‘कक्षा छ, कोठा तीन : थपिँदै दुःखका दिन’

टिकाराम सुनार/जनकपुरधाम, ११ फागुन (रासस) : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् ।

एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ ।

एकातिर कक्षाकोठाको अभाव, त्यसैमा भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा यो विद्यालय संरक्षकको अभावमा बेवारिसे छोडिएको कुनै संरचनाजस्तै लाग्छ । विद्यालय हो भन्ने ठम्याउन पनि प्रवेशद्वार अड्याउनका लागि बनाइएको पर्खालको भित्तामा लेखिएको विद्यालयको नामको सहारा लिनुपर्ने अवस्था छ । उपमहानगरपालिकाकै ‘मुटु’ भागमा रहेको यो विद्यालय विसं २०५७ देखि सञ्चालनमा छ ।

विसं २०६६ देखि सरकारी मान्यता पाएर जेनतेन अहिलेसम्म सञ्चालनमै रहे पनि भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिँदा यहाँ विद्यार्थी जोगाउनसमेत धौधौ छ । विज्ञान विषयकी शिक्षिका सुनिताकुमारी चौधरीले विद्यालयको भौतिक सुधार हुन नसक्दा अहिले नजिकका अभिभावकले विकल्प खोज्न थालेको बताउनुभयो । कक्षा कोठाको अभाव, सडकसँगै जोडिएर पनि घेरा पर्खाल नहुँदाको असुरक्षा, फोहरमैला जस्ता विभिन्न कारणले अहिले विद्यार्थी पाउन मुस्किल भएको उहाँले बताउनुभयो ।

शिक्षिका पिंकी कुमारीले उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमै भएर पनि भौतिक संरचनाको अभावले विद्यार्थीलगायत शिक्षक, शिक्षिकालाई पठनपाठन गर्न निकै कठिनाइ भइरहेको गुनासो गर्नुभयो । “एउटा कक्षाको विद्यार्थीलाई पढाउँदा अर्कोले त्यही कोठामा बस्नुपर्छ, त्यो समय अर्को साथीले पढाउने कुरा पनि भएन”, उहाँले भन्नुभयो, “यस्तो समस्या वर्षौंदेखि छ, विद्यार्थी र हामी पनि निरास छौँ, समयको बर्बादी र गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ ।”

विद्यालयका प्रधानाध्यापक विन्देश्वर दासले पनि यसरी पढाउन थालेको वर्षौं भएको जानकारी दिनुभयो । “एउटै कक्षामा फरक फरक दुई कक्षाका विद्यार्थी राखेर पढाउन थालिएको वर्षौं भइसक्यो, के गर्नु बाध्यता यस्तै छ”, उहाँले भन्नुुभयो, “विद्यालयको आम्दानी छैन, अरुलाई भवन बनाएर सहयोग गरिदिन भनेको वर्षौं भइसक्यो तर कसैले सुनेनन्, अब त थाकी सके !”

कुनै बेला एउटै कक्षामा दुईसयसम्म विद्यार्थी हुने यस विद्यालयमा अहिले छ वटा कक्षामा भर्ना हुने विद्यार्थीको सङ्ख्या जोड्दा करिब एक सय मात्रै छ । तर, ती सबै विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुँदैनन् । तथ्याङ्कअनुसार विद्यालयमा कक्षा १ मा १७, कक्षा २ मा १६, कक्षा ३ मा १२, कक्षा ४ मा ६ र कक्षा ५ मा नौ जना विद्यार्थी भर्ना छन् । शिशु कक्षामा भने ४० विद्यार्थी रहेको विद्यालयको अभिलेखमा देखिन्छ । यहाँ दुई स्थायी, दुई राहत र तीन बाल विकासलाई पढाउने जनशक्ति तथा दुई सहयोगी गरी आठ जना कर्मचारी छन् । नजिकै मुस्लिम धर्मावलम्बीको बसोबास रहेकाले यस विद्यालयमा भर्ना हुने कूल विद्यार्थीमध्ये पाँच÷सात जनाबाहेक सबै सोही समुदायका बालबालिका छन् ।

कक्षा ५ मा अध्ययनरत छात्र अरमान अन्सारीले अर्को कक्षासँग बसेर पढ्नुपर्दा सबैभन्दा दुःख लाग्ने गरेको बताउनुभयो । उहाँले एउटा सरले पढाएको बेला अर्को कक्षाको विद्यार्थी पर्खेर बस्नुपर्ने वा समय बिताउन कक्षा छोडेर अन्तै जानुपर्ने कारण आफूहरुलाई स्कूल आउन मन नै नलाग्ने गरेको सुनाउनुभयो । त्यसैगरी कक्षा ४ मा अध्ययनरत सृष्टिकुमारी चौधरीले गरिबीका कारण आफू श्री राष्ट्रिय प्राविमा पढ्न बाध्य भएको जनाउनुभयो । “हुनेखाने साथीहरु विद्यालय छोडेर अन्तै पढ्न गइसके तर हामी चाहिँ गरिबीको कारणले यही पढिरहेका छौँ”, सृष्टिले मलिन मुद्रामा भन्नुभयो, “हाम्रा लागि त कोही पनि रहेन छ, विद्यालय राम्रो भए त राम्ररी पढ्न पाइन्थ्यो, भविष्य पनि राम्रो बन्थ्यो होला तर अहिले त विकल्प नभएर यहाँ आउनुपरेको छ ।”

विसं २०६६ मा विद्यालयले सरकारी स्वीकृति पाएसँगै जिम्मेवारी सुरु गर्नुभएका प्रधानाध्यापक यादवले विद्यालयको यही दूरावस्थाका कारण प्रतिवर्ष विद्यार्थीको सङ्ख्या घट्दै गएको बताउनुभयो । “गरिब पढ्ने स्कूल भनेर पो हो कि, कसैले यहाँको अवस्था सुधार्न सहयोग गर्दैनन्, यसले विद्यार्थी त घटिरहेकै छन्, सँगसँगै उपमहानगरमै यस्तो अवस्थाको विद्यालय भन्ने गरिन्छ”, प्रअ यादवले भन्नुभयो ।

यो विद्यालयको अवस्थाका बारेमा वडा र उपमहानगरपालिकाको नेतृत्वलाई पनि जानकारी छ तर सुधारका लागि भने ठोस् पहल भएको छैन । उपमहानगर प्रमुख मनोजकुमार साहले आफ्नो कार्यकाल सुरु भएको छोटो समयमै आफूले विद्यालयको अवस्था सुधारका लागि पहल सुरु गरिसकेको बताउनुभयो । सुरुमा रु पाँच लाख दिने कुरा भएको र आफ्नो कार्यकालमा विद्यालयको मुहार फेर्ने गरी काम हुने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरी वडा नं ८ का अध्यक्ष दिनेशकुमार सिंहले पनि विद्यालयको भौतिक संरचना सुधारका साथै त्यहाँ वरपरको वातावरण पनि विद्यालयमैत्री बनाउन जरुरी रहेकाले सोहीअनुसार सुधारका विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले विद्यालयलाई विद्यालयजस्तै बनाउने गरी काम हुने धारणा राख्नुभयो ।

विसं २०६७ सम्म कक्षा १ को पढाइ हुने यस विद्यालयमा शैक्षिक सत्र २०६७ मा कक्षा २, विसं २०७२ मा कक्षा ३ र २०७३ मा कक्षा ४ र चालु शैक्षिक सत्रदेखि कक्षा पाँचसम्मको पढाइ हुन्छ । प्रधानाध्यापक यादवले आफूले स्थानीय, प्रदेश र केन्द्र सरकारले विद्यालयको अवस्था सुधारमा सहयोग गरे उर्दु शिक्षक र अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरी विद्यार्थीको आकर्षण बढाउने योजना रहेको बताउनुभयो । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।