तरकारी खेतीबाट मनग्य आम्दानी

कञ्चनपुर, २१ चैत (रासस) ः शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आउनुभएको छ । तरकारी खेतीबाट हुने आम्दानीले विष्टको परिवारको खर्च चल्ने गरेको छ । उहाँले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्नुहुन्छ । दश कठ्ठा बढी जग्गामा उहाँले तरकारी खेती गरेर वार्षिकरूपमा रु दुई लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।

“यस वर्षमात्रै दुई कठ्ठा जग्गामा आलुको उत्पादन १२ क्विन्टल भएको छ, जसबाट रु ४८ हजार आम्दानी भयो”, उहाँले भन्नुभयो, “गोलभेँडा रु ५० हजार बढीको बिक्री भइसकेको छ, बारीमा अझै बिक्री गरेको भन्दा बढी गोलभेँडा बिक्री हुन बाँकी छ, हरियो सागपात, खुर्सानी गरी रु ३० हजार बढीको बिक्री भइसकेको छ ।”

तरकारी खेती गर्दै जाँदा लगाउने आधुनिक तौरतरिका सिक्दै गएकाले उत्पादन प्रतिवर्ष बढ्दै गएको उहाँको भनाइ छ । किसान विष्टले आधुनिक तरिकाले तरकारी खेती गर्ने तालिम भने लिनुभएको छैन । “अन्य किसानले गरेको तरकारी खेती गर्ने तौरतरिका सिकेँ” उहाँले भन्नुभयो, “विशेषगरी भारतीय किसानले गरेको तरकारी खेती नियाल्न थालेँ, त्यसैअनुरुप खेती गर्दै जाँदा उत्पादन बढ्न थाल्यो ।”

किसान विष्टले पहिला भारतीय बजारबाट तरकारी खरिद गरेर ल्याएर साइकलमा राखेर बेच्ने गर्नुहुन्थ्यो । “साइकलमा तरकारी ल्याएर बेच्न निकै मेहनत पथ्र्याे, सीमा क्षेत्रमा सुरक्षाकर्मीको खप्की खानुपर्ने दैनिकी नै हुन्थ्यो”, उहाँले भन्नुभयो, “तरकारी ल्याएर बेच्नुभन्दा आफैँ उत्पादन गरेर बेच्ने निधो गरेँ, त्यसपछि तरकारी खेती गर्न थालेँ, पहिलो वर्ष सिक्नमै लाग्यो, त्यसपछिका वर्ष उत्पादन बढ्दै गयो, आम्दानी गतिलो हुँदै गयो ।”

परिवारको घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च तरकारी खेतीबाट हुने आम्दानीबाट धानिँदै आएको उहाँ बताउनुहुन्छ । उत्पादित तरकारी स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ । पहिला मौसमी तरकारीमात्रै उत्पादन गर्दा सोचेजस्तो आम्दानी हुने गरेको थिएन । मौसमीसँगै बेमौसमी तरकारी खेतीलाई अगाडि बढाएपछि आम्दानी सोचेभन्दा बढी नै हुने गरेको उहाँले सुनाउनुभयो ।

“तरकारी खेतीलाई विस्तार गर्न जग्गा भाडामा लिने योजना बनाएको छु”, उहाँले भन्नुभयो, “यसका लागि उपयुक्त जग्गाको खोजीमा छु ।” भारतीय तरकारीको निर्भरता कम गर्न आन्तरिक उत्पादनलाई बढाउनुपर्ने उहाँको सुझाव छ । यसका लागि किसानलाई आधुनिक तरिकाले खेती गर्नका लागि तालिमसँगै आधुनिक यन्त्र, उपकरण, बीउबिजन, विषादी, मलखादका लागि अनुदानको व्यवस्था गरिनुपर्ने उहाँले उल्लेख गर्नुभयो । शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्ट किसानलाई व्यावसायिक बनाइ रोजगारीका अवसर सिर्जना गर्नका लागि प्रतिवर्ष कृषिमा बजेट वृद्धि गर्दै लैजान थालिएको बताउनुहुन्छ ।

“गत वर्ष कृषिमा रु १० लाख बजेट थियो”, उहाँले भन्नुभयो, “चालु आवमा बढाएर रु ५० लाख पु¥याइएको छ, यसले कृषिको उत्पादकत्व बढाउनका लागि सहयोग पु¥याउँछ ।” उहाँका अनुसार नगरपालिकाका १२ वटै वडाको कृषि प्रोफाइल तयार गर्ने कार्य अगाडि बढाइएको छ । उहाँका अनुसार घरधुरी सर्वेक्षण कार्यसँगै कृषिसम्बन्धी तथ्याङ्कक सङ्कलन, माटो परीक्षणका लागि आवश्यक जनशक्तिलाई किसानको घरदैलोमा खटाउने तयारी अन्तिम चरणमा पुगेको छ । माटो सुहाउँदो बाली लगाउनका लागि अध्ययनको काम भइरहेको उहाँको भनाइ छ ।

नगरप्रमुख रणबहादुर महरा प्रत्येक वडाको कृषिसम्बन्धी सम्भाव्यता अध्ययन गरी ‘प्याकेज’का रूपमा कार्यक्रम सञ्चालन गरिने बताउनुहुन्छ । किसानले उत्पादन गरेको तरकारी भण्डारण गर्न सहजताका लागि शीतभण्डार निर्माण गर्ने कार्य अगाडि बढेको उहाँले जानकारी दिनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।