चट्याङसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ, २४ फागुन (रासस) : आज दिउँसो देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही हल्का हिमपातको सम्भावना छ ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । पहाडी भू–भागमा चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहनुका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बाँकेमा लक्ष्यभन्दा कम मात्रामा धान खरिद
खजुरा, २४ फागुन (रासस) :
बाँकेमा लक्ष्यभन्दा धेरै कम धान खरिद गरिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, नेपालगञ्ज कार्यालयले २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा हालसम्म नौ हजार क्विन्टल मात्र खरिद गरेको छ ।
धान बिक्रीका लागि किसान कार्यालयमा आउन छाडेपछि फागुन पहिलो सातादेखि धान खरिद बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो । उहाँका अनुसार यस वर्ष जिल्लाका आठ सय ४० किसानको मध्यम धान २० हजार क्विन्टल र मोटो धान पाँच हजार क्विन्टल खरिद गर्ने लक्ष्य थियो ।
तीन सय ४० किसानको मध्यम धान सात हजार क्विन्टल र मोटा धान दुई हजार क्विन्टल धान खरिद गरिएको लामिछानेले जानकारी दिनुभयो । जिल्लाका आठवटै स्थानीय तहलाई कोटा निर्धारण गरेर गत पुस ५ गतेदेखि २५ हजार क्विन्टल धान खरिदको लक्ष्य राखेर खरिद सुरु गरिएको थियो । निर्धारित समयभन्दा ढिला धान खरिद सुरु गरेकाले अधिकांश किसानले पहिला नै व्यापारीलाई बिक्री गरेको डुडुवा–४ का रामगोपाल बर्माले बताउनुभयो ।
“कम्पनीले भन्दा पहिला व्यापारीले सरकारले तोकेको मूल्यमै धान खरिद गर्न थालेपछि किसानले आफ्नै सुरले बिक्री गरेका हुन्”, उहाँले भन्नुभयो । सरकारले यस वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार नौ सय ६७ र मध्यम धानको रु तीन हजार एक सय २८ तोकेको थियो । जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरका किसानले मात्र निर्धारित कोटाअनुसार धान बिक्री गरेको र अन्य पालिकाका केही किसानले धान बिक्री गरेको कार्यालयले जनाएको छ ।
–––


