बाटोकै सास्ती

भूमिराज पिठातोली/बझाङ, १८ चैत (रासस) : चट्टानै चट्टान भएको भीरमा साँघुरो बाटो । यताउता फर्कनै नमिल्ने । माथि हेर्दा चट्टान खस्ला झैँ, तल हेर्दा आँङै सिरिङ हुने । त्यही बाटोमा भारी बोकेर यात्रा गर्नुहुन्छ, तलकोट गाउँपालिका–२ रुवातोलाका गोविन्द बोहरा । उहाँ हरेक महिना छ–सात पटक गह्रुँगो भारीसहित तीन दिन पैदलयात्रा गरेर साइपाल पुग्नुहुन्छ ।

भारी बोकेरै जीविकोपार्जन गर्ने उहाँलाई सरकारले रोजगारी दिएन भन्ने गुनासो छैन । सरकारले बाटो मात्रै बनाइदिए उहाँको मनमा शान्ति हुने बोहराको भनाइ छ । “जीविकोपार्जनका लागि साइपालको भारी बोक्नुपर्छ,” उहाँले भन्नुभयो, “साइपालमा भारी बोकेर जान सबैभन्दा समस्या यही बाटोमा हुन्छ । पालिकाले रोजगारी नदिए पनि बाटो मात्रै बनाइदिए हामीलाई ठूलो राहत हुने थियो ।”

रुपातोलाको किर्किट्याबाट अहिलेसम्म बाटो काटिएको छैन । चट्टान तथा पहिराको बीचमा चौपायाले टेकेका पाइलामा पाइला मिलाएर यात्रा गरेको पनि पाँच वर्ष भइसक्यो । मानवबस्तीको सबैभन्दा अन्तिम गाउँ साइपालको न्युना, बलौडी तथा धुलीका लागि पिठ्यूँमा भारी बोक्दै हिँड्ने उहाँलाई सबैभन्दा कठिन यात्रा कालडाँडासम्मको लाग्छ ।

कालडाँडादेखि किर्किट्यासम्मको दूरी झन्डै २५ किलोमिटर छ । “यो बाटोमा संयमता नअपनाए कोही पनि फर्केर आउन सक्दैन,” बोहराले भन्नुभयो, “भारी पिठ्यूँमा बोकेर एकछिन पनि पर्खन सकिन्न । माथिबाट ढुङ्गा खस्ला भन्ने डर, तलबाट खुट्टा चिप्लिने डर । संयोगवश अहिलेसम्म दुःखद खबर भएको छैन ।” बोहराका अनुसार रुपातोलाको किर्किट्याबाट भारी बोकेर कालडाँडा पुग्न १२ घण्टा लाग्छ । “कालडाँडा तलको खोला (ठूले खोला) सम्म पुग्नै साढे पाँच घण्टा लाग्छ । त्यसपछि उकालै उकालो । त्यो यात्रा पार गरेपछि भने बाँचे जस्तै लाग्छ”, उहाँले भन्नुभयो ।

गैरीडाँडामा भेटिनुभयो, रुपातोलाका दीपक बोहरा । गैरीडाँडा कालडाँडा र ठुले खोलाको बीचमा पर्छ । उहाँ साइपालको न्यूनामा बन्दै गरेको एउटा घरको रडसहित सामान बोकेर आउनुभएको हो । कालडाँडा पुग्न यहाँबाट साढे दुई घण्टाको यात्रा गर्नुपर्छ । “जोखिम बाटोको बढी भाग त काटेँ । कालडाँडा पुगेपछि मात्रै साइपाल पुगेजस्तै हुन्छ”, उहाँले भन्नुभयो । दीपकले कालडाँडा पुगेपछि साइपाल जाने बाटो भने केही सहज भएको बताउनुभयो । साइपालको न्यूना गाउँ पुग्न कालडाँडाबाट झन्डै १० घण्टा उकालो ओरालो हिँड्नुपर्छ । “साइपालले फराकिलो बाटो बनाएको हुँदा जता पनि भारी बिसाउन सकिन्छ । आराम गर्दै हिँड्न सकिने भएकाले बाटोको समस्या हुँदैन”, उहाँले भन्नुभयो ।

दीपक हरेक महिनामा चार÷पाँच पटक त्यही बाटो ओहोरदोहोर गर्नुहुन्छ । धुलीसम्म पिठ्यूँमा भारी बोकेर परिवारको गुजारा गर्नुहुन्छ । दीपकले भन्नुभयो, “तीन–चार दिनको यात्रा गरेर धुलीसम्म पु¥याएको सामानको ज्यालाले परिवार पाल्नुपर्छ ।” उहाँले भारी बोकेको पैसाबाट कर तिरिरहेको बताउँदै सरकारले बाटो नबनाइदिएकामा गुनासो गर्नुभयो ।

रुपातोलाका महादेव जोशी पुजारी हुनुहुन्छ । उहाँका जजमान (पूजा लगाई माग्ने समुदाय) साइपालमा छन् । पूजाआजा हुने साइतदेखि औँसी पूर्णिमाको दिन जोशी साइपाल पुग्नुहुन्छ । न्यूना र बलौडीमा पूजाका लागि उहाँ घरबाट एक दिन अघि नै निस्कनुपर्छ । “आफू पुजारी भएकाले सामानको भरी बोक्नु पर्दैन्, रित्तै आउनुपर्ने हुन्छ । भारी बोक्नेहरुको जस्तो समस्या मैले भोगेको छैन,” उहाँले भन्नुभयो, “भारी बोकेर आउनेहरूलाई त बाटो ‘काल’ जस्तै हो । सरकारले बाटोका लागि वास्तै गर्दैन ।”

किर्किट्या–गैरीडाँडा–कालडाँडा बाटो हिँड्ने तलकोटको रूपातोलावासी मात्रै नभइ साइपालको न्युना र बलौडीबासी पनि नियमित ओहोरदोहोर गर्छन् । “माथिबाट तलकोट क्षेत्रको करिब तीन घण्टा लाग्ने बाटो साइपालले काटेको छ । “तलको भाग तलकोटले काटेर बाटो खोलीदिए सबैलाई सहज हुन्थ्यो”, न्युनाका प्रदीप बोहराले भन्नुभयो । लेकको ठाउँ त्यसमाथि जोखिम पूर्ण यात्रा गर्दा बाटोका कारण सबैलाई जोखिम भएको उहाँले बताउनुभयो । “घरबाट निस्कने बित्तिकै किर्किट्या–गैरीडाँडा–कालडाँडा बाटोको यात्रा सफल होस् भनेर परिवारले पुकार गर्छन्,” प्रदीपले भन्नुभयो, “बर्खायाममा तलकोट–साइपाल यात्रा नै बन्द हुन्छ । काँडा भएर जान छ दिन पैदल यात्रा गर्नुपर्छ । अझ कहिलेकाहीँ खोला बढेर जानै सकिँदैन ।” हिउँदमा यहाँका बासिन्दाले यही चट्टानको बाटो भएर बोकेर ल्याइएका खाद्य तथा दैनिक उपभोग हुने सामानबाट गुजारा गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

तलकोटको सिमाना काउल्यासम्म हो । काउल्यादेखि कालडाँडा पुग्न झन्डै पाँच घण्टा समय लाग्छ । त्यो बाटो सबै साइपाल गाउँपालिकाले काटेको छ । तलकोट गाउँपालिकालाई बाटोका लागि धेरै प्रयास गर्दा पनि सुनुवाइ नभएको गोविन्दले बताउनुभयो । “दुई चारजना गएर त्यो बाटो काटिँदैन,” उहाँले भन्नुभयो, “पालिकाले बजेट विनियोजन गरेमा सबैलाई ढुक्कले हिँड्ने बाटो बनाउन सकिन्थ्यो ।”

बाटो निर्माणका लागि स्थानीय सरकालाई पटक–पटक जानकारी गराए पनि वास्ता नगरेको गोविन्दले गुनासो गर्नुभयो । “यस वर्ष पनि धेरै भन्यौँ, वडासँग जहिल्यै झगडा पर्छ । बाटोका लागि कुनै सरकारले चासो देखाउँदैनन्”, उहाँले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले बाटो निर्माणका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “म पालिकामा आएदेखि नै बाटोका निर्माणका लागि कार्यपालिकामा निर्णय गरेर रू डेढ लाख छुट्याएका छौँ । बिस्तारै काम हुनेछ र आवश्यकताअनुसार बजेट पनि थप्नेछौँ ।”

पालिकामा नयाँ सरकार बनेको अब एक वर्ष पुग्न लागेको छ । बाटो खन्ने तयारीसमेत नभएकाले अध्यक्षको कुरा पत्याउन नसकिने स्थानीय कलकबहादुर बोहोराले बताउनुभयो । “हामी जहिल्यै पालिकामा जाँदा ‘अब बन्छ’ भन्ने आश्वासन मात्रै दिनुहुन्छ । अहिलेसम्म बाटोका लागि केही पहल भएको छैन । अब यो आर्थिक वर्षसम्म आशा गरौँ केही हुन्छ कि !”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।