केरा बेचेर वार्षिक रू डेढ करोडभन्दा बढी आम्दानी

ध्रुवसागर शर्मा/गलेश्वर, १९ चैत (रासस) : पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको दृश्य हो यो ।

सदरमुकाम नजिकै पर्ने खबरा र बगरफाँटमा गाउँभरी विस्तार गरिएको केराखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्न सफल भएका छन् ।खबराका एक सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरीका किसानले व्यावसायिक रूपमा गरेको केरा खेतीबाट दुई गाउँका किसानले वार्षिक रू डेढ करोड आम्दानी गर्दै आएका छन् ।

खबराका किसानले केरा खेतीबाट वार्षिक रू एक करोड गाउँमा भित्र्याउने गरेका छन् भने बगरफाँटका किसानले वार्षिक रू ५० लाखको हाराहारीमा केरा बिक्रि गर्ने गरेका छन् । यी दुई गाउँ पछिल्लो समय केरा गाउँको रूपमा चिनिन थालेका छन् ।

व्यापारीहरु केरा बगानमै आएर खरिद गर्ने गरेको खबराका किसान शोभत शर्मा सापकोटाले बताउनुभयो । यहाँका किसानले १२ वर्षदेखि व्यावसायिक रूपमा केरा खेती गर्दै आएका छन् । “बजारमा ‘खबराको केरा’ को ब्राण्ड नै बनेको छ । मैलै १० वर्षदेखि केरा खेती गर्दै आएको छु । केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले गाउँका धेरैजसो किसान यसैमा संलग्न हुन थालेका छन्”, उहाँले भन्नुभयो ।

खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केरा खेतीले छपक्कै ढाकेको किसान चन्द्रबहादुर कार्कीले बताउनुभयो । यस क्षेत्रमा केरा खेतीको सुरुवात २४ वर्षअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गर्नुभएको स्थानीय बताउँछन् ।

थापा र कार्कीले सुरु गरेको केरा खेती १२ वर्षदेखि व्यवसायिक बन्दै गएको स्थानीयको भनाइ छ । अहिले गाउँनै ढाक्ने गरी खेती गरिएको स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताउनुभयो । अन्य खेतीभन्दा केरा खेतीबाट राम्रो आम्दानी हुने भएपछि खबरा र बगरफाँटका किसान आकर्षित भएका उहाँको भनाइ छ । खबराका प्रत्येक घरधुरीले व्यावसायिकरुपमा हजारी जातको केराको खेती गरेका छन् । यहाँका किसानले वार्षिक रू एक करोडभन्दा बढी आम्दानी गर्ने गरेका कार्कीले बताउनुभयो ।

स्थानीय शोभित सापकोटाले १० वर्षदेखि व्यावसायिक केरा खेती गरेर गाउँमा पक्की घर बनाउनुभएको छ । करिब १६ रोपनी जमिनमा लगाएको केराबाट वार्षिक रू १० लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । परम्परागत खाद्यबालीको विकल्पका रूपमा खेतबारीमा व्यावसायिक केरा खेती गर्न थालेपछि खबरावासीको आर्थिक अवस्थामा निकै सुधार आएको सापकोटाको भनाइ छ ।

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बजार नजिक र अन्य बालीको तुलनामा सजिलो भएकाले केरा खेतीतर्फ किसान आकर्षित भएका हुन् । बिरुवा रोपेको दुई वर्षमा पसाउन थाल्ने र पसाएको पाँच महिनामा बिक्रीका लागि तयार हुन्छ । उत्पादन भएको केरा नजिकैको बेनी बजारमा सहजै बिक्री हुन्छ ।

“धान, कोदो, मकै, गहुँभन्दा केरा खेतीबाट राम्रो आम्दानी गर्न सकिन्छ”, बबिता सापकोटाले भन्नुभयो, “पाँच रोपनीमा केरा खेती गरेका छौँ । वार्षिक चार देखि पाँच लाखसम्म आम्दानी हुन्छ ।”

उहाँले १० वर्षदेखि केरा खेती गर्दै आउनुभएको छ । छोराछोरी पढाउन र घरखर्च चलाउन कुनै समस्या नभएको उहाँको भनाइ छ । सापकोटाले भन्नुभयो, “केरा बिक्री गरेर आएको पैसाले छोराछोरीलाई काठमाडौंँ राखेर पढाउन पुगेको छ ।”

उहाँले उत्पादन भएको केरा घरबाटै बिक्री हुने बताउनुभयो । सापकोटाले भन्नुभयो, “केरा लिन बेनीदेखि व्यापारी घरमा आउँछन्, राम्रो कोसाको प्रतिदर्जन रू एक सय २० मा बिक्री हुन्छ ।”

खबराका हरि कुँबरले पनि १० रोपनी जमिनमा केरा खेती गर्नुभएको छ । केरा बिक्री गरेर वार्षिक रू छ लाख आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । “राम्रो भयो भने केराको एक घारीमा सात सय देखि आठ सयसम्म कोसा हुन्छन्”, उहाँले भन्नुभयो, “एक घारीको रू चार हजार दुईसयसम्ममा बिक्री गरेको छु ।”

बेनी नगरपालिका–२ बगरफाँटका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकैबालीको विकल्पमा यहाँका किसानले खेतका गह्रामा व्यावसायिक केरा खेती गरेर आयआर्जन गर्ने माध्यम बनाएका हुन् । अन्नबाली जस्तै धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढी हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको किसानले बताएका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैँचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको किसान खिमबहादुर कार्कीले बताउनुभयो ।

उहाँले खेतका गह्रामा पाँच सय केराका बिरुवा लगाउनुभएको छ । उहाँका अनुसार तीन सय केरा घरीले उत्पादन दिन थालेका छन् । किसान दुर्गाबहादुर थापाले पनि गुडुराको धान फल्ने चार रोपनी खेतमा केराका बिरुवा लगाउनुभएको छ । खेती गर्न झन्झटिलो हुने, कम उत्पादन हुने, खर्च बढी हुने र काम गर्ने मान्छे पनि नपाइने हुँदा केरा खेती थालिएको उहाँले बताउनुभयो ।

गत वर्षको जेठमा यहाँका किसानले करिब दुई हजार केराका बिरुवा लगाएका छन् । पाकेको केरा प्रतिदर्जन रू एक सयका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन हुने गरेको किसानको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।