पुतलीबजारमा फस्टाउँदो ‘ड्रागन खेती’

वालिङ, ३० वैशाख (रासस) ः सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो ।

स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देख्नुभएको फल लाग्ने चार वटा विरुवा घरमा ल्याउनुभयो । सुरुमा लगाएका चार वटा बेर्नाबाटै अहिले हजारौँ बेर्ना लगाउने र व्यावसायिक उत्पादन थाल्ने कल्पना सुरुमा उहाँमा थिएन । जब ती चार वटा बोटबाट उत्पादन राम्रो हुन थाल्यो तब उहाँले हाँगा काट्दै नर्सरी गरी बेर्ना उत्पादनमा जोड दिनुभयो ।

सुरुमा लगाइएका चार वटा बेर्नाले उहाँलाई व्यावसायिक बन्नमा महत्वपूर्ण भूमिका खेल्यो । “कस्तो हुनेरैछ भन्ने कौतुहलता जागेर बेर्ना लिएर आएँ, बेर्ना सारेको केही वर्षपछि फल दिन सुरु भयो”, उहाँले भन्नुभयो, “फल लाग्न थालेपछि छुट्टै ऊर्जा मिल्यो र त्यहीँबाट बेर्ना उत्पादन गर्दै व्यावसायिकरुपमा ड्रागन खेतीको विस्तार गरेँ ।”

दिउँसोको समयमा संस्थागत विद्यालयमा अध्यापनरत उहाँले विशेष गरी बिहान, साँझ वा बिदाका दिनमा ड्रागन खेतीको विस्तारमा ध्यान दिनुभयो । “अन्नबाली उब्जाउ हुँदै आएको जमिनमा सुरुका दिनमा धान, गहुँ, मकैलगायतका खाद्यान्न बाली नलगाई ड्रागन लगाउन चुनौती थियो”, उहाँले भन्नुभयो, “जब राम्रो हुँदै गयो तब ड्रागन खेती पनि विस्तार हुँदै गयो ।”

पन्ध्र वर्षअघि घरमा परीक्षण गर्न ल्याइएको बेर्नाबाट उत्पादन राम्रो हुँदै गएपछि बर्सेनि आफँैले बेर्ना उत्पादन गर्दै लगाउँदै गएको उहाँ बताउनुहुन्छ । सुन्तला उत्पादन हुन्छ कि भन्ने लागेर केही वर्ष सुन्तलाका बोट लगाइएको थियो । सुन्तलाका बोट ठाडै मरेपछि माटो परीक्षण गर्दा ड्रागन उपयुक्त हुन्छ भन्ने कृषि विज्ञसँगको परामर्शपछि ड्रागन खेती थालिएको उहाँले बताउनुभयो ।

“परीक्षणका लागि ल्याइएको चार वटा बेर्नाले व्यवसायी बनाउँछ भन्ने लागेको थिएन”, उहाँले भन्नुभयो, “धान, मकै, गहुँजस्ता खाद्यान्न बालीबाट भन्दा यसबाट आम्दानी धेरै हुने गरेकाले यसतर्फ आकर्षित भएको हुँ ।” चार रोपनी क्षेत्रफलमा ड्रागन खेती गरेर व्यावसायिक उत्पादन थाल्नुभएका रानाले गत वर्ष रु ६० हजार आम्दानी गर्नुभएको थियो ।

गत वर्ष आफन्त, घरमा आएका पाहुनालगायत छर छिमेकमा बाँडेर रहेको बिक्री गर्दा उक्त आम्दानी भएको उहाँ बताउनुहुन्छ । आफैँले उत्पादन गरेका बेर्ना बर्सेनि थप गर्दै जाँदा अहिले उहाँसँग १३ रोपनी क्षेत्रफलमा पाँच हजार बेर्ना रहेका छन् । आगामी वर्षमा पनि करिब दुई हजार पाँच सय बिरुवाले उत्पादन दिने उहाँको अनुमान छ । त्यसबाट राम्रै आम्दानी हुने अपेक्षा छ ।

करिब दुई वर्षपछि सबै बोटले फल दिन थाल्ने भएकाले उत्पादन तीन दोब्बरले वृद्धि हुने उहाँ दाबी गर्नुहुन्छ । “सबै बोटले फल दिँदा एक सिजनमा रु १२ देखि १५ लाख आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “अहिले प्रतिकेजी रु छ सयका दरले बिक्री हुँदै आएको छ ।” यहाँ उत्पादन भएको ड्रागन स्थानीय बजार तथा पोखराका बजारमा सहजरुपमा बिक्री भइरहेको छ ।

अहिले उत्पादनभन्दा बजारमा यसको माग धेरै रहेकाले मागअनुसार पु¥याउन नसकिएको उहाँले बताउनुभयो । उहाँले ड्रागन खेतीसँगै मिश्रित बालीको रुपमा अकबरे खुर्सानी, कुरिलो, बन्दा, बदाम, गाँजरलगायतका तरकारी बाली लगाउनुभएको छ ।

उत्पादन राम्रो हुनुका साथै बजारमा माग बढ्दै गएकाले क्षेत्र विस्तार गर्ने तयारीमा रहेको उहाँको भनाइ थियो । “परम्परागतरुपमा गरिँदै आएको खेती प्रणालीबाट फाइदा हुन्छजस्तो मलाई नलागेकाले धान, मकै, गहुँको साटो व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ”, उहाँले भन्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।