सेखुवा–चखेवाभञ्ज्याङ सडकमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग

खोटाङ, २९ फागुन (रासस): कालोपत्रको काम भइरहेको मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको सेखुवा–चखेवाभञ्ज्याङ सडकखण्डमा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई नेतृत्वको टोलीले गरेको निरीक्षणमा ठाउँ–ठाउँमा कम गुणस्तरको सब–वेस तयारी अवस्थामा राखिएको र ढलानमा माटो मिसिएको बालुवा प्रयोग गरेको पाइएको हो ।

सेखुवा–चखेवाभञ्ज्याङ (दश किलोमिटर) लामो सडकखण्ड रु ३२ करोडको लागतमा कालोपत्र गर्ने जिम्मा कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिशाही जेभी काठमाडौँले पाएकामा निर्माण सुरु गरेको सात वर्षसम्म काम अलपत्र बनेकोे थियो ।

कजवे निर्माणका क्रममा मापदण्ड विपरीत बालुवा प्रयोग गरिएको भेटिएको समन्वय समिति प्रमुख राईले बताउनुभयो । “निर्माण कम्पनीलाई कम गुणस्तरको निर्माण सामग्री हटाउन तथा माटो मिसिएको बालुवा प्रयोग गरेर निर्माण गरिएको स्ट्रक्चर भत्काएर पुनः गुणस्तरीय बालुवा प्रयोग गर्न निर्देशन दिइएको छ”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीलाई स्ट्यान्डर्ड स्पेसिफिकेसन फर रोड एन्ड ब्रिज वर्कस्, २०७३ अनुसार गुणस्तरीय निर्माण सामग्री प्रयोग गर्न कागजसमेत गराइएको छ ।”

विसं २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरी उक्त निर्माण कम्पनीले विसं २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा सडकखण्ड कालोपत्रका लागि सम्झौता गरे पनि सम्झौताअनुसार काम नगरेपछि थप भएको पहिलो म्याद विसं २०७७ पुस १३, दोस्रो म्याद विसं २०७८ असार १३ र तेस्रोपल्ट थप भएको म्याद विसं २०७८ फागुन ३० गते सकिसकेको थियोे ।

नेपाल सरकारले जारी गरेको सार्वजनिक खरिद नियमावलीको १२औँ संशोधनअन्तर्गत सो आयोजनाको म्याद आगामी असार मसान्तसम्म थप भएकामा निर्माण कम्पनीको ढिलासुस्तीका कारण थप म्यादभित्र सडक कालोपत्रको काम सम्पन्न हुने अवस्था नदेखिएको समन्वय प्रमुख राईले बताउनुभयो ।
ढिलासुस्ती भएपछि मध्यपहाडी लोकमार्ग योजनाको कार्यालयले ठेक्का तोड्न गत मङ्सिर १८ गते सडक विभागसमक्ष सिफारिस गरेपछि काम गरेको ठेकेदार कम्पनीले चैत पहिलो सातादेखि डिबिएसटीको काम सुरु गर्ने र वैशाख मसान्तसम्ममा डिबिएसटीको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो तर ठेकेदारले आफ्नो ‘सेड्युल’ अनुसार काम नगरेको उहाँले जानकारी गराउनुभयो।

छिमेकी जिल्ला भोजपुरका बासिन्दाले समेत राजधानी काठमाडौँ आवतजावतमा प्रयोग गर्ने उक्त सडक कालोपत्रको काम ठेकेदारले अलपत्र पारेपछि मध्यपहाडी लोकमार्ग योजना कार्यालयले ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरेको थियो । उक्त कार्यालयले ठेक्का तोड्न सिफारिस गरेको केही समयपछि खोटाङको साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईको रोहवरमा मैनाचुली निर्माण सेवा कम्पनीका प्रतिनिधि मदनकुमार अधिकारीले कार्यतालिका बनाएर बाँकी काम आगामी असार मसान्तभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

यसैबीच मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको पङ्खुखोला पुल निर्माणको काम रोकिएको छ । म्याद नाघेको वर्षौं बितेपछि निर्माणको काम सुरु भएको पङ्खुखोला पक्की पुलको काम पुनः रोकिएको हो ।

पङ्खु खोलामा अबुटमेन्ट र लिफ्ट ढलान गरिएकामा हाल निर्माणस्थलमा निर्माण सामग्री डण्डी, गिट्टी, बालुवा र सिमेन्ट नदेखिएकाले निर्माण कार्य रोकिएको पाइएको जिसस प्रमुख राईले बताउनुभयो । निर्माण कम्पनीलाई तत्काल आवश्यक निर्माण सामग्री ल्याएर उक्त निर्माणाधीन पक्की पुलको काम पुनः गर्न निर्देशन दिइएको बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।