ओखलढुङ्गामा बोलेरो दुर्घटनामा दुईको मृ’त्यु, ११ घाइते

ओखलढुङ्गा, २१ फागुन (रासस) ःओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृ’त्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृ’त्यु भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिनुभयो । दुर्घटनामा परी ११ घाइते भएका छन् । तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

पाँच जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

हिमपात भएपछि किसान खुसी
मनाङ, २१ फागुन (रासस) ः
हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन् । ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताउनुभयो । “यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यसपटक ढिला गरी प¥यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ”, उहाँले भन्नुभयो, “जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनी नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि हामी खुसी भएका छौँ ।”,

उहाँका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ । “स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन”, उहाँले भन्नुभयो, “आवश्यक मात्रामा न हिमपात भएको छ, न त पानी नै परेको छ ।”

जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । “पुसमा हिउँ परेको भए जमिनमुनीसम्म पानीको मात्रा पुग्छ । अहिले समयमा हिउँ खेतीबाली के राम्रो होला खै रु तापक्रम बढेपछि परेको हिउँ पग्लिएर माथि–माथि नै सुक्छ । बारीमा लगाएको बालीको जरासम्म पुग्दैन”, किसान गुरुङले भन्नुभयो । कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जिल्लामा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात हुन सुरु भएको जानकारी दिनुभयो । यसबाट किसानलाई केही राहत मिलेको बताउनुभयो ।

“माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आंशिक मात्रामा हिमपात भएको छ”, उहाँले भन्नुभयो । बेमौसममा हिमपात बढ्ने देखिएको उहाँले बताउनुभयो । “मङ्सिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले फागुनको तेस्रो साता मात्रै हिमपात हुन थालेको छ”, नासो गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले भन्नुभयो, “बल्ल मात्र हिमपातको सुरुआत भएको छ ।”

मनाङ ङिस्याङ–९ का वडाध्यक्ष च्योल्पा गुरुङले मौसममा हिमपात नभए पनि ढिला गरी हिमपात भइरहेको बताउनुभयो । “विगतमा यतिबेला हिउँले ढकमक्क ढाकिएको हुन्थ्यो, घरको हिउँ फाल्नमा व्यस्त हुन्थ्यौँ, अहिले बल्ला आङ्शिक रुपमा हिमपात भएको छ, यसपाला सुक्खापन छ । सुक्खापनले हिमालकै हिउँ पग्लिएका छन्”, उहाँले भन्नुभयो ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात भएको तर आवश्यकताअनुसार नभएको बताउनुभयो । “डाँडाकाँडा र हिमालको फेदीतिर हिउँ बाक्लै देखिन्छन् तर बस्ती र खेतबारीसम्म आइपुग्ने गरी हिमपात भएको छैन”, उहाँले भन्नुभयो । उहाँका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँमा आवश्यक मात्रामा हिमपात हुन सकेको छैन । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेसी झरिसकेका छन् । मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानपछि सबै बेसी झरे पनि हिमपात भने आवश्यक मात्रामा नपरेको उहाँले जानकारी दिनुभयो ।

विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपंक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । तर यसपटक सोही अनुसारको व्यवस्था गरिए पनि ढिला गरी हिउँ परेको उहाँले बताउनुभयो । जिल्लामा गत वर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायजसो मङ्सिर अन्तिमदेखि मात्र हिमपात हुने गर्दछ ।

चिसो र हिमपात छल्न मनाङवासी कात्तिक अन्तिम र मङ्सिर पहिलो साता बेसी झर्ने गर्दछन् । उनीहरु काठमाडौँ, पोखरा, बेँसीसहरलगायत स्थानतर्फ जाने गर्दछन् । यस पटक भने उनीहरु गाउँघर फर्किने समयमा हिमपातको सुरुआत भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।