झापाका युवा बेसार खेतीतर्फ आकर्षित

बनियानी, १२ फागुन (रासस): झापाको कचनकवल गाउँपालिकाका युवा यतिबेला व्यावसायिक बेसार खेतीमा लागेका छन् । साढे पाँच बिघा जग्गा भाडामा लिएर यहाँका प्रदीप थापा, गोविन्द राजवंशी र यज्ञ थापा व्यावसायिक बेसार खेती गर्दैछन् । बाँकेको नेपालगञ्जबाट बीउ ल्याएर उनीहरुले गत वर्षदेखि खेती गर्न थालेका हुन् ।

कचनकवलसँग सीमा जोडिएको भद्रपुर–१ मा पाँच बिघा १० कठ्ठा जग्गा वार्षिक रु एक लाख ५० हजार तिर्ने गरी भाडामा लिएर बेसार खेती गर्न थालेको ३२ वर्षीय प्रदीपले बताउनुभयो । “पहिलो वर्ष ६० हजार किलो बेसार उत्पादन भयोे”, उहाँले भन्नुभयो, “यसपटक ४० देखि ५० हजार किलोसम्म उत्पादन हुने अनुमान छ ।”

सुरुआतमा बजार नपाउँदा समस्या भएको थियो । “बेच्न धेरै गाह्रो भयो, किन्छौँ भनेर आश्वासन दिएकाले नलगेपछि त्यसै थन्कियो”, उहाँले भन्नुभयो, “थोरबहुत सहकारीले बीउका लागि किनेर लग्यो, त्यसपछि सुकाएर राख्यौँ ।”

स्थानीय सामग्रीको प्रयोग गरेर बेसार प्रशोधन गर्ने गरेको प्रदीपले बताउनुभयो । काँचो बेसार नबेचिएपछि उनीहरुले साथी कृषि फार्म तथा प्रशोधन केन्द्र स्थापना गरेर आफ्नै ब्राण्डको ‘साथी बेसार’ बिक्री गर्न थालेका हुन् । बेसारको बीउसमेत बिक्री गर्ने गरिएको छ । बेसारको धुलो बनाएर करिब तीन हजार किलो बिक्री गरेको अर्का कृषक गोविन्दले बताउनुभयो । बेसार खेतीबाट पहिलो उत्पादन गर्न रु १२ लाख खर्च भएको उहाँले बताउनुभयो । खेतीमा अग्र्यानिक उत्पादनलाई जोड दिँदै गाईको गोबर मल र कुखुराको सुली मल प्रयोग गर्ने गरिएको छ ।

धुलो बेसार प्रतिकिलो रु तीन सयमा बिक्री गर्ने गरिएको छ । स्थानीय बजार, भद्रपुर र बिर्तामोडमा आफूहरूले उत्पादन गरेको बेसारको माग धेरै रहेको उहाँले बताउनुभयो । “हामीले उत्पादन गरेको बेसार एकपटक प्रयोग गर्ने उपभोक्ता अर्कोपटक पनि हामीकहाँ नै आउनुहुन्छ”, गोविन्दले भन्नुभयो, “थोरै हाल्दा पनि तरकारीमा बेसार लाग्छ, अग्र्यानिक भएकाले स्वास्थ्यकर पनि छ ।” व्यापारी र ग्राहकले प्रशोधन केन्द्रबाटै बेसार किनेर लग्ने गरेका छन् ।

भारतबाट आउने बेसारले भने स्थानीय उत्पादनका लागि चुनौती बनेको छ । भारतबाट व्यापारीले ल्याउने बेसार रु दुई सयदेखि रु दुई सय ५० मै बिक्री हुने भएकाले समस्या हुने गरेको छ । बेसार खेतीसँगै अन्य मसलाजन्य कृषि वस्तुको उत्पादन थाल्ने युवा कृषकको योजना छ । आगामी वर्षदेखि धनियाँ खेती सुरु गर्ने सोच रहेको उनीहरू बताउँछन् ।

यता कृषि ज्ञान केन्द्र झापाले साथी कृषि फार्म तथा प्रशोधन केन्द्रलाई रु सात लाखसमेत अनुदान दिने भएको छ । बेसार प्रशोधनका लागि उक्त फार्म परेको ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । “बेसार खेतीमा प्रोत्साहन गर्न अनुदान प्रदान गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “यसले कृषकलाई प्रोत्साहन हुनुका साथै क्षेत्रफल बढ्ने विश्वास छ ।” झापामा व्यावसायिक बेसार खेती खासै नभएको उहाँको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।