कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी

गलकोट, २३ फागुन (रासस) :बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति हुन् लक्ष्मी पुन थापा ।

विसं २०४० मा बागलुङको दक्षिण राङ्खानीमा जन्मिएकी लक्ष्मीको ९ कक्षामा पढ्दै गर्दा बिहे भयो । गाउँमै बोर्डिङ सञ्चालन गरेर प्रिन्सिपल रहेका पैयुँथन्थापका गङ्गाबहादुर थापासँग बिहे हुँदा लक्ष्मीको शर्त थियो प्रवेशीका परीषा (एसएलसी)सम्म माइतै बसेर पढ्ने । गङ्गाबहादुर र उहाँको परिवारले शर्त मञ्जुर गर्नुभयो र पालना पनि ।

लक्ष्मी र गङ्गाबहादुरको बिहे भएको केही समयमै देशमा शसस्त्र द्वन्द्व चर्कियो । गाउँमा बोर्डिङ सञ्चालन गर्न ग्राहो भएपछि लक्ष्मीका श्रीमान् गङ्गाबहादुर कुश्मिसेरा बजार झरेर कुखुरा पाल्न थाल्नुभयो ।

लक्ष्मीले एसएलसीको नतिजा प्रकाशन भएको समाचार रेडियोबाट सुन्नुभयो तर पास भएको समाचार भने कुश्मिसेराबाट केही दिनपछि श्रीमान्ले पठाएको चिठ्ठी पढेपछि मात्रै थाहा भयो ।

लक्ष्मीका श्रीमान्ले त्यहीँ चिठ्ठीमा केही दिनपछि लिन आउने र कुश्मिसेरा आएर प्लस टु पढ्नका लागि तयार भएर बस्नु भनेर लेख्नुभएको थियो । त्यो बेला गाउँको विद्यालयबाट कति जनाले एसएलसी दिए भन्ने लक्ष्मीलाई सम्झना छैन, तर पास भने आफू र आफ्ना देवरमात्र भएको सम्झना छ । केही दिनपछि लक्ष्मी र उहाँका देवरलाई लिन गङ्गाबहादुर घर पुग्नुभयो । प्लस टु पढ्न लक्ष्मी श्रीमान्सँग कुश्मिसेरा आउनुभयो । त्यो समयमा लक्ष्मीका श्रीमान्ले रु ४० हजार लगानी गरेर कुखुरा पाल्न सुरु गर्नुभएको थियो ।

प्लस टु पढ्दै गर्दा लक्ष्मीले छोरालाई जन्म दिनुभयो । हुर्केका कुखुरा र बारीमा फलेको तरकारी द्वन्द्वको समयका कारण बिक्री भएन । त्यसपछि लक्ष्मी नौ महिनाको छोरा काखमा च्यापेर श्रीमान्सहित बागलुङ बजार आउनुभयो । परिवारसहित सदरमुकाम आएपछि लक्ष्मी र गङ्गाले बागलुङ नगरपालिका–३ स्थित बिजुली पावर हाउस नजिकै आठ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्न सुरु गर्नुभयो ।

श्रीमान्ले रोजेको कृषिकर्ममा सहयोग गर्दै, छोराको हेरचाह गर्दै लक्ष्मीले स्नातक तह पनि उत्तीर्ण गर्नुभयो । कृषक परिवारबाट हुर्किएका गङ्गाबहादुरको लगाव माटोमै बढ्दै गयो । परिवारका जेठा छोरासँग विवाह भएकी लक्ष्मीलाई आफ्ना छोरासँगै देवर र नन्दहरूलाई समेत पढाउनु, बढाउनुपर्ने जिम्मेवारी थियो ।

आफू सरकारी जागिर खान्छु भनेर हिँड्दा श्रीमान्ले लिएको लक्ष्य प्राप्त गर्न कठिनाइ हुने लागेपछि लक्ष्मीले आफ्नो रहर कसैलाई नभनी माटोसँगै रमाउन थाल्नुभयो । देवर, देउरानी र परिवारका सदस्यको साथकै कारण आफ्ना श्रीमान् गङ्गाबहादुर नेपालकै पहिलोपटक कृषक परिचयपत्र प्राप्त गर्ने अगुवा कृषक बनेकामा लक्ष्मीलाई सबैभन्दा ठूलो खुसी मिलेको छ ।

श्रीमान्लाई साथ दिने अठोट लिएकी लक्ष्मीले डोकामा च्याउ बोकेर बागलुङमात्र होइन, पर्वत र म्याग्दी पनि पुगेर बेच्ने गरेको स्मरण गर्नुहुन्छ । “डोकामा च्याउका पोका पारेर पर्वत, म्याग्दीको बेनी पुगेँ, बागलुङ बजारमै ठेलामा डुलाइडुलाइ बेचेँ”, लक्ष्मी भन्नुहुन्छ, “परिवारको खुसी नै सबैभन्दा ठूलो सन्तुष्टि हो ।”

छोराको नामबाट राहुल कृषि फार्म दर्ता गरेर लक्ष्मी र गङ्गाबहादुरले च्याउखेती, तरकारी तथा फलफूलका बिरुवासमेत उत्पादन गर्दै आउनुभएको छ । पछिल्लो समय गङ्गाबहादुर गाउँ–गाउँमा कृषकलाई कृषि तालिम प्रदान गर्न हिँड्नुहुन्छ । फार्ममा लक्ष्मीका देवर–देउरानी हुनुहन्छ । लक्ष्मी भने आफ्नो फार्ममा मात्र होइन, जिल्लाका अन्य कृषकले उत्पादन गरेका फलफूल तरकारी बेच्न किसान मार्ट सञ्चालन गर्नुभएको छ ।

कुनै बेला सरकारी जागिर खाने सपना देख्ने गरेकी लक्ष्मीको आजभोलि सपनामात्र फेरिएको छैन, फेरिएको सपना पूरा गर्ने लक्ष्य र उद्देश्यको नयाँ योजना बनिरहेको छ । म्याग्दीको भकिम्लीमा लक्ष्मीको किबी फार्म छ । उहाँको नर्सरीमा तरकारीका मात्र होइन, किबी, ड्रागन फ्रुटका बिरुवा छन् । गड्यौलाको उत्पादन छ । भोलिका दिनमा फूलका बिरुवा उत्पादन गर्ने योजना छ ।

लक्ष्मी र गङ्गाबहादुरले बिजुली पावरहाउसमा तरकारी खेती गर्न सुरु गर्दा त्यस क्षेत्रका अन्य जग्गा जमिन बाँझै थिए । अहिले खेतका हरेक गराहरूमा तरकारी फलिरहेका छन् । गाउँको नाम फेरिएर कृषि गाउँ बनेको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।