षेत्रमा चिसो बढेको छ ।

बागमती प्रदेशसभाको बैठक : दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल
मकवानपुर, १० फागुन (रासस) :
बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दुई वटा विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव टेबुल गर्नुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बैठकमा प्रस्तुत गर्नुभएको थियो ।

उक्त बैठकमा ती दुवै विधेयकको सैद्धान्तिक छलफल प्रदेशसभाका सदस्यहरूले उठाउनुभएको विभिन्न सरोकारसँग सम्बन्धित विषयसँगै सङ्घीय सरकार र प्रदेश सरकारले गम्भीरतापूर्वक सोच, चिन्तन गरेर व्यावहारिक पक्षलाई दृष्टिकोण गरी पारित गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

उहाँहरूले छलफलमा प्रदेश सरकारले स्थानीय निकायलाई जनताको सरोकारसँग र सेवाभावले काम गर्ने वातावरण तयार गर्न र निजामती कर्मचारीलाई काम, कर्तव्य र अधिकारप्रति प्रतिबद्ध हुने र जनताप्रति सेवाभावले सधँै काम गर्ने माहोल तयार गर्न प्रदेश सरकारले गम्भीररूपमा ग्रहण गरेर प्रदेशसभामा दफाबार छलफल गराई सदस्यको सझावअनुरुप दुवै ऐनलाई पारित गर्नेतर्फ अग्रसर हुनुपर्ने धारणा राख्नुभयो ।

कर्मचारीले पनि काम, कर्तव्य र अधिकारप्रति जवाफदेही हुँदै प्रदेश सरकार र जनताप्रति उत्तरदायित्व बोध गर्ने गरी जनताप्रति सेवाभाव र उनीहरूको समस्यालाई बुझेर दलगत स्वार्थभन्दा माथि उठेर कामकाज गर्न निर्देशित हुनुपर्ने सदस्यहरूले सुझाव दिनुभयो ।

उहाँहरूले यी दुवै विधेयकलाई कानूनविद्सँग विचारविमर्श गरेर प्रदेशसभामा दफाबार छलफल गराएर मात्रै पारित गराउँदा सरकारलाई दीर्घकालीनरूपमा कार्यान्वयन गर्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सो बैठकमा मुख्यमन्त्री जम्कट्टेलले छलफलमा उठेका विभिन्न प्रश्नको जवाफ दिँदै सरकारले दलगत स्वार्थभन्दा माथि उठेर ती दुवै विधेयकलाई प्रदेशसभाको पूर्ण बैठकमा दफाबार छलफल गराई प्राप्त सुझावअनुरुप ऐनमा समावेश गरी पारित गर्नेतर्फ सरकार लागि पर्ने बताउनुभयो ।

उहाँले स्थानीय निकायलाई अझ प्रभावकारी र गतिशील तुल्याउन निजामती कर्मचारीको भूमिकालाई सशक्त ढङ्गबाट परिचालन गर्न र काम, कर्तव्य अधिकारप्रति सचेत गराउने उद्देश्यले र सरकारले उनीहरूको सेवा सुविधालाई उच्च प्राथमिकतामा राखेर जनमुखी सेवालाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले ती दुवै ऐनलाई संशोधन गरी पारित गर्नेतर्फ सरकारको पहल हुने बताउनुभयो ।

विधेयकमाथि छलफलमा सहभागी हुनुहुने सदस्यमा सुरेन्द्रराज गोरसाईँ, हरिप्रभा खड्गी श्रेष्ठ, मधुसुधन पौडेल, कृष्णप्रसाद सिलवाल, जयराम थापा, रमेशकुमार महत, श्रीराम लामिछाने, मातृकाप्रसाद भट्टराई, कुमारी तामाङ, ओमकुमारी श्रेष्ठ, रामकृष्ण चित्रकार, सृजना सैजु, डा राजेन्द्रमान श्रेष्ठ, वसन्त मानन्धर र उत्तम जोशी हुनुहुन्थ्यो ।

फागुन १३ गते अपराह्न बस्ने बैठकमा ती दुवै विधेयकमाथि दफाबार छलफल हुने र त्यसपछि पारित गर्ने कार्यसूची रहेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । प्रदेशसभाको अर्को बैठक फागुन १३ गते अपराह्न ४ बजे बस्नेछ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।