कुखुरा र कालिज पालनतर्फ युवाको आकर्षण बढ्दो

सुशीला रेग्मी/रामपुर (पाल्पा), १२ फागुन (रासस): हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन ।

पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थाल्नुभएको छ । कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो । भारतीय सेनामा करिब २४ वर्ष काम गर्नुभएका थापाले सन् २०२१ मा अवकाश लिनुभएपछि आफ्नै पुख्र्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थाल्नुभएको हो । उहाँले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी सुरु गरेको बताउनुभयो । थापाले करिब नौ महिनाअघि उक्त व्यवसायमा हात हाल्नुभएको हो ।

गाउँको भिरालो जमिनमा व्यवस्थित तारजालीले चारैतिर बारबन्देज गरेर दीर्घकालीनरूपमा सञ्चालन गर्ने अठोटका साथ उहाँ हिजोआज व्यवसायमा व्यस्त हुनुहुन्छ । स्थानीय जातका पाँच सय कुखुरा र एक सय ७५ कालिजबाट व्यवसाय सुरु गर्नुभएका थापाले करिब नौ महिनामा राम्रै आम्दानी गर्नुभएको छ । हाल स्थानीय जातको कुखुरा प्रतिकिलो भाले रु आठ सय, पोथी रु सात सय र कालिज एउटाको रु दुई हजार पाँच सयमा बिक्री भइरहेको छ । बजार भाउ राम्रो, स्थानीयस्तरमा पनि धेरैले स्थानीय जातको कुखुरा, कालिज खोज्ने भएकाले मागअनुसार पु¥याउन नसकिएको उहाँको भनाइ छ ।

थापाले कालिजका लागि भिरालो रुख, बिरुवासहितको चारैतिर तारजालीले घेरिएको खुला संरचना तयार पार्नुभएको छ । यसले चरनका लागि, खेल्न, डुल्न धेरै सजिलो परेपछि छिटो बिक्री गर्न लायकको हुने उहाँ बताउनुहुन्छ । “स्थानीय कुखुरा, कालिज झट्ट नपाइने हुँदा माग बढ्दो छ, ग्राहकको मागलाई ध्यानमा राखेर व्यवसायलाई बढाउने सोच बनाएको छु”, उहाँले भन्नुभयो, “कालिज, स्थानीय कुखुरामा ग्राहकको सौख बढी रहेकाले ठूलो सङ्ख्यामा पालेर यस क्षेत्रको बजार धान्ने लक्ष्य लिएर व्यवसायमा लागेको छु ।”

महँगो भए पनि हिजोआज कालिजमा धेरैको आकर्षण बढ्दै गएकाले बुटवलबाट चल्ला ल्याएर फार्ममा हुर्काएर बिक्री गर्दा राम्रो कमाइ भएको थापा बताउनुहुन्छ । उहाँले एउटा कालिजको चल्ला रु तीन सय ८० मा खरिद गरेर ल्याउनुभएको हो । घरमै लगेर बिक्री गर्ने सुविधाले उहाँलाई ग्राहकको माग धान्न मुश्किल भएको छ । थापाले रामपुर क्षेत्रका ग्राहकको मागलाई पु¥याउने गरी तीन हजार पाँच सय कालिज पाल्ने तयारीसहित फार्म व्यवस्थित गर्दै हुनुहुन्छ ।

“स्थानीय उत्पादनमा फरक स्वाद पाइने र स्वास्थ्यका लागि राम्रो हुने भएकाले हिजोआज स्थानीय कुखुरा, कालिज खरिद गर्ने धेरै छन्, व्यावसायिक फार्म कम छन्, गाउँको जग्गाको सदुपयोग, व्यवसायबाट आम्दानी हुने, समय बिताउने माध्यम गज्जब लागिरहेछ”, उहाँले भन्नुभयो ।

यस व्यवसायसँगै सौखका रूपमा खरायो, लौकाट पनि पाल्नुभएको छ । फार्ममा हाल नौवटा ठूला र १० साना खरायो र छवटा बाख्रा छन् । समथर भागदेखि माथिल्लो बस्ती हावापानी उपयुक्त हुने भएकाले गाउँमै व्यावसायिकरूपमा कुखुरा र कालिजपालनमा लागेको थापाले बताउनुभएको छ । कुखुराको तुलनामा रोग कम लाग्ने र दाना कम चाहिने भएकाले कालिजबाट धेरै कमाउन सकिने उहाँले अनुभव बटुल्नुभएको छ । अब कालिजलाई थप गरेर यस क्षेत्रलाई कालिज हबका रूपमा विस्तार गर्ने योजना छ ।

पन्ध्र दिनको चल्ला हुर्काएपछि चल्ला हुर्काउन कठिनाइ नपर्ने उहाँको भनाइ छ । यस व्यवसायमा करिब रु आठ लाखको लगानी परेको छ । यस क्षेत्रमा नयाँ व्यवसाय भएकाले अवलोकन जाने, खरिद गर्न जानेको चहलपहल छ । कुखुराको अण्डाबाट चल्ला निस्कन १८ देखि २२ दिन, कालिजको २५ देखि २६ दिनको समय लाग्दछ । चल्ला निस्केको करिब छदेखि सात महिनामा बेच्न लायकको हुने हुँदा पनि राम्रोसँग पालनपोषण गरे छिटो फाइदा दिन सकिने व्यवसायी थापाले बताउनुभयो ।

वर्षाँैदेखि बाउबाजेले भोगचलन गर्दै आएका गाउँका पाखापखेरा छाडेर सहर पस्ने क्रम बढ्दो रहेको अवस्थामा थापाले गाउँमै बसेर गरेको यस व्यवसाय सबैका लागि उदाहरणीय बनेको समाजसेवी सन्दीप राना बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “युवा विदेश जाने, घरपरिवारका सदस्य सहरबजार आसपासमा गाउँ छाडेर कोठा भाडामा बस्ने चलन बढ्दो छ, यसले गाउँ पछिल्लो समय रित्तिँदै गएको छ, गाउँको रमणीय वातावरणमा बसेर पशुपक्षीपालन, तरकारी खेती, होमस्टे (घरबास) सञ्चालन गरेर महिनामा लाखौँ कमाउन सक्ने प्रशस्त आधार छन् ।”

रानाले गाउँका जग्गा सदुपयोग गरी केही नयाँ उद्यम, व्यवसाय गरेर आयआर्जन बढाउन युवालाई उत्प्रेरित गर्दैआउनुभएको छ । विकासको नयाँ योजना बनाएर काम गरियो भने गाउँ छाडेर अन्यत्र बसाइँ गएका स्थानीय पुनः आफ्नै पुख्र्यौली थलोमा फर्कने राना बताउनुहुन्छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।