युवापुस्ताले चासो नदिँदा आरन व्यवसाय सङ्कटमा

डम्मर बुढामगर/ढोरपाटन, २३ वैशाख (रासस) : निसीखोला गाउँपालिका–४ झिवाखोला बजार छेउमा पुरानो जस्तापाताले बारेको एउटा सानो छाप्रो देखिन्छ । त्यही छाप्रोमा दैनिकजसो भेटिनुहुन्छ ६४ वर्षीय हिरामान सुनार । अनुहारभरि कालोमोसो लत्पतिएको । एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहेको भेटिनुहुने हिरामान फलामबाट बन्ने सामान बनाउनुहुन्छ । आरनमै दिन बिताउने सुनारले हँसिया, बञ्चरो, खुकुरीलगायतका सामान बनाउनुहुन्छ ।

आफ्नो बुवाबाट फलामका सामग्री बनाउन सिक्नुभएका उहाँले आरन व्यवसाय सञ्चालन गरेको ४६ वर्ष भयो । पुख्र्यौली आरन व्यवसायबाटै उहाँको परिवार अहिलेसम्म जसोतासो चल्दै आएको छ । उहाँले लामो समय बालीघरेरूपमा कामसमेत गर्नुभयो । बालीघरे बनेर काम गर्दा निकै दुःख खेप्नुपरेको नमीठो अनुभव पनि हिरामानसँग छ । खासगरी विश्वकर्मा जातिमा प्रचलित आरन व्यवसाय पछिल्लो समय सङ्कटमा पर्न थालेको छ । पछिल्लो समय फलामका सामग्री बनाउने आरन व्यवसाय गाउँघरबाटै हराउँदै गएको छ ।

परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनतले उचित सम्मान र मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको आरन व्यवसायी बताउँछन् । पुख्र्यौली पेसालाई आधुनिक ढङ्गले व्यावसायिकरूपमा अघि बढाउन सके स्थानीय स्रोत, साधनको प्रयोगबाटै गाउँघरमै रोजगारी सिर्जना हुनसक्ने र आयस्तर पनि बढ्नसक्ने थियो । अहिलेका युवाले यो पेसाप्रति चासो नदिँदा हराउँदै गएको हिरामान बताउनुहुन्छ ।

पहिले–पहिले गाउँसँगै बजारमा पनि आरन व्यवसाय व्यापक मात्रामा सञ्चालन हुने गरेकामा अहिले निकै कम भएको उहाँको भनाइ छ । उहाँले आफूले दुई दशक बढी बालीघरेका रूपमा कामसमेत गरेको सुनाउनुभयो । बालीघरे भएर काम गर्दा आफूले धेरै समस्या भोग्नुपरेको हिरामानले बताउनुभयो । अहिले आरन व्यवसायका लागि चाहिने गोलको पनि अभाव हुँदै गएको उहाँको भनाइ छ ।

हिरामान भन्नुहुन्छ, “यो पेसा हाम्रो पुर्खादेखि गरिँदै आएको हो, आरन व्यवसाय गर्ने कला अरु जातिमा हुँदैन, मैले सानै उमेरदेखि बाउ र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्दैनन्, पुख्र्यौली पेसा सिकेर खेर जाँदैन, खटिन सके यसैबाट पनि कमाउन सकिन्छ, म यसै व्यवसायमा छु, धेरै सम्पत्ति कमाउन सकिएन तर मलाई यही पेसाले जीवन चलाउन सघाएको छ, खुसी छु, तर यो पेसा हराउँदै जाँदा दुःख लागेको छ ।”

बजारमा थुप्रै ‘रेडिमेड’ फलामका सामग्री पाइन थालेपछि गाउँघरकै आरनमा बनाइएका फलामका सामग्रीको प्रयोग घट्न थालेको छ । अहिले गाउँघरमा बालीघरे प्रथा नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “बालीघरे भएर काम गर्दा साहुले जतिबेला काम लगाउँथे उतिबेला गर्नुपथ्र्यो, एक वर्षभरि काम गरेर एक पाथी धान, एक पाथी गहुँ र एक डोको मकै दिइन्थ्यो, वर्ष दिन काम लगाएर बाली दिने बेला निकै कचकच गर्ने र पूरा बाली नदिँदा म निकै मर्कामा परेको थिएँ, अहिले त्यसरी काम गर्न छाडेँ ।”

उहाँका छोरा देवीरामले आफू सानै उमेरदेखि विदेश जान थालेको हुँदा आरन व्यवसायतिर ध्यान नगएको बताउनुभयो । आरन व्यवसाय झन्झटिलो र थोरै कमाइ हुने हुँदा आफूले यो पेसा नअँगालेको उहाँको भनाइ छ । यो काम गर्न हातमा सीप र धेरै समय लगाउनुपर्ने देवीराम बताउनुहुन्छ । आफ्ना पुस्ताका युवाले यो काम गर्नतर्फ ध्यान नदिएको उहाँले बताउनुभयो ।

“बाउबाजेले यो पेसालाई निकै इमान्दार भएर सम्हाल्नुभयो, हामीहरू लागेनौँ, आरन व्यवसायमा धेरै पैसा छैन, विदेश गयो भने यहाँ कमाउने भन्दा धेरै कमाउन सकिन्छ”, उहाँले भन्नुभयो, “आरन व्यवसाय अलिकति झन्झटिलो पनि छ, एउटै सामान बनाउन धेरै समय लाग्छ, पैसा कम हुन्छ, सम्मान पनि छैन यो पेसामा, हामी त सानैदेखि विदेश लाग्यौँ, यो पेसातिर ध्यान गएन ।”

स्थानीय टीकाराम विकले एक दशक अगाडिसम्म एउटै गाउँमा तीन–चारवटा आरन व्यवसाय हुने गरेकामा अहिले एउटा पनि भेट्टाउन नसकिने बताउनुभयो । उहाँले गाउँमा चाहिने कोदालो, फाली, हँसिया, दराँती, बञ्चरोलगायत फलामका भाँडा बनाउन बजारमै झर्नुपर्ने अवस्था आएको सुनाउनुभयो । अहिले पहिलेको जस्तो झन्झटिलो नभएको उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, “पहिले–पहिले गाउँघरमै आरन हुन्थे, केही सामान बनाउन परे नजिकै बनाउन सकिन्थ्यो, अहिले त खेतबारी जोत्नुप¥यो फाली ल्याउन बजारै पुग्नुपर्छ, बजारमा आएका सामान पनि यहाँ बनेका होइनन्, कहाँबाट बनेर आएका हुन्, ती सामान सबै नक्कली हुँदा रै’छन्, धेरै टिकाउनै हुँदैनन्, पहिले गाउँमा बनाएका भाँडा वर्षौँसम्म टिकाउ हुन्थे ।”
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।