माउले छावाको वास्तै नगर्दा……

कृष्ण आचार्य/ चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरका कर्मचारी, हात्तीका माउते र सुसारेलाई यतिबेला सुत्केरी हात्तीको स्याहारसुसार गर्न भ्याइनभ्याइ छ । बुधबार खोरसोरमा रहेकी गण्डकीकली सुत्केरी भएकी थिइन् । कर्मचारीलाई अन्य हात्तीको भन्दा गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपर्ने जिम्मेवारी छ ।

गण्डकीकलीले व्यथा लागेको लामो समयसम्म बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएको थियो । शल्यक्रियापश्चात हात्ती र छावा दुवैको स्वस्थ्य अवस्था राम्रो छ । प्रजनन तथा तालिम केन्द्र र राष्ट्रिय प्राकृतिक तथा संरक्षण कोषका चिकित्सक र प्राविधिकले नियमितरूपमा सुत्केरी हात्ती र छावाको स्वास्थ्य जाँच गरिरहेका छन् ।

छावालाई माउले दूध खान नदिएपछि आफैँले हात्तीको दूध दोएर खुवाएको केन्द्रका नायबसुब्बा मनपुरन चौधरीले बताउनुभयो । “माउले छावाको वास्तै गरेको छैन, दूध पनि खान दिएको छैन”, उहाँले भन्नुभयो, “चिकित्सकको सल्लाहअनुसार दुई–दुई घण्टामा आधा लिटर पानी उमालेर ५० ग्राम पाउडर दूध राखेर खान दिएका छौँ ।” जबसम्म माउले दूध चुसेर खाँदैन तबसम्म छावाको विशेष स्याहार गर्नुपर्ने उहाँले बताउनुभयो ।

चौधरीका अनुसार शल्यक्रिया गरेका कारण गण्डकीकलीको विशेष स्याहारसुसार गर्नुपरेको छ । उहाँले सुत्केरी हात्तीलाई एक–दुई दिनसम्म बिहान–बेलुका मान्छेलाई जस्तै तेल लगाएर जिउको मालिस गरिदिने बताउनुभयो । तेलले मालिस गर्दा हात्तीलाई आराम हुनुका साथै कीरा–फट्याङ्ग्रासमेत नलाग्ने चौधरीले बताउनुभयो ।

नेपालमै पहिलोपटक शल्यक्रिया गरेर हात्तीको छावा जन्माइएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । पच्चीस वर्ष उमेरकी गण्डकीकलीलाई मङ्गलबार बिहानैबाटै व्यथा लाग्न थालेको थियो । “व्यथा लागेको लामो समयसम्म पनि बच्चा जन्माउन नसकेपछि बुधबार दिउँसो शल्यक्रिया गरेर छावा जन्माइएको हो”, उहाँले भन्नुभयो । हात्तीको शल्यक्रिया गरेर बच्चा जन्माउनु दुर्लभ रहेको डा श्रेष्ठले बताउनुभयो ।

गण्डकीकलीको पेटमा रहेको बच्चा योनीतिर निस्कनुपर्नेमा तल्लो भागतिर पोको परेर बसेको थियो । “हात्तीलाई सामान्यरूपमा सुत्केरी गराउन सकिने अवस्था देखिएन । माउ र बच्चाकै ज्यान जानसक्ने खतरा भएपछि शल्यक्रिया गर्ने निर्णयमा पुग्यौँ”, श्रेष्ठले भन्नुभयो । डा श्रेष्ठ नेतृत्वको टोली शल्यक्रियामार्फत छावा निकाल्न सफल भएको हो ।

गण्डकीकली हाल निकुञ्जमै रहेकी ५० वर्षकी प्रेरणाकलीबाट जन्मिएकी हुन् । उनको यो दोस्रो बेतको छावा हो । गण्डकीकलीको तीन वर्षअघि पहिलोपटक जन्मिएको छावा मरेको थियो । “हामीलाई बच्चाको भन्दा माउको बढी माया थियो । शल्यक्रिया गरेर गण्डकीकलीको पेटमा रहेको बच्चा झिक्न सके उसलाई बचाउन सकिन्छ कि भन्ने सल्लाह ग¥यौँ”, डा श्रेष्ठले भन्नुभयो । करिब दुई घण्टा लगाएर गण्डकीकलीको पेटमा रहेको भाले छावा निकाल्न सफल भयौँ ।”

शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउनु दुर्लभ रहेको राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक अमिर सडौलाले बताउनुभयो । “शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउनु नेपालमा मात्रै नभएर विश्वमै दुर्लभ हो”, उहाँले भन्नुभयो, “नेपालमा त पहिलो हो नै तर शल्यक्रिया गरेर हात्तीको बच्चा जन्माउने घटना विश्वमै न्यून छन् ।” उपलब्ध साधनश्रोतले शल्यक्रिया गर्न सफल भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण केन्द्रका भेटेरेनरी प्राविधिक किरणराज रिजालले गण्डकीकली र छावाको स्वास्थ्यमा सुधार देखिएको बताउनुभयो । सुरुआतमा श्वास फेर्न थाले पनि उठ्न नसकेको छावा बिहीबार बिहान आफैँ उठेर हिँडडुल गर्न थालेको उहाँले बताउनुभयो । “सुरुमा छावा कमजोर थियो । राति भिटामिन र औषधि खुवायौँ”, रिजालले भन्नुभयो, “अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।” छावालाई विस्तारै माउसँग लगेर दूध खुवाउने प्रयास गरिरहेको उहाँको भनाइ छ । बाह्र दिनपछि छावाको न्वारन गरिदने रिजालले बताउनुभयो । प्रमुख संरक्षण अधिकृतसहित प्राविधिकको उपस्थितिमा छावाको नाम राख्ने चलन छ ।

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले व्यथाले छट्पटाइरहेको हात्तीलाई चिकित्सक र प्राविधिकको टोलीले कुशलतापूर्वक बचाएपछि संरक्षणको क्षेत्रमा थप ऊर्जा मिलेको बताउनुभयो । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठ, पशु चिकित्सक विकल्प कार्की, प्राविधिक किरण रिजाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरेनरी डा अमिर सडौला, क्यानडाका पशु चिकित्सक डा निख मास्टर, प्रजनन केन्द्रका माउतेलगायत टोलीले करिब दुई घण्टा लगाएर गण्डकीकलीको शल्यक्रिया गरेको हो । विसं २०५४ यता प्रजनन केन्द्रमा ६२ छावा जन्मिएका छन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।