समृद्धिको यात्रामा चेपाङ युवा

रिपेश दाहाल/बागमती, २५ वैशाख (रासस) : परम्परागत ज्ञानलाई आधुनिकीकरण गरी मकवानपुरका चेपाङ युवाले आफ्नो सीपलाई बजारीकरण गर्न सुरु गरेका छन् । गिठ्ठाको चिप्स, सिस्नोको धुलो तथा भाङको पाटबाट बनेका झोला तथा महको उत्पादन र बजारीकरणमा चेपाङ युवाले अग्रसरता देखाएका छन् ।

जिल्लाको विकट क्षेत्र मानिने राक्सिराङको सिलिङ्गेका ३९ वर्षीय युवा दिनेश चेपाङले मौरीपालन र मह बिक्री गरेर राम्रो आम्दानी गर्न सफल हुनुभएको छ । महेन्द्र राजमार्ग नजिक मनहरिको लोथरमा मौरीपालन केन्द्र सञ्चालन गर्नुभएका उहाँले वार्षिक एक हजार केजीसम्म मह उत्पादन मात्रै गर्नुहुन्न वार्षिक ४५ हजार केजीभन्दा बढी मह सङ्कलन गरेर काठमाडौँ, हेटौँडा, नारायणघाट, पोखरा तथा देशैभरका साना किसान सहकारीलाई वितरण गर्ने गर्नुहुन्छ ।

उहाँले गाउँका गरिब किसानलाई मौरीपालन गर्न प्रोत्साहन गर्नुभएको छ । गाउँलेले उत्पादन गरेका मह किनिदिएर बजारीकरण गरिदिने दिनेशका कारण अन्य चेपाङ परिवारको आयस्तरसमेत बढेको छ । “सुरुआतमा मेरो आर्थिक अवस्था पनि कमजोर थियो, मौरीपालन गरेर मह उत्पादन र बिक्रीवितरण गरेर आम्दानी गर्न थालेपछि विस्तारै स्वावलम्बी बन्न सकेँ । मौरीपालन नै मेरो जीविका परिवर्तनको कारण हो”, उहाँले भन्नुभयोे ।

अहिले उहाँसँग आफ्नै गाडी छ । राक्सिराङका विकट गाउँबाट मह सङ्कलन गर्नुहुन्छ । सङ्कलन गरेको कच्चा मह लोथरमा रहेको मह प्रशोधन केन्द्रमा प्रशोधन गरिन्छ । उहाँले आफ्नै ब्राण्डमा बेच्नुहुन्छ । वर्षमा झण्डै ५० हजार किलो मह सङ्कलन र बिक्रीवितरण गर्ने गरेको उहाँको भनाइ छ ।

राक्सिराङ–७ का वडाध्यक्षसमेत रहनुभएका रामबहादुर प्रजा पनि चिउरीको मह उत्पादक हुनुहुन्छ । उहाँले एकसय २० घारसम्म मौरीपालन गरेर १६ सय किलोसम्म मह उत्पादन गर्ने गरेकामा अहिले भने जनप्रतिनिधि भएपछि उत्पादन घटाउन बाध्य हुनुपरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला त मह उत्पादन गरेर प्रसस्त आम्दानी गरेको थिएँ, जनप्रतिनिधि भएपछि समय दिन नपाएर अहिले उत्पादन घटेको छ । तै पनि यो पेशा छोड्न सकेको छैन ।” महबाहेक स्थानीयरुपमा उत्पादन हुने कोदो फापर, मास, सिमीजस्ता कृषिउपज पनि उत्पादन र सङ्कलन गरेर बेच्ने गरेको प्रजाले बताउनुभयो ।

त्यस्तै राक्सिराङ–८ का २६ वर्षीय युवा आर्यन प्रजा चिउरीको घिउ र पिना बेचेर चेपाङ सामुदायको स्तरवृद्धिमा लाग्नुभएको छ । अहिले आर्यन राक्सिराङका गाउँगाउँमा चिउरीका दाना सङ्कलन गर्न पुगिरहेका छन् । चेपाङ चिउरी युथ क्लबका अध्यक्षसमेत रहनुभएका आर्यनले आफूसँग भएको चिउरीको घ्यू र पिना चैनपुरमा लाग्ने हाटबजारमा लगेर बिक्री गर्नुहुन्छ ।

राक्सिराङको केन्द्र चैनपुरमा महिनाको दुई दिन १ र १५ गते स्थानीय उत्पादनको बिक्री वितरण गर्न हाटबजार लाग्ने गर्दछ । हाटबजारमा आफूहरुले चिउरीको दाना प्रतिपाथी रु एक सय, घ्यू प्रतिकिलो रु तीन सयमा र पिना प्रतिकिलो रु ५० मा बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । चिउरीको मह, चिउरीको फल मात्रै होइन, खेर जाने दानाकोसमेत मूल्य आउने भएपछि स्थानीय चेपाङ समुदाय चिउरी संरक्षणमासमेत जुटेको उहाँको भनाइ छ ।

चिउरी फूलको रसबाट माहुरीले बनाएकोे मह चिउरीको फल जतिकै स्वादिलो हुने र स्वास्थ्यका लागि अति राम्रो हुने विश्वास गरिन्छ । चिउरीको फलको बियाँबाट घिउ निकाल्ने र त्यसलाई भुटुनका रुपमा प्रयोग गरिने प्रचलन अहिले पनि रहेको छ । माछा मार्न तथा अन्य काममा पनि चिउरीको पिना प्रयोग हुने गर्दछ ।

चिउरी, चमेरो र चेपाङ समुदायबीच विशिष्ठ सम्बन्ध रहेको छ । चेपाङ समुदायमा चिउरीको रुख दाइजोका रुपमा चेलीबेटीलाई दिने चलन यद्यपि रहेको पाइन्छ । फूलको रस चुस्न आउने चमेरोलाई चेपाङ समुदायमा मिठो परिकारका रुपमा लिइन्छ । सिलिङ्गे सामुदायिक वनका अध्यक्ष प्रजाका अनुसार पुस, माघमा चिउरीको फूलको रस चुस्न र असार साउनमा पाकेको फल खान आउने चमेरोलाई सिकार गर्ने चलन अहिले पनि छ ।

चेपाङ, चिउरी र चमेरो मात्रै हैन अहिले मह पनि जोडिएर चेपाङ समुदायको जनजीविकासँग जोडिएको छ । जीविकोपार्जनका लागि प्रत्यक्षरुपमा वनमा नै निर्भर रहेको यो समुदायको परम्परागत सीपका माध्यमबाट आर्थिक र सामाजिकस्तरमा सुधार ल्याउन सरकारी तथा गैरसरकारी संस्थाबाट पनि विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् ।

संविधानसभा सदस्य गोविन्दराम चेपाङ भन्नुहुन्छ, “उहिले उहिले त कोलमा पेलिएको चिउरीको घ्यु टिनका टिन बजार जान्थ्यो अचेल त्यो बन्द छ । चेपाङका घरमा बजारिया तेलको प्रयोग बढ्न थालेको छ ।” चेपाङ समुदायको जनजीविका र संस्कृतिसँग परमपरागतरुपमा जोडिएको चिउरी संरक्षण र उपयोगिताको वैज्ञानिक तौरतरिका अपनाएर लागू गर्नसके चेपाङ जातिको उत्थान सँगसँगै देशकै आर्थिक स्थितिलाई टेवा पु¥याउन सकिने उहाँको भनाइ छ ।

चेपाङ समुदायले कृषि तथा पशुपालन गर्नुका साथै मह उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेको सिलिङ्गे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष आइतसिंह प्रजा बताउनुहुन्छ । जनसङ्ख्या वृद्धिसँगै चिउरीको फँडानी बढ्न थालेपछि चिउरीसँग जीवन जोडिएका चेपाङ समुदायको पहिचान सङ्कटमा पर्न नदिन सामुदायिक वन उपभोक्ता समूहमार्फत वनजङ्गलसँगै चिउरी संरक्षण सुरु गरिएको उहाँको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।