नयाँ बर्षको अबसरमा पाख्रीबासमा भलिवल प्रतियोगिता
धनकुटा, शर्मिला राई । नव वर्ष २०८० को अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका वडा ९ मजुवामा छेङ्खामा देवी मिनीमेला तथा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन गरिएको छ ।
छेङ्खामा राजा छेङ्खामा रानी मन्दिरको प्रचार-प्रसार तथा नयाँवर्ष स्वागतको उद्देश्यले आयोजित मेलामा ५ सय बढी स्थानिय भक्तजनहरुले मन्दिरको दर्शन तथा पूजाआराधना गरेका छन् । मेलाकै अवसरमा सञ्चालित भलिवल प्रतियोगिताको जित भने रामप्रसाद राई गाउँपालिका भोजपुरले हात पारेको छ ।
प्रतियोगिता अन्र्तगत आज निशान भलिवल युवाक्लव धनकुटासँग भिडेको रामप्रसाद राई गाउँपालिकाले २५-२३,१८-२५,२५-२२ र २५-२२ को सेटमा जित निकालेको मेला आयोजक छेङ्खामा देवी मन्दिर व्यवस्थापन समितीले जनाएको छ । जित सँगै रामप्रसाद राई गाउँपालिकाले नगद ३० हजार पुरस्कार प्राप्त गरेको कार्यक्रम सञ्चालक केवी थापाले जानकारी दिनुभयो ।
दोश्रो भएको धनकुटा निशान भलिवल युवा क्लव नगद १० हजार पुरस्कार पाएको छ । विजयी टिमहरुलाई पाख्रीवास नगरपालिका ९ का वडा सदस्य मदनकुमार आले र वडा नं ३ का समाजसेवी बमवहादुर राईले पुरस्कार वितरण गरेका थिए । यो मन्दिरमा वर्षमा १ पटक बैशाख १ गते मेला सञ्चालन तथा पूजाआराधना गरिदै आएको छ ।


