व्यावसायिक कृषिमा जुटे भोजपुर कोटका किसान

भोजपुर, २० चैत (रासस) : भोजपुर कोटका किसान व्यावसायिक कृषिमा जुटेका छन् । व्यावसायिक कृषिमा लागेर उनीहरुले मनग्य आम्दानीसमेत गर्दै आएका छन् । पराम्परागतरुपमा खेती गरिरहेका उनीहरु टेम्केमैयुङ गाउँपालिका–६ वडा कार्यालयले अनुदानसँगै प्राविधिक तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् ।

वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै कृषिप्रति मोह बढेको स्थानीय किसान सिर्जना बास्तोलाले बताउनुभयो । वडा कार्यालयले दिने प्रोत्साहनमूलक कार्यक्रमसँगै प्राविधिक सहयोगले खेती विस्तारमा थप टेवा पुगेको उहाँको भनाइ छ ।

“स्थानीय तहको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न सहयोग पुगेको छ”, उहाँले भन्नुभयो, “तरकारीसँगै नगदेबाली उत्पादन गरेर राम्रो आम्दानी गरिरहेकी छु, उत्पादन भएको तरकारी स्थानीय हाट बजारसँगै भोजपुर बजार जाने गरेको छ ।”

वडा कार्यालयले माटो परीक्षण गरिदिएपछि खेती गर्न थप सहज भएको उहाँको भनाइ छ । आधुनिक प्रविधिअनुसार खेती गर्दा राम्रो उत्पादन हुने उहाँले बताउनुभयो । “खेती गर्छु भनेर मात्र पनि हुन्न रहेछ”, उहाँले भन्नुभयो, “कृषिसम्बन्धी ज्ञान भएमा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिने रहेछ, रोग किराको विषयमा आफूलाई जानकारी भयो भने धेरै सहज हुने रहेछ ।”

वडा कार्यालयले व्यावसायिकरुपमा खेतीमा जुटेका किसानको पहिचान गरेर उनीहरुको व्यावसायिक योजनाका आधारमा अनुदान सहयोग गर्दै आएको जनाएको छ । भौगोलिकरुपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । व्यावसायिक खेतीका लागि माटोको परीक्षण गरेर माटो सुहाउँदो बाली लगाउन प्रोत्साहन गरिने उहाँको भनाइ छ ।

“आर्थिकरुपमा किसानलाई सक्षम बनाउन कृषिमा जोड दिन आवश्यक छ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “हामीले यहाँ माटोअनुसारको बालीमा जोड दिएका छौँ, व्यावसायिकरुपमा खेतीमा लागेका किसानको पहिचान गरेर अनुदानको कार्यक्रम सञ्चालन गर्छौं, अहिले व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दो छ ।”

कृषकले उत्पादन गरेको कृषिउपजलाई बजारीकरणमा समेत सहयोग गर्ने लक्ष्य रहेको वडाध्यक्ष नेपालले जानकारी दिनुभयो । वडाको बजेटबाहेक अन्य सङ्घसंस्थासँग सहकार्य गरेर पनि कृषिका कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ । वडामा विनियोजन हुने बजेटले सबै क्षेत्रलाई समेट्नुपर्ने भएकाले अन्य निकायसँग सहकार्य गरेर किसानलाई प्रोत्साहन गर्दै आएको उहाँ बताउनुहुन्छ ।

“वडामा आउने बजेट थोरै हुन्छ”, उहाँले भन्नुभयो, “यसले सबैको भावना समेट्न गाह्रो हुन्छ, अन्य निकायसँग हारगुहार गररे पनि विभिन्न कार्यक्रम भित्र्याएर किसानलाई सहयोग गरिरहेका छौँ ।” तरकारी खेतीका लागि प्लाष्टिक पोखरी, प्लाष्टिक टनेल वितरणसँगै उन्नत जातको बीउ पाएपछि सहज भएको स्थानीय किसान महेन्द्र्र रसाइलीले बताउनुभयो ।

पानीको अभावमा खेती गर्न समस्या भए पनि वडाको सहयोगमा सामूहिक प्लाष्टिक पोखरी निर्माण गरेर सिँचाइको समस्या नरहेको उहाँको भनाइ छ । सुक्खाग्रस्त क्षेत्र भए पनि प्लाष्टिक टनेलमा पानी जमाएर सिँचाइ गर्न सहज भएको किसान रसाइलीको भनाइ छ ।

“हामीलाई तरकारीसँगै नगदेबालीका लागि सिँचाइको समस्या छैन”, किसान रसाइलीले भन्नुभयो, “विगतमा सिँचाइका लागि पानी नहुँदा समस्या थियो, वडाको बजेटमा सामूहिक प्लाष्टिक टनेल निर्माण गरेका छौँ, त्यहीँबाट आवश्यकरुपमा सिँचाइ गर्छौं ।”

यो क्षेत्र उत्पादनका लागि उपयुक्त भूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडासदस्य नवीन श्रेष्ठले बताउनुभयो । कृषि उत्पादनमा जोड दिन माटो परीक्षण गरेर भूगोलअनुसारको बाली लगाउन किसानलाई प्रोत्साहन गरिएको उहाँको भनाइ छ ।

“हामीले आफ्नो क्षेत्रको आवश्यकता पहिचान गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “वडाको आवश्यताका विषयमा छलफल गरेर बजेटको प्राथमिकीरण गर्दछौँ, यसले वडावासीको मन जित्न हामीलाई सजिलो भएको छ ।”
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।