ताप्लेजुङको फुङलिङमा टपरी गाँस्ने प्रतिस्पर्धीसित विगतका सम्झना

सन्तोष पुर्कुटी/ताप्लेजुङ, २४ चैत (रासस) : ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी औद्योगिक कृषि तथा पर्यटन मेलामा अन्य प्रतिस्पर्धीसँगै आउनुभयो । धार्मिकरुपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक मानिने सालको पातबाट तयार हुने टपरी हिजोआज प्रयोग हुने क्रम घट्दो छ । पछिल्लो पुस्ता यसको महत्वबारे कमै जानकार छ । बुन्ने सीप छैन । यस्तो अवस्थामा टपरी लोप हुने अवस्थामा छ । यसको ख्याल गर्दै ताप्लेजुङमा टपरी बुन्ने प्रतियोगिता आयोजना गरिएको हो ।

मेलामा बिहीबार भएको टपरी प्रतियोगितामा दुई पुरुषसहित ३८ जना सहभागी भए । घरैबाट बाँसको सिन्का र सालका पात बोकेर आएका प्रतिस्पर्धी एउटै ठाउँमा बसेर टपरी गाँस्ने प्रतिस्पर्धामा उत्रिए । प्रतिस्पर्धामा सहभागीका मनमस्तिष्क पुराना यादले भरिए । प्रतियोगितामा विष्णुमाया गिरी पहिलो तथा कुमारी मगर र देवीमाया ओझा क्रमशः दोस्रो र तेस्रो हुनुभयो ।

शारीरिक प्रतिक्रिया र अनुहारको भाव हेर्दा लाग्थ्यो उनीहरु प्रतिस्पर्धामा नभई गाउँघरमा हुने विवाह, व्रतबन्धलगायत कार्यमा भेला भएर दुनाटपरी गाँसिरहेका छन् । उनीहरुले प्रतिस्पर्धाको कुरा बिर्सिएर विगतमा गाउँघरमा भएका विवाह, व्रतबन्धजस्ता कार्यमा भेला भएर दुनाटपरी गाँसेको सम्झिदै रमाइलो अनुभूति गरे ।

“पहिलाजस्तो दुनाटपरी गाँस्ने र प्रयोग गर्ने चलन हराउँदै गयो, विभिन्न कार्य हुँदा गाउँघरका महिला दिदीबहिनी भेला भएर दुनाटपरी गाँस्ने चलन थियो, एकअर्कालाई सघाइन्थ्यो, आजकल त्यस्तो छैन, धेरै पछि यति धेरै भेला भएर टपरी गाँस्दा पुरानो याद आयो, सिक्ने सिकाउने अवसर मिल्यो, रमाइलो भयो”, प्रतिस्पर्धी भीमा थापाले भन्नुभयो । जन्मदेखि मृत्युसम्मका विभिन्न कर्मकाण्डमा चाहिने टपरी अहिलेको पुस्ताले बिर्सिएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । टपरी बुन्ने प्रतियोगिताले सीप आदानप्रदान भएको र यसबारे नयाँ पुस्तालाई जानकारी गराउन मद्दत पुगेको उहाँको भनाइ छ ।

हाङ्देवाकी लक्षिमा देवीले प्रतियोगितामा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँलाई पनि पुरानै याद आयो । उमेरमा आफ्नै घरमा र थुप्रै छरछिमेक, आफन्तकहाँ विवाह, व्रतबन्ध आदि कार्यमा भेला भएर दुनाटपरी गाँसेको झलझली सम्झिएको उहाँले बताउनुभयो ।

“धेरै समय पछि यतिका धेरै जना भेला भयौँ, धेरै रमाइलो भयो”, उहाँले भन्नुभयो । प्रतियोगितामा दुई पुरुषसमेत सहभागी थिए । सहभागीमध्ये फुङलिङका ६८ वर्षीय लोचन दाहालले टपरी बुन्ने, प्रयोग गर्ने चलन हराउँदै गएकाले सीप विकासतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । विजेता बन्नेभन्दा पनि राम्रो कामको सम्मान गरौँ भनेर भाग लिएको उहाँको भनाइ थियो ।

“दुनाटपरी गाँस्ने, प्रयोग गर्ने चलन हरायो, मौलिक वस्तुको संरक्षण र परम्परागत सीपको विकास तथा विस्तार गर्नुपर्छ, अहिलेका नयाँ पुस्तालाई पनि टपरी बुन्ने सीप सिकाउने कार्यक्रम सरोकारवाला निकायले ल्याउनुपर्छ”, दाहालले भन्नुभयो ।

प्रतिस्पर्धामा भाग लिएर सीप आदानप्रदान गर्ने, नयाँ पुस्तालाई सीप सिकाउनुपर्छ, टपरी गाँस्ने, प्रयोग गर्नुपर्छ भन्नेजस्ता कुरा गरिरहेका वृद्धवृद्धामाझ युवा पुस्ताका प्रतिस्पर्धी भने कोही पनि थिएनन् । “युवा पुस्तामा टपरी बुन्ने सीप नभएर वा लजाएर पनि सहभागी नभएका होलान, टपरीको चलन नै हराएको छ”, प्रतियोगितास्थलमा भेटिनुभएका भीम गुरुङले भन्नुभयो । यस्तो प्रतियोगिताले पुराना सीप र मौलिक वस्तुको पुनःउत्थानमा सहयोग मिल्ने उहाँको भनाइ छ । मेसिन र औजारबाटभन्दा परम्परागत विधिबाटै टपरी बनाउँदा सर्वसाधारणलाई रोजगारी मिल्ने साथै स्वास्थ्यका दृष्टिले समेत फाइदा पुग्ने गुरुङ बताउनुहुन्छ ।

टपरी सालको पातलाई बाँसको सिन्काले गाँसेर थाली आकारमा बनाइएको हुन्छ । सालको पातलाई शुद्ध मानिने भएकाले यसैबाट बनेका टपरी जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग गर्ने परम्परा छ । तर पछिल्लो समय बजारमा मेसिन तथा औजारबाट बनेका टपरी पाउन थालेपछि बाँसको सिन्काले गाँसेर बनाउने चलन हराउँदै गएको छ । यसको प्रयोग गर्ने क्रम पनि घट्दो छ ।

सालको पातका टपरीलाई शुद्ध भाँडोका रुपमा लिने गरिएको छ । योसँगै केही वर्षअघिसम्म गाउँघरमा हुने विभिन्न कार्यमा खाना खाने प्रयोजनमा समेत टपरी गाँस्ने गरिन्थ्यो । क्रमशः स्टिल र प्लाष्टिकका भाँडा पाउन थालेपछि विवाह, व्रतबन्धलगायत कार्यमा टपरीको प्रयोग हुन छाडेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।