कर्मले बदलिएको नाम ‘तरकारी काका’

ढोरपाटन, १९ चैत (रासस) : घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा हुनुहुन्छ टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त हुनुहुन्छ । कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसक्नुभयो । उमेरले सात दशक लाग्न थाल्नुभएको उहाँमा जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन । उहाँ यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो ।

साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कमी कत्ति पनि आएको छैन । व्यावसायिकरूपमा गोलभेँडा, काउली बन्दा, सिमीलगायतका तरकारी उत्पादनमा तल्लीन उहाँ थुप्रै कृषकका उत्प्रेरणाका स्रोत र सारथी बन्नुभएको छ । पानी, प्रविधिलगायतका थुप्रै सामग्रीको अभावका बीच पनि कुँडुलेमा व्यावसायिक कृषि कर्ममा खटिरहने सापकोटाको प्रेरणाबाट धेरै व्यावसायिक कृषि कर्म थालेका छन् । कृषि कर्मबाट निकै सन्तुष्ट देखिने उहाँलाई नेपाली माटोमा सुन फलाउन सकिने विश्वास छ ।

सामान्य परिवारका सापकोटालाई व्यावसायिक तरकारी खेती गर्नुपूर्व बिहान–बेलुकीको गर्जो टार्न गाह्रो हुन्थ्यो । ज्याला–मजदुरी र निमेक गरेर परिवार पाल्नुपथ्र्यो । तर तरकारी खेतीमा लागेपछि तीन छोरी र चार छोरालाई राम्रोसँग पढाउनुका साथै परिवार पालेर पनि करिब रु दुई करोडको जग्गा किन्न सफल हुनुभएको छ । उहाँले आजको यो सफलता सहजै पाउनुभएको भने होइन । थुप्रै हन्डर र ठक्कर खाँदै यहाँसम्म आइपुगेको उहाँको भनाइ छ । सुरुका वर्ष व्यावसायिक तरकारी उत्पादन गर्दा बिक्री नै नभएको उहाँको तितो अनुभव छ ।

किसान सापकोटा भन्नुहुन्छ, “जिन्दगीमा के काम गरिएन र, सबै काम गरियो तर, तरकारी खेतीबाट मलाई सुख र खुसी मिल्यो, विसं २०४८–४९ तिर गोलभेँडा, काउली र मसला बिक्रीका लागि बागलुङ बजारतिर लग्यौँ तर बिक्री भएन । सबै फाल्नुपर्छ कि भन्नेजस्तो लाग्यो, त्यतिबेला निकै दुःख लागेको थियो, तर पछिपछि राम्रो भयो, यहाँको माटो अत्यन्त उब्जाउ हुने खालको छ, जे लगाए पनि राम्रो फल्छ, त्यसैले यहाँको माटोमा सुन फलाउन सकिन्छ ।”

उहाँले आफ्नो दुःख सुनाउँदै भन्नुभयो, “अहिले मलाई धेरै सन्तुष्टि मिलेको छ, तरकारी खेती नगरेको भए मलाई सात भाइ–बहिनी छोराछोरी हुर्कान, पढाउन र परिवार चलाउन गाह्रो हुन्थ्यो, तर अहिले राम्रै ठाउँमा सात रोपनी जग्गा किन्न सफल भएँ, छोराछोरी कोही जापान छन्, कोही कहाँ छन्, तर सबैलाई राम्रो भएको छ, अब त म समस्यामा छैन, यी सबै उपलब्धि मेरो कृषि पेसाबाट नै भएको हो ।”

सुरुका दिनमा बारीमा धेरै काँक्रा तथा फलफूल उत्पादन भएको र बिक्री नभएपछि बजारमा निःशुल्कसमेत बाँडेको उहाँले सुनाउनुभयो । सुरुआतीका केही समयबाहेक पेसालाई पछि फर्केर हेर्न नपरेको उहाँ बताउनुहुन्छ । सुरुको आर्थिक अवस्था अत्यन्त दयनीय रहेका सापकोटाले कृषि पेसाबाटै आफ्नो आर्थिक अवस्था बदल्न सफल हुनुभएको छ । त्यो बाहेक महत्वपूर्ण उपलब्धि आज थुप्रै किसानलाई समस्या पर्दा कृषकसँगै समाधानमा लाग्दै आउनुभएको छ । तरकारी खेतीले आर्थिक अवस्थासँगै आफ्नो परिचयसमेत बदलिएको सापकोटाको भनाइ छ ।

उहाँको कमाइबाटै अहिले आफ्ना तीन छोरा–बुहारीलाई जापान पठाउनुभएको छ । कृषिलाई अझै व्यवस्थित गर्न भारतीय तरकारी आयातलाई निरुत्साहित गरे यहाँका कृषकले राम्रो आम्दानी गर्न सक्ने सापकाटाको भनाइ छ । त्यसका साथै कृषकलाई प्राविधिक ज्ञान दिनुपर्ने उहाँको माग छ । सापकोटाको कृषि कर्ममा उहाँको श्रीमती कौशिला सापकोटाले साथ दिँदै आउनुभएको छ । उनीहरूले कृषि कर्मबाटै वार्षिक रु तीन लाखसम्म बचत गर्दै आएका छन् ।

तरकारी खेतीबाट आर्थिक अवस्था बदलिएपछि समाजले हेर्ने दृष्टिकोण बदलिएको उहाँकी श्रीमती कौशिला बताउनुहुन्छ । श्रीमान्को कडा मेहनत र लगावले गर्दा आज परिवारमा ठूलो परिवर्तन आएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पहिले त खान लाउनको निकै समस्या थियो, बारीमा उत्पादन भएको धान, मकैले तीन महिना खान पनि पुग्दैनथ्यो, जीउनका लागि अर्काको घरमा पनि काम ग¥यौँ ।”

उहाँले तरकारी खेती थाल्नुभन्दा पहिले अरुको भारी बोक्ने, होटलमा काम गरेरे जीविका धानेको बताउनुभयो । अहिले सामान्य खाना, लाउन र परिवार चलाउन समस्या नभएको उहाँले सुनाउनुभयो । बूढाबूढी भए पनि दैनिक बारीमै सकेको काम गरेर उत्पादनसँग जोडिएको उहाँको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।