साकेलामा निर्माणाधीन आधारभूत अस्पतालको भवन गुणस्तरहीन

खोटाङ, २१ फागुन (रासस) :साकेला गाउँपालिका–२ रतन्छामा निर्माणाधीन पाँच श्ययाको आधारभूत अस्पतालको भवन गुणस्तरहीन बनेको पाइएको छ । खानी निर्माण सेवाले ठेक्का लिएको निर्माणाधीन अस्पताल भवनको भुइँ तलाको बिम बाङ्गो बनाइएको र गुणस्तरहीन काम गरेको पाइएको हो ।

तेस्रो बिमको ढलानमा गिट्टी, बालुवा मिलाएर नहाल्दा प्वाल बन्नुका साथै रड बाहिरै निस्किएको देखिएको छ । निर्माणाधीन अस्पताल भवन अनुगमनका क्रममा गुणस्तरहीन काम भएको पाइएपछि गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले ढलान गरिएको बिम फुटाएर पुनःनिर्माण गर्न निर्देशन दिनुभएको छ ।

पालिकाभित्र निर्माण हुने भौतिक संरचना गुणस्तरीय बनेन भने भत्काएर बनाउन लगाउने गाउँपालिका प्रमुख राईले बताउनुभयो । “गुणस्तरहीन काम गर्नु भनेको राज्यको पैसा दुरुपयोग गर्नु हो, जनताले तिरेको करलाई हामी दुरुपयोग हुन दिदैनौँ”, उहाँले भन्नुभयो, “निर्माण भइरहेको अस्पताल भवन ढलान गर्ने क्रममा गुणस्तरीय ढलान नगरेको, बाङ्गो बिम बनाएको, प्राविधिक लागत अनुमानअनुसार मात्रा नमिलाएको पाइएको छ, हरेक काममा हाम्रो निगरानी रहन्छ ।”

गाउँपालिका प्रमुख राईको निर्देशनलगत्तै ठेकेदारले ढलान बिम भत्काएर पुनःनयाँ निर्माण सुरु गरेको स्थानीय बासिन्दाले बताएका छन् । गत माघ १९ देखि माघ २१ गतेसम्म अस्पताल भवनको पहिलो ढलान गरिएको थियो ।

खानी निर्माण सेवाले भ्याटसहित रु छ करोड ७६ लाख ७६ हजार चार सय ५५ मा १८ महिनाभित्र सम्पन्न गर्नेगरी विसं २०७८ असार २१ गते सम्झौता गरेको थियो । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण अस्पताल भवन निर्माणको म्याद विसं २०७९ पुस २१ गते नै गुज्रिसकेको पाइएको छ ।

ठेकेदार कम्पनीसँगको सम्झौता म्यादभित्र काम नभएपछि आगामी असार मसान्तसम्ममा काम सक्नेगरी प्रथम पटक म्याद थप गरिएको गाउँपालिकाले जनाएको छ । अस्पताल भवनको बिम गुणस्तरहीन ढलान गरेको पाइएपछि गाउँपालिकाले निर्माण कम्पनीको भुक्तानी रोकेको छ ।

ठेकेदार कम्पनीले प्राविधिकका अनुसार गुणस्तरीय ढलान गरेपछि मात्र भुक्तानी दिइने गाउँपालिका प्रमुख राईले बताउनुभयो । प्रत्येक स्थानीय तहमा एक÷एक आधारभूत अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीतिअनुरुप रतन्छामा साढे दुई तलाको अस्पताल भवन निर्माण सुरु गरिएको थियो ।

यसैबीच साकेला गाउँपालिकाले साकेला आधारभूत अस्पताल रतन्छाको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त प्रस्तावित दरबन्दीअनुसार कर्मचारी दरबन्दी स्वीकृत गरेको हो ।

गाउँपालिका प्रमुख रविप्रकाश राईको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको कार्यालयले आठौँ तहमा मेडिकल अधिकृत डाक्टर एक जनासहित १८ स्वास्थ्यकर्मीको दरबन्दी स्वीकृत गरेको छ । स्वीकृत दरबन्दीअनुसार स्टाफ नर्स चार, हेल्थ असिस्टेन्ट तीन, आयुर्वेद सहायक एक र ल्याब टेक्निसियन एक कायम गरिएको छ ।

यस्तै रेडियोग्राफर एक, फार्मेसी सहायक एक, डेन्टल हाइजिनिष्ट एकको दरबन्दी स्वीकृत भएको छ भने प्रशासनिक कर्मचारीतर्फ नायब सुब्बा एक र कार्यालय सहयोगी तीन तथा एक जना सरसफाइकर्मीको दरबन्दी स्वीकृत गरिएको छ । स्वीकृत दरबन्दीअनुसार केही समयपछि विज्ञापन आह्वान गरेर कर्मचारी नियुक्ति गरिने गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।