धार्मिक आस्थाको केन्द्र ‘गह्रौँसुर’

तोलाकान्त बगाले/वालिङ, २८ वैशाख (रासस) : कुनैबेला प्यास मेटाउन बोत्तलमा पानी बोकेर जानुपथ्र्यो ‘गह्रौँसुर’ । वनको उकालो बाटो प्यास मेटाउने पानी र पूजाआजापछि खानुपर्ने नास्ता बोकेर गह्रौँसुर जानुपर्ने बाध्यता थियो । गह्रौँसुरमा भगवती मन्दिर, कालिका मन्दिरको दर्शनका साथै मनमोहक दृश्यावलोकनका लागि दर्शनार्थी आउने गर्छन् । विशेषगरी बडादसैँ र चैते दसँैमा यहाँ दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । यस मन्दिरमा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका कारण यहाँ दर्शनार्थीको भीड हुने गर्दछ ।

नेपालको एकीकरणको जग राणा भूपालसिंहद्वारा रिडीघाटबाट लसर्घामा आई बेगमाता बेगेश्वरी कूल देवीको स्थापना गरिएको पाइन्छ । यी देवीलाई आलमदेवी भनिन्छ । सबैभन्दा पहिलो टाकुरे राज्यमध्येको खिलुङकोट थियो । इष्टदेवीका रुपमा खिलुङ कालिका स्थापना गरिएको थियो । भूपालसिंहका दुई छोरामध्ये जेठा छोरा जयन्तसिंहको भागमा भिरकोट, गह्रौँकोट र ढोर गरी तीन वटा राज्य थिए । कान्छा अजयसिंहको भागमा नुवाकोट, सतौँकोट र कास्की कोट पर्दथ्यो ।

जेठा जयन्तसिंह खाँणका पनि दुई छोरामध्ये जेठा सूर्य खाँणको अधिनमा भिरकोट राज्य स्थापना गरी कान्छा दशरथ खाँणको भागमा गह्रौँकोट र ढोर राज्य थियो । एघारौँ पुस्तासम्म गह्रौँकोटमै मुकाम र दरबार खडा गरी राज्य गरेका थिए । कूल देवीका रुपमा आलमदेवी र इष्टदेवीकारुपमा गह्रौँकालिका देवी स्थापना भएको बताउनुहुन्छ इतिहासका जानकार दिलीपप्रताप खाँण ।

उहाँका अनुसार राजा दशरथ खाँणले १५५२ मा गह्रौँकालिकाको स्थापना गरेका हुन् । अन्तिम स्वतन्त्र राजा श्रीभक्त खाँणद्वारा गह्रौँसुरको दरबार त्याग गरी हालको घ्याङलिङ भन्ने स्थानमा दरबार बनाइ बसाइँ सरेको पाइन्छ । राजा दशरथ खाँणले सुर्कौदी, तल्लो बौवा फाँट, छेउडाँडा बारीसाथै चापाकोटतर्फ एक हजार दुई सय मुरी माटो गह्रौँकालिका देवीको नाममा व्यवस्था गरेका थिए ।

ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वको स्थान गह्रौँसुरमा १५५२ मा गह्रौँकालिका देवीको प्राणप्रतिष्ठा गरिएको थियो । वैद्धिक विधि, तान्त्रिक विधि र प्राकृत विधिद्वारा देवीको मन्दिरमा पूजाअर्चना गर्ने चलन निरन्तर चल्दै आएको खाँणको भनाइ छ । सुरुमा तान्त्रिक विधिद्वारा पूजा गर्ने भट्ट थिए । वैद्धिक विधिअनुसार पूजा गर्ने पुजारी सुवेदी थिए । प्राकृत पूजा गर्नका लागि मास्की रानामगर थिए ।

गह्रौँकालिका जागृत देवी भएकाले पनि यहाँ भाकल गर्दा दर्शनार्थी तथा भक्तजनको मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यता रहिआएको पाइन्छ । गह्रौँसुरमा अवस्थित कालिका मन्दिरमा कर्तरी मन्त्र, बीज मन्त्र र माला मन्त्रद्वारा पूजा गरिन्थ्यो । पुरुष मन्त्र, स्त्री मन्त्र र नपुसंक मन्त्रद्वारा चार ऋतुको दसैँमा पूजा गर्ने चलन भए तापनि हाल आएर आश्विन शुक्ल प्रतिपदादेखि दशमी र चैत शुक्ल प्रतिपदादेखि दशमी तथा पूर्णिमासम्म विशेष पूजाआजा हुने गरेको उहाँले बताउनुभयो । औँशी, एकादशी, सोह्रश्राद्ध, चन्द्रग्रहण र सूर्यग्रहणका दिनबाहेक अन्य सबै दिनमा यहाँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

काली कूलअन्तर्गत १८ सिद्ध विद्यामध्ये रक्तकाली र कालीद्वारा शक्ति प्राप्त देवी हुन् । श्रीकूलअन्तर्गत ‘मातङ्गी’ देवीको शक्ति प्राप्त भएको जनविश्वास रहिआएको छ । दश महाविद्यामध्ये ‘छिन्नमस्ता’ तथा ‘षोडशी विद्या’अन्तर्गत जीवित देवी पूजा विधिमा हाल आएर तान्त्रिक विधिका ज्ञाताको अभाव भएकाले तान्त्रिक विधिद्वारा पूजाआजा हुन छाडेको उहाँले बताउनुभयो ।

वैद्धिक विधिमा यजुर्वेदअनुसार शुक्ल यजुर्वेद र वेदान्तको मिमांसा दर्शनको आधारमा पूजा विधि गरिन्छ । त्यस्तै प्राकृत पूजा विधिको हकमा कोतघरमा बलि प्रथाद्वारा पूजा गरिँदै आइएको छ । अष्ट सिद्धीमध्ये ‘प्राकाम्य सिद्धी’ प्राप्त देवी भएकाले भक्तजनको इच्छा र अभिलाशाअनुसार वरदान दिनसक्ने देवीकारुपमा गह्रौँकालिकालाई लिन सकिने उहाँले बताउनुभयो ।

नौ गौण सिद्धीमध्ये ‘अनुरमी सिद्धी’ द्वारा आशिर्वाद प्राप्त गर्नसक्ने, त्यस्तै ‘यथा सङ्कल्प संसिद्धी’ द्वारा भक्तजनको समस्या समाधान गर्ने देवीकारुपमा रहेको पाइन्छ । पाँच छुद्र सिद्धीहरुमध्ये ‘प्रतिष्टम्भ सिद्धि’ द्वारा साधकको शारीरिक, मानसिक, गह्रदशा, नक्षेत्रजन्य प्रतिकूलतालाई अनुकूल बनाउनसक्ने सिद्धी प्राप्त भएको देवीका रुपमा स्थापित भएकाले तीनवटै प्रकारका सिद्धिद्वारा देवीका भक्त, दर्शनार्थी र साधकलाई देवीको आशिर्वाद मिल्ने धार्मिक मान्यता रहिआएको बुझाइ उहाँको छ ।

समुद्र सतहदेखि एक हजार पाँच सय ९६ मिटरको उचाइ अवस्थित छ गह्रौँसुर । यहाँबाट स्याङ्जाका अधिकांश भाग, पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वतलगायतका जिल्ला सहजै अवलोकन गर्न सकिन्छ । उत्तरतर्फ लहरै हिउँले ढाकिएका मनमोहक हिमशृङ्खलाले जोकोही पनि आनन्दित हुन पुग्छन् ।

श्रवणकुमारका अन्धाअन्धी मातापिताको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोला र दामोदरकुण्डलाई शिर मानी उत्पत्ति भई नागबेलीस्वरुपमा बहेको कालीगण्डकी र यसले बनाएका टार तथा फाँट अझ मनमोहक र आकर्षित देखिन्छन् ।

चारैतिरबाट वन जङ्गलले ढाकिएको र चुचुरोमा समथर र फराकिलो स्थान । विभिन्न खालका जडीबुटी तथा रङ्गीविरङ्गी चराचुरुङ्गी, जङ्गली जनावरको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट बिहानको सूर्योदय र साँझको सूर्यास्तसमेत हेर्न सकिन्छ । यस ठाउँलाई धार्मिक पर्यटनसँग जोड्दै ‘वालिङ–गह्रौँसुर–चापाकोट केबलकार’ सम्भाव्यता अध्ययनको विषय उठ्ने गरेको छ ।

पछिल्ला वर्षमा गह्रौँसुरले पूर्वाधार निर्माणमा फड्को मारेको छ । पुराना पूर्वाधार रहेको गह्रौँसुरमा आधुनिक भौतिक पूर्वाधार निर्माण भइरहेका छन् । भगवती मन्दिर, कालिका मन्दिर, सुविधासम्पन्न अतिथि गृह, खानेपानीको सहज उपलब्धता, कोतघर निर्माण, हेलिप्याड, रङ्गशाला, सभाहल, ढुङ्गेधारा, धर्मशाला, चमेना गृह, शौचालय, पक्की सडकमार्ग तथा पक्की पदमार्ग, दृश्यावलोकन केन्द्र, प्रवेशद्वार, मन्दिर परिसरमा ढुङ्गा तथा टायल छाप्नेलगायतका काम भएका गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले बताउनुभयो ।

मन्दिर परिसरमा परिक्रमा गर्नका लागि चक्रपथ निर्माण गरिएको छ । मन्दिर पुग्नका लागि वालिङ–८ काफलडाँडाबाट दुई किमी आठ सय मिटर सडक ढलाइ तथा कालोपत्र गर्नेक्रम चलिरहेको गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्रका कोषाध्यक्ष केशभक्त गुरुङले बताउनुभयो ।

धार्मिक पर्यटकलाई मध्यनजर गरी सुविधासम्पन्न अतिथि गृह र प्रतिक्षालय निर्माण गरिएको छ । आगामी असारसम्म निर्माण कार्य सक्नेगरी हेलिप्याड, स्टेडियम, सभाहल, शौचालय, मन्दिर प्राङ्गणमा ढंङ्गा छपाइ, दृश्यावलोकन केन्द्र, ढुङ्गेधारा, प्रवेशद्वारको काम भइरहेको छ । त्यस्तै गुठी संस्थानको सहयोगमा ‘कोत घर’ निर्माण गरिएको छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।