खोटाङमा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न प्रतिबन्ध

खोटाङ, ४ चैत (रासस) : रावाबेँसी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रका नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको छ । दूधकोसी र रावाखोलामा अवैध तरिकाले करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्ने गरेको गुनासो आएपछि गाउँपालिकाले सूचना जारी गर्दै नदी तथा खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोगमा रोक लगाएको हो ।

करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा नदी तथा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र पर्यवरणमा क्षति पुग्ने भएकाले सो कार्यमा रोक लगाउनुपरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताउनुभयो । “माछा मार्नेक्रममा करेन्ट तथा ब्लाष्टिङ प्रयोगले माछासँगै जलचरसमेत पूर्णरुपमा नष्ट हुन्छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा माछा मार्ने क्रममा नदी तथा खोलामा करेन्ट र विस्फोटक पदार्थ प्रयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरनेछ ।”

रावाखोलामा धेरैजसो अन्यत्रबाट आउने व्यक्तिले माछा मार्नेक्रममा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गर्ने गरेको गाउँपालिकाले जनाएको छ । दूधकोसीमा भने स्थानीय बासिन्दाले नै विष लगाउनुका साथै ब्लाष्टिङ हानेर माछा मार्ने गरेको बताइएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा बग्ने रावाखोलामा पाइने असला माछा देशभर प्रसिद्ध छ । रावाखोलामा पाइने असला माछाको सिकुटी राजधानी काठमाडौँलगायत विभिन्न सहर तथा बजारमा निर्यात हुने गरेको छ । रावाखोलाको माछा मारेर स्थानीय बासिन्दाले राम्रो आयआर्जनसमेत गर्दै आएका छन् । सावाखोला आसपास गर्ने कुभिण्डे, खार्पा, लामीडाँडा, हौँचुर, जालपालगायतका स्थानीय बासिन्दाले माछा मार्ने व्यवसाय गर्दै आएका छन् ।

रावाखोलामा प्रतिकेजी रु छ सय मा बिक्री हुँदै आएको असला माछाको सुकुटी जिल्लामै प्रतिकेजी रु तीन हजार पाँच सयमा बिक्री हुने स्थानीय बासिन्दाले बताएका छन् । जिल्लका रावाखोलासँगै तापखोला, साप्सुखोला, बुँवाखोला, टुवाखोला, देखुमखोलालगायतमा असला माछा पाउने गरेको छ । यसअघि केपिलासगढी गाउँपालिकाले पनि स्थानीय खोलामा करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न रोक लगाएको थियो । गाउँपालिकाले करेन्ट तथा विस्फोटक पदार्थ प्रयोग गर्न रोक लगाएपछि स्थानीय खोलामा असला माछासमेत वृद्धि भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

गत वर्ष जनता समाजवादी पार्टी (जसपा) खोटाङले गठन गरेको सुरक्षा दलले माछा मार्नेक्रममा स्थानीय खोलामा विष लगाउने, करेन्ट लगाउने र ब्लाष्टिङ गर्नेलगायतका गतिविधिलाई रोक लगाउन सम्बन्धित पक्षलाई लगाउन आग्रह गरेको थियो । विष, करेन्ट र ब्लाष्टिङको प्रयोग गर्दा खोलामा भएका सबै किसिमका जलचरको अस्तित्व नै समाप्त हुने र कतिपय अवस्थामा करेन्ट लाग्दा मान्छेको ज्यान नै जाने गरेको उदारण प्रस्तुत गर्दै सुरक्षा दलले पर्यावरणको संरक्षण गर्दै माछाबाट आर्थिक उपार्जनमा टेवा पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्न जिल्लास्थित स्थानीय सरकार, जिल्ला प्रशासन र सुरक्षाकर्मीको ध्यानाकर्षण गराएको हो ।

सुरक्षा दलले स्थानीय खोला तथा नदीमा पाइने माछालाई आयआर्जनको माध्यमका रुपमा विकास गर्ने खालका कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारसमक्ष माग गरेको थियो । स्थानीय खोलामा पाइने माछालाई जैविक विविधतामा असर नपुग्ने गरी उचित समयमा सही विधि अपनाएर मार्ने र आर्थिक आयआर्जनमा टेवा पुग्ने गरी जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएको थियो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।