चर्चामा ऐतिहासिक ओदानडाँडा

गलकोट, १६ चैत (रासस) : ठूलो फाँट छेउको ओदानडाँडाको स्वरुप पछिलो दुई वर्ष यता फेरिएको छ । धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ केही समयअघिसम्म गुमनाम रहेको ओदानडाँडा स्थानीयका सक्रियतामा पूर्वाधार र प्रचारप्रसारपछि चर्चामा आएको छ ।

आकाशबाट खसेको प्राकृतिक ओदान संरक्षण गरेर राखिएको स्थानलाई अहिले पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ पछिल्लो दुई वर्षयता थुप्रै पूर्वाधार थपिएपछि ओदानडाँडाको चर्चा चुलिन थालेको छ ।

ऐतिहासिक महत्व बोकेको ओदानडाँडाको संरक्षण र विकासका लागि गठन भएको ओदानडाँडा संरक्षण समितिको अगुवाइ, स्थानीयको सहयोग र पालिका र गण्डकी प्रदेशको सहयोगमा सो क्षेत्रमा पूर्वाधार निर्माणपछि आन्तरिक पर्यटकसमेत आउन थालेका छन् ।

ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको बागलुङको काठेखोला गाउँपालिका–७ रेश स्थित ओदानडाँडा स्थानीयको सक्रियतामा संरक्षणको काम भएको हो । ओदान रहेको मन्दिर र सत्तल मात्रै रहेको स्थानमा अहिले पदमार्ग, प्रवेशद्वार, आकर्षक पानीको फोहोरासहितको पोखरी, व्यवस्थित सत्तल र जग्गा व्यवस्थापनको काम भएको छ ।

बाइसेचौबिसे राज्यअन्तर्गत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा खसेको प्राकृतिक ओदान संरक्षित गरेर राखिएको उक्त स्थानलाई पछि ओदानडाँडा नामकरण गरिएको थियो । अहिले ओदानडाँडा पर्यटकीय गन्तव्य बन्दै गएको स्थानीय रामचन्द्र गौतमले बताउनुभयो ।

“अहिले ओदान कस्तो रहेछ भनेर हेर्न आउनेको सङ्ख्या बाक्लो छ, यसलाई हिन्दू धर्मसँग जोडेरसमेत कतिले पूजाआजा गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “बिस्तारै ओदान हेर्नेका लागि चासो दिने बढेका छन् ।”

परापूर्वकालदेखि नै ऐतिहासिक ओदानको संरक्षण गरेर राखिएको उक्त क्षेत्र लामो समयदेखि ओझेलमा परेपछि स्थानीयको सक्रियतामा दुई वर्षअघिदेखि मात्रै ऐतिहासिकस्थल ओदानडाँडाको संरक्षण थालिएको थियो ।

“गुमनाम रहेको ओदानडाँडा संरक्षण र प्रचारप्रसारसँगै चर्चामा आउन थालेको छ, रेश जाने सडक सुधार भएको खण्डमा धार्मिक पर्यटकको चाप बढ्ने देखिन्छ”, उहाँले भन्नुभयो, “ऐतिहासिक प्रमाणसहितको ओदानडाँडामा हालसम्म पूर्वाधार निर्माणमा झण्डै रु ४० लाख खर्च भइसकेको छ, चर्चित लोकभजन गायक रेशम सापकोटाद्वारा ओदानडाँडाको विषयमा रचना गरेको भजन र छायाङ्कन गरेको दृश्य अहिले तरेली सङ्गीतकुञ्जको युट्युब च्यानलमा ६१ हजारले हेरिसकेपछि ओदानडाँडा एकाएक चर्चामा आउन थालेको हो ।”

चट्याङ पर्दा खसेको ओदानको एक खुट्टा खसेपछि दुईखुट्टे ओदान संरक्षण गरेर ओदानडाँडा मन्दिरमा राखिएको छ । आदानडाँडाको गुरुयोजना बनाएर ओदानडाँडाको तारबार गर्ने, ओदानडाँडा क्षेत्र विस्तार गर्ने र उक्त स्थानमा पुग्ने पदमार्ग निर्माणपछि ओदानडाँडाको मुहारै फेरिएको छ ओदानडाँडा संरक्षण संस्थाका अध्यक्ष विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७÷७८ मा काठेखोला गाउँपालिकाको र वडा कार्यालयको रु चार लाख, चालु आर्थिक वर्ष गण्डकी प्रदेशको सामाजिक विकास कार्यालय बागलुङको रु सात लाख र वडा कार्यालयको रु एक लाख ५० हजार तथा स्थानीयबाट सङ्कलित गरेको रु २५ लाखबाट धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको ओदानडाँडामा पूर्वाधार निर्माण गरिएको हो ।

स्थानीय सहयोगदाताले एक हजारदेखि रु एक लाख ११ हजारसम्म ओदानडाँडा संरक्षणमा रकम तथा भौतिक पूर्वाधारका सामग्री सहयोग गरेका थिए ।

सत्तल व्यवस्थापन, एक सय मिटर तारबार, शिवमूर्तिसहितको पानीको फोहोरा, पदमार्ग र मन्दिर परिसरमा रेलिङ, प्रवेशद्वार, एक सय आठ शिवलिङ्ग, एक सय आठ केजीको तामाको ओदान, मन्दिर अगाडिको जग्गा व्यवस्थापन, पक्की प्राङ्गण निर्माण र तीन सय मिटर लामो पक्की पदमार्ग निर्माण गरिएको छ ।

“यो दुई वर्षमा धेरै मेहनत गरियो, स्थानीयको सहयोगमा प्राप्त रकमबाट पूर्वाधार निर्माणसँगै प्रचारप्रसारका लागि भजनसमेत छायाङ्कन गरियो, अहिले भजन हेरेकै आधारमा टाढाटाढाबाट धार्मिक पर्यटक ओदान हेर्न ओदानडाँडामा आउछन्”, संरक्षण संस्थाका अध्यक्ष गौतमले भन्नुभयो, “प्राकृतिक ओदानसँगै एक सय आठ केजीको तामाको ओदान राखेपछि पर्यटकलाई थप आकर्षण गर्नेछ, अझै मन्दिरमा सय मिटर जाली, ओदानडाँडादेखि खर्दाङ र खर्दाङदेखि धनीखोरिया झोलुङ्गे पुल निर्माण गर्ने र ओदानडाँडादेखि दामगाडेसम्म पक्की पदमार्ग बनाउने र शौचालय व्यवस्थापनको काम बाँकी रहेको छ ।”

ओदानडाँडा पुर्खाको तपोभूमि तथा ऐतिहासिक र धार्मिक तीर्थस्थलका रुपमा रहेकाले यसको संरक्षण, पूर्वाधार निर्माण तथा प्रचारप्रसार गर्न थालिएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो ।

पालिकाको गुरुयोजनामा समावेश गरेर ओदानडाँडाको विकास गरिएको लामिछानेको भनाइ छ । बाइसेचौबिसे राज्यका पालामा राजाले यस स्थानमा कोट निर्माण गर्न थालेपछि गौतम थर गरेका विज्ञ पुजारीले उक्त स्थानमा बज्र अर्थात् चट्याङ खस्ने र कोट तथा दरबार क्षति हुने बताएपछि राजा रिसाएर पुजारीलाई कारबाही गरेको तर उक्त स्थानमा विज्ञले भने जस्तैगरी ओदान सहितको बज्र खस्दा एक खुट्टा भाँचिएको ओदान भेटिपछि त्यसलाई संरक्षण गरी राखिएका कारण उक्त स्थान ऐतिहासिक, पुरातात्विक तथा धार्मिक हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीय कृष्णप्रसाद गौतमले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।