चिप्स उत्पादन गर्दै रामपुरका महिला

सुशीला रेग्मी/रामपुर (पाल्पा), २९ चैत (रासस) : घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँभmबिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ ।

रामपुर नगरपालिकाका महिलाहरु हिजोआज आयमूलक क्षेत्रमा सक्रिय हुँदै गएका छन् । यहाँका महिलाहरु आलु चिप्स बनाउने र बजारमा बिक्री गर्न व्यस्त बनेका छन् । रामपुर नगरपालिका–६ मा विजयपुर चिप्स उत्पादन लघुउद्यम व्यवसाय समूहमार्फत आलु चिप्स उत्पादन भइरहेको छ ।

बिमलादेवी ढकाल, गीता अधिकारी, बिमला गैरे, देवी अधिकारी, निर्मला पोखरेल, सरिता पोखरेलले समूहमा मिलेर चिप्स तयार पारिरहनुभएको छ । अहिले नयाँ आलु उत्पादन लिएपछि आलु चिप्स बनाउन भ्याइनभ्याइ रहेको समूहका अध्यक्ष बिमलादेवी ढकाल बताउनुहुन्छ । “सीप जानेपछि महिलाकै सक्रियतामा व्यावसायिक रुपमा उद्योग थालिएको छ, यो क्षेत्रमा नयाँ व्यवसाय भएकाले सबैले हौसला दिनुभएको छ, चिप्सले बजार पाएको छ”, उहाँले भन्नुभयो ।

व्यावसायिक चिप्स उत्पादन गर्ने उद्योग रहेकाले यहाँ चिप्स उत्पादन प्रविधि अवलोकन गर्न तथा प्रविधि सिक्न, खरिद गर्न जाने गर्दछन् । यसले महिलाहरुमा व्यवसायमा उत्साह थपिएको छ । समूहले गत भदौदेखि चिप्स बनाउन थालेको हो । अहिलेसम्म छ क्विन्टलभन्दा बढी चिप्स तयार भएको छ । समूहमा महिलाहरु मिलेर काम गरेपछि दिन बितेको पत्तो नभएको बताउनुहुन्छ देवी अधिकारी । उहाँ भन्नुहुन्छ, “बिहान–साँझ घरकै कामले व्यस्त भइन्छ, दिउँसो खाली समय चिप्स बनाउन थालेपछि धेरै सदुपयोग भएको छ, हामीजस्ता गृहिणी महिलाका लागि यो व्यवसाय राम्रो रहेछ, प्रशस्त जग्गा छन्, आलु फलाएर चिप्स बनाएर बिक्री गरियो भने अरूको निर्भर रहनु परेन ।”

उत्पादन स्थानीय बजारमा अहिले खपत भइरहेको छ । स्थानीयमा बजार राम्रो लिएको हुँदा धेरै सहज भएको छ । उत्पादन बढाएर रामपुर बजार मात्र नभई अन्यत्र बजारमा पठाउने तयारी भइरहेको निर्मला पोखरेलले बताउनुभयो । अन्य बजारमा उत्पादन भएको चिप्सको तुलनामा यहाँको चिप्स स्वास्थ्यका लागि हित गर्ने, दैनिकजसो उत्पादन हुने हुँदा उपभोक्ताले ताजा चिप्स उपभोग गर्न पाइरहेको गीता अधिकारी बताउनुहुन्छ ।

दुई वर्षअघि यहाँका महिलाले रामपुर नगरपालिकामार्फत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम पाएपछि व्यावसायिक उत्पादन सुरु गरेका हुन् । ग्राहकको चाहनालाई दृष्टिगत गर्दै प्रति प्याकेट (साइजअनुसार) रु २०, ३०, ४० र ५० मा धमाधम बिक्री भइरहेको छ । व्यावसायिक उत्पादनका लागि चिप्सबाट धेरै फाइदा लिन सकिने विमला गैरेले बताउनुभयो । अहिलेलाई रामपुरका विभिन्न बजारका पसलका व्यापारीसँग समन्वय गरेर बिक्री भइरहेको छ । रामपुर क्षेत्रमा हुने विभिन्न कार्यक्रममा साथमा लिएर महिलाहरुले चिप्स बिक्री गर्छन् । चिप्स बनाउन नगरपालिकाले आलुको बोक्रा फाल्ने, काट्ने, सुकाउने, जमाउने मेसिनलगायत विभिन्न सामग्री सहयोग गरेको छ । नयाँ व्यवसाय भएकाले धेरैबाट प्राप्त साथ, सहयोग र हौसलाले महिलाहरु उत्साहित छन् ।

हावा भर्ने मेसिन, मिक्चर, रङ्गीन प्लास्टिक अति आवश्यक रहेको हुँदा स्थानीय सरकार या विभिन्न निकायसँग सहयोगको अपेक्षा महिला समूहले लिएको छ । महिलाले घरमै आफैँले उत्पादन गरेको आलुबाट चिप्स बनाइरहेका छन् । घरकै उत्पादन भएकाले पनि लगानी धेरै गर्नु परेको छैन । अहिलेसम्मको आम्दानी समूहले केही व्यवसायमा लगानी गरेको छ भने केही बचतसमेत गरेको जनाएको छ ।

कृषिजन्य उत्पादनलाई वडाले प्राथमिकता दिँदै आलु पकेट क्षेत्रका रुपमा रामपुर नगरपालिका–६ लाई आलु पकेट क्षेत्रका रुपमा विकास गर्दै गएपछि महिलाले व्यावसायिक चिप्स उत्पादनमा आकर्षित भएको वडाध्यक्ष दिवाकर देवकोटा बताउनुहुन्छ ।

समूहभित्रका महिलाबाट उत्पादित ३० क्विन्टल आलुको चिप्स तयार हुन बाँकी नै छ । रामपुर क्षेत्रमा आलुको उत्पादन राम्रो हुने भएकाले पनि आलु खरिदमा समस्या छैन । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत नगरपालिकाभित्रका १० वटै वडामा फरक फरक खालको सीपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिमपश्चात् महिलाले व्यावसायिक रुपमा काम सुरु गरिरहनुभएको र अब पुनर्ताजगी तालिम दिने तथा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उहाँ बताउनुहुन्छ ।

रामपुरमा उत्पादन भएका सामग्री बिक्री वितरणको व्यवस्थापनका लागि बजार नजिकै एउटा कोसेलीघर तयार पारेर एकै ठाउँबाट बिक्री वितरण गर्ने व्यवस्था गर्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । “तालिम लिइसकेपछि महिलाले उत्साहजनक रुपमा काम गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “महिलालाई आयआर्जनको क्षेत्रमा हौसला बढाउने र उत्पादित सामग्रीको बजारीकरणको कार्य नगर सरकारले सहयोग गर्नेछ, यहाँ उत्पादन भएका वस्तु पोखरामा खुलेको पाल्पा हाउसमा लगेर बिक्रीका लागि प्रक्रिया भइरहेको छ ।” रामपुरको उत्पादनले बजार थेग्न सकिन्छ । स्थानीय उत्पादनलाई रामपुर नगरपालिकाले बजारीकरणको प्रबन्ध गरिदिने भएको छ ।—

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।