अस्मिताको सङ्घर्षः जीवन धान्न बालुवा बोक्नेदेखि ‘कटन क्यान्डी’ मेसिन चलाउनेसम्म

ढोरपाटन, २० फागुन (रासस) :सैतीस वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिनुहुन्छ । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । विसं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिनुभएकी अस्मिताको म्याग्दीकै मङ्गला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो ।

विवाहलगत्तै विसं २०६३ मा सुनौलो भविष्यको सपना देखेर गरेर खानका लागि बागलुङ बजार छिरेका विक दम्पतीको सङ्घर्षका दिन सुरु भए । सुरुआती दिनमा अस्मिताले बागलुङ बजारको हल्लनचोकमा तरकारी बेच्नुहुन्थ्यो । उहाँका जेठा छोरा यतिबेला रुद्रेपिपल माध्यमिक विद्यालयमा कक्षा १० र कान्छा छोरा कक्षा ५ मा पढ्नुहुन्छ ।

विद्यालय जान नपाउनुभएकी अस्मितालाई छोराहरूले धेरै पढुन् भन्ने चाहना छ । छोरालाई पढाउनकै लागि उहाँले कालिका मन्दिर प्रवेशद्धारमा फूल–प्रसाद पनि बेच्नुभयो । सोचेजस्तो आम्दानी नभएपछि अस्मिताले कालीगण्डकी नदीबाट बालुवा निकाल्ने काम गर्नुभयो । अस्मिताका श्रीमान् गणेश वैदेशिक रोजगारीका लागि साउदीसमेत पुग्नुभयो ।

विदेशमै बिरामी परेर दुःख पाएपछि छ वर्ष अघि गणेश स्वदेश फर्कुनुभयो । धन कमाउन विदेशिएको श्रीमान् बिरामी परेर फर्किएपछि छोरालाई पढाउन र दुई छाक खुवाउन समस्या हुने देखेर अस्मिताले रु ५० हजार ऋण लिएर कटन क्यान्डी बनाउने मेसिन किन्नुभएको हो ।

छ वर्षयता सोही मेसिन अस्मिताको सुख, दुःखको साथी बनेको छ । बिरामी निको भएपछि घर निर्माणको काम सुरु गर्नुभएका गणेशले डेढ वर्षदेखि आफ्नै अटोरिक्सा चलाउन सुरु गर्नुभयो । छोराहरूको भविष्य उज्ज्वल बनाउने अठोटसहित अगाडि बढ्नुभएका विक दम्पतीले एक जनाको कमाईले घर खर्च चलाउने र अर्काको कमाइले अटोको किस्ता तिर्ने गर्नुहुन्छ । केही रकम सहकारीमा बचत गर्ने गर्नुहुन्छ ।

“कुनै कुनै दिन एउटा क्यान्डी बिक्री हुँदैन, कहिलेकाहीँ चार–पाँच हजार पनि हुन्छ, कमाएर सम्पत्ति जोड्ने रहर छैन, छोराले दुःख नपाउन्, धेरै पढुन् भन्ने चाहना छ”, अस्मिता भन्नुहुन्छ । अप्ठ्यारोमा पनि आँट, साहस र परिवारको मायाले हरेक चुनौतीसँग लड्न सहज भएको उहाँको भनाइ छ । सुरुका दिनमा निकै दुःख पाएको सुनाउने अस्मिताले अहिले दैनिकीमा थोरै परिवर्तन आएको बताउनुभयो । सङ्घर्षलाई निरन्तरता दिए सफलता मिल्ने उहाँ बताउनुहुन्छ ।

“खुसी जीवन जिउन श्रीमान्–श्रीमती एकअर्काको मुख ताकेर हुँदैन, परिवारमा सकेको काम सबैले गर्नुपर्छ, हामीजस्तो सामान्य परिवारका मान्छेले अवसर पाउन गाह्रो नै हुन्छ र पनि अवसर आफैँ खोजेर लागे सफलता मिल्छजस्तो लाग्छ, हामीलाई दुःखले सङ्घर्ष सिकायो ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।