आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ, १२ चैत (रासस): हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका पहाडी भू–भागमा केही दिनदेखि आंशिक बदली भइरहेको छ ।
यसैगरी आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भोलि सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कित्ताकाट खुलाउन पहल
रसुवा, १२ चैत (रासस) :
गत असारको तेस्रो सातादेखि रोकिएको जमिनका कित्ताकाट खुलाउन यहाँका पालिकाले पहल सुरुआत गरेका छन् । यसलाई कार्यान्वयन गर्न यहाँका पाँच गाउँपालिकामध्ये पहिलो चरणमा उत्तरगयाले गृहकार्य अगाडि बढाएको हो । यसका लागि उसले सुझाव सङ्कलन सम्पन्न गरेको छ ।
आवास क्षेत्र र कृषियोग्य जग्गाका विषयमा यकिन गरेर मात्र कित्ताकाट गराउन संघीय सरकारले सबै पालिकालाई पत्राचार गरेको थियो ।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले सुझाव सङ्कलनकार्य सम्पन्न गरी निर्णयमा जाने अन्तिम तयारी भएको जानकारी दिनुभयो । भू–उपयोगको नीतिअनुरूप सङ्कलित सुझाव र विज्ञको सिफारिसलाई आधार मानी यही चैत २५ गतेभित्र निर्णय लिइसक्ने उहाँले बताउनुभयो । कृषिका लागि दुई रोपनी र घडेरीका लागि साढे चारआनाभन्दा कम कित्ताकाट गर्न नपाइने भू–उपयोग नीतिले औँल्याएको छ ।
असारदेखि हालसम्म कित्ताकाट हुन नसकेकै कारण रु ३० लाखभन्दा बढी राजस्व घटेको मालपोत कार्यालयले जनाएको छ । कित्ताको रजिष्टे«शन, मरूवा नामसारी, बैंक–वित्तीय संस्थाको धितो बन्धकको कामबाहेक कित्ताकाटबाट गरिने रजिष्ट्रेशनकार्य रोकिएको मालपोत प्रमुख गणेश श्रेष्ठले बताउनुभयो ।
नौकुण्ड गाउँपालिकाले जमिनको कित्ता नम्बरसहितको लगत सङ्कलन सुरू गरेको अध्यक्ष नुर्पुसाङ्वो घलेले बताउनुभयो ।
–––


