दिक्तेल रुपाकोट मझुवागढीमा विपन्न महिलालाई आर्थिक सहयोग

खोटाङ, २५ फागुन (रासस) :दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विपन्न परिवारका छ जना महिलालाई आर्थिक सहयोग गरेको छ ।

बुधबार ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा वडा नं १ दिक्तेलकी मनिषा कटवाल, वडा नं ४ खाल्लेकी पवित्रा लम्साल, वडा नं ७ दोर्पाचिउरीडाँडाकी निर्माया राई, वडा नं १० पाथेकाकी मनकुमारी विश्वकर्मा, वडा नं ११ खार्मीकी अम्बिका विश्वकर्मा र वडा नं १२ जालपाकी दुर्गा श्रेष्ठलाई नगद सहयोग गरिएको हो ।

विपन्न महिलालाई जनही रु छ हजारका दरले सहयोग प्रदान गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले जानकारी दिनुभयो । कार्यक्रममा नगरभित्रका उच्च पदमा पुग्न सफल तीन महिला निजामती कर्मचारी र २७ जना महिला प्रधानाध्यापकलाई सम्मान गरिएको छ ।

निजामतीतर्फ उपसचिव कोपिला राई, अधिकृत छैटौंँ रेखा राई र शर्मिला राईलाई सम्मान गरिएको छ । निजामती सेवातर्फ उच्च पदमा पुगेर सेवारत महिला अधिकृतलाई नगरपालिकाले दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरेको हो । दिवसको अवसरमा नगरपालिकाले महिला जनप्रतिनिधिबीचमा वतृत्वकला प्रतियोगितासमेत गरेको थियो ।

‘नगरको समृद्धिमा महिला जनप्रतिनिधिको भूमिका’ विषयक वतृत्वकला प्रतियोगितामा वडा नं १२ जालपाकी वडासदस्य धनशोभा राई प्रथम, वडा नं ३ बाम्राङकी रेखा रम्तेल दोस्रो, वडा नं ४ खाल्लेकी सुवती राई तेस्रो र वडा नं १० पाथेकाकी कल्पना राई सान्त्वना हुनुभएको छ ।

प्रतियोगितामा नगरका आठ महिला जनप्रतिनिधिको सहभागिता थियो । कार्यक्रममा किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत नगरपालिकाले सरस्वती मावि पाथेकालाई रु ७३ हजार उपलब्ध गराएको छ । किशोरी समूह निर्माण गरी किशोरी सशक्तीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

सिर्जनशील महिला कृषि समूह खाल्लेलाई रु छ लाख २५ हजार उपलब्ध गराइएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत किसान समूहलाई रकम उपलब्ध गराएको नगरउपप्रमुख विशन राईले जानकारी दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवम् संविधानसभा सदस्य दुर्गाजयन्ती राईको प्रमुख आतिथ्यता आयोजित कार्यक्रम अघि दिक्तेल बजारमा ¥याली निकालिएको थियो । पन्ध्र वडा रहेको उक्त नगरपालिकामा महिला तथा बालबालिका शाखाको आयोजनामा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो ।

बालविवाह रोकियो

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकाकी १७ वर्षीय किशोरी र सोही नगरपालिकाको वडा नं ६ नेर्पाका २२ वर्षीय युवकबीच हुन लागेको विवाह रोकिएको छ ।

स्थानीय बाल क्लबले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी भइरहँदा मङ्गलबार १७ वर्षकी किशोरी र २२ वर्षका युवकबीचमा विवाहको तयारी भएको थियो ।

बालविवाह गर्न लागेको खबर आएपछि प्रहरीचौकी तालखर्कका प्रहरी पुगेर सम्झाइबुझाइ गरेपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।