पर्यटकले नदेखेको अल्पेश्वर गुफा

सुमनजङ्ग थापा/कुश्मा, १३ फागुन (रासस) : डेढ दशक अघि कटुवाचौपारीको जङ्गल छेउमा एउटा ओडार भेटियो । धेरैले जङ्गली जनावर लुक्ने स्थल भएको अनुमान गरे । केही दिनपछि गाउँका युवा त्यहाँ भित्र पसे । उनीहरूले त्यो ठाउँ जङ्गली जनावरको वासस्थान नभएर महादेव शिवको तपस्यास्थल भएको कुरा गाउँभर सुनाए । रातारात पूजाअर्चना र गुफा हेर्न चाहनेको घुइँचो बढ्न सुरु भयो । स्थानीय गुफाको संरक्षणमा जुटे । सुरुको दिनमा केही बाह्य पर्यटक गुफामा पुगे पनि उचित संरक्षण र प्रचारको अभावमा हिजोआज अल्पेश्वर गुफा पर्यटकविहीन बनेको छ ।

एकान्त र साहसिक गतिविधि मन पराउनेका लागि अल्पेश्वर गुफा पहिलो रोजाइ बन्न सक्छ । तीन तलाको गुफाको मुख्य प्रवेशद्वार कटुवा चौपारीबाट छिरेर नौ सय मिटरको दूरी पार गरेपछि मोदी खोलामा निस्कन सकिन्छ । गुफामा रहेका ताल तलैया र स–साना झरनाले मन रोमाञ्चित तुल्याउने गर्छ ।

जाडोमा न्यानो र गर्मीमा चिसो हावा बहनु गुफाको फरक विशेषता रहेको अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका पूर्वअध्यक्ष नारायण अधिकारीले बताउनुभयो । उहाँका अनुसार गुफाभित्र बनेका आकृतिमा मनले सोचे अनुसार महादेव, पार्वती, शिवलिङ्ग, पाँच पाण्डव, शङ्ख, चक्र, हात्तीको सुँड, आदि प्राकृतिक आकृति आँखाले देख्न सकिने छ ।

सदरमुकाम कुश्मादेखि १५ मिनेटको पदयात्रामा अल्पेश्वर गुफा पुग्न सकिन्छ । दुई वटा अग्ला तथा लामा झोलुङ्गे पुल कुश्मा–ज्ञादी र खरेहा–अधिकारीचौर पुल तरेपछि सजिलै गुफामा पुग्न सकिने भए पनि पर्यटक आकर्षित गर्नेतर्फ कसैको ध्यान गएको देखिँदैन ।

“बाहिर जिल्लादेखि शैक्षिक तथा संस्थागत भ्रमण, पारिवारिक घुमघाम र प्रेमिल जोडी अग्लो पुलको अवलोकन र मज्जा लिन आउने गर्छन् तर उनीहरूलाई छेउमै रहेको गुफासम्म लान सकिएको छैन”, स्थानीय राजबाबु पिसीले भन्नुभयो, “स्थानीय सरकारको पर्यटनलाई हेर्ने दृष्टिकोण साँघुरो छ, पर्यटनसम्बन्धी कुनै चेत नै छैन, उनीहरूले बाटो र भवन बनाउने कुरालाई मात्र विकास सम्झन्छन् ।”

समथर र रमणीय ज्ञादीको फाँट हुँदै पुग्न सकिने गुफाको बाहिरी भागबाट माछापुच्छ«्रे, अन्नपूर्ण, धौलागिरि हिमाल, पञ्चासे र डहरेदेउरालीको लेक देख्न सकिन्छ । अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका पूर्वअध्यक्ष सुरेश पिसीका अनुसार त्यहाँबाट मोदी खोला, कालिमाटीको रमणीय डाँडा र बागलुङको भैरवथान मन्दिरसमेत देख्न सकिने छ । गुफामा विभिन्न प्रजातिका २० हजार बढी चमेरा बस्ने गरेको अध्यक्ष पिसीले बताउनुभयो ।

साउनको प्रत्येक सोमबार, शिवरात्रि, बालाचदतुदर्शी मेलालगायत हिन्दू धर्मसँग जोडिएको दिनमाबाहेक अन्य समय गुफा सुनसान हुने गरेको छ । “प्रकृतिले दिएको अथाह सम्पत्तिलाई राज्यले प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो, त्यो भएन । हामीले स्थानीयरूपमा धेरथोर गरेकै छाँै, त्यो पर्याप्त नहुने रहेछ”, अध्यक्ष पिसीले भन्नुभयो, “जेठदेखि असोजसम्म पानीको बहाव गुफाभित्रै छिर्ने हुँदा पाँच महिना जति गुफामा प्रवेश गर्न सकिँदैन । रेलिङ हालेर पुलजस्तो बनाउन सक्ने हो भने बाह्रै महिना गुफा प्रवेश गराउन सकिन्थ्यो ।”

गुफामा हिँड्न सहज होस् भनेर फलामका भ¥याङ राखिए पनि पूरै जोखिमपूर्ण अवस्थामा छन् । बिजुलीको तार टाँगिएको देख्न सकिन्छ तर बत्तीको सुविधा भने छैन । “यस क्षेत्र सहरको कोलाहलदेखि वाक्क भएकाका लागि केही छिन भए पनि प्राकृतिक आनन्दको मज्जा लिन सक्ने उचित गन्तव्य हो”, घुम्न मन पराउने कुश्माका दिनेश तिवारीले भन्नुभयो, “गुफाको संरक्षण राम्रोसँग भएको देखिँदैन । साँच्चीकै पर्यटकीय गन्तव्य बनाउने हो भने प्रचारले मात्र पुग्दैन गुफा र त्यस वरिपरिका क्षेत्रमा आकर्षण थप्न सक्नुपर्छ ।” गुफाको ढाँचा हेरेर उत्तरतर्फ बगिरहेको गङ्गादेखि महादेव शिव प्रकट भई यस गुफामा आएर अल्प भएको किम्वन्दन्तीबाट यस गुफाको नाम अल्पेश्वर राखिएको भनाइ रहेको अध्यक्ष पिसीले बताउनुभयो । —

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।