फेरियो रुम गाउँको मुहार

–ध्रुवसागर शर्मा
गलेश्वर, १४ जेठ (रासस) ः म्याग्दीको मालिका गाउँपालिका–२ रुमका टेकबहादुर विक ७९ वर्षको हुनुभयो । उमेरले आठ दशक छुनै लागे पनि स्वच्छ खानपानले उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । फरासिला विकले जीवनका अधिकांश समय ढुङ्गाखानीबाट घर छाउनी ढुङ्गा निकाल्दै, गाईभँैसी र भेडाबाख्राको गोठालो गरेरै बिताउनुभयो ।

विकसँग जीवनका अनेकौँ भोगाइ छन् । उतिबेला उहाँले भोगेका कैयौँ अनुभव अहिले विक आफैँलाई नौला लाग्छन् । उहाँले भोगेका सयौँ अनुभवमध्ये एउटा यस्तो अनुभव छ जो विक कहिल्यै भुल्नु हुन्न । चौध दिनको पैदलयात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उहाँको मानसपटलमा अझै ताजै छ । उहाँले यो दुःख चाहेर पनि भुल्न सक्नुहुन्न ।

दुर्गम गाउँ रुम सरकारी निकायको ध्यान कम पुगेको गाउँ । विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ सङ्घर्षपछि बल्ल गाउँसम्म बिजुलीबत्ती र सडक पुगेको छ ।

गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुलीबत्तीले गाउँ घर झिलिमिली होला भन्ने उहाँले कहिल्लै कल्पना गर्नुभएको थिएन । तर अहिले गाउँघरमै सरर गाडी गुड्दा, बिजुलीबत्तीले झिलिमिली हुँदा विक दङ्ग हुनुहुन्छ । विकमात्रै होइन गाउँमै सडक गाडी, बिजुली, स्वास्थ्यचौकी, विद्यालयलगायतका विकासका पूर्वाधार पुुगेपछि यहाँका बासिन्दाको खुसीको सीमा नै छैन ।

सडक बनेर गाडीमार्फत बुटवल र चितवनलगायतका ठाउँबाट घरदैलोमै खाद्यान्नलगायतका आवश्यक चिज आउन थालेपछि उमेरले ७० वसन्तपार गरेका यहाँका वृद्धवृद्धाले विकास भनेको कस्तो हुँदोरहेछ भन्ने कुरा महसुस गर्न पाएका छन् ।

पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट दुईतर्फी सडक गाउँमा पुगेपछि यस क्षेत्रका बासिन्दाको जीवनमा खुसियाली छाएको हो ।

“हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिएन, तर अहिले त हेर्नुस् गाडी सरर चल्छन्, बिजुलीबत्ती पनि थिएन त्यतिबेला, हामीले त सिठा र दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बिजुलीले झिलिमिली छ, एकदिन लाइन आएन भने अन्धकारमा बसेजस्तो हुन्छ”, रुमबेलीका मेखबहादुर पुनले भन्नुभयो, “बटौलीमा गाडी देख्दा डराउँथ्यौँ, अहिले त के को डराउनु अली तल जानुप¥यो भने हिँड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, धेरै टाढा हिँडियो, अहिले सुविस्ताले गर्दा दुई÷चार पाइला पनि हिँड्न गाह्रो लाग्छ ।”

जिल्ला सदरमुकाम बेनीबजार आवतजावत गर्न चार दिन लागेको सुनाउँदै तत्कालीन समयमा यहाँका जनताले निकै दुःख पाएको पुन सुनाउनुहुन्छ । “कागजपत्रको काम गर्न बेनी जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानुपथ्र्यो, यहाँबाट हिँडेर बेनीपुग्दा दुई दिन, फर्किंदा दुई दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने गथ्यो, निकै डर पनि हुन्थ्यो, आइमाई केटाकेटीलाई झन धेरै समस्या हुन्थ्यो”, पुनले भन्नुभयो, “अहिले त बिहान सरर गाडीमा गयो, साँझ खाना खान घरै आइन्छ, यस्तो सुविधा होला भन्ने त कसले सोचेको थियो होला र ?”

अहिले गाउँगाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनुपर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको पुनले बताउनुभयो । “पहिलेको दुःखलाई सम्झिँदाखेरी त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन ?, अहिले कस्तो भयो ?, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ”, पुनले भन्नुभयो, “अहिले त सबथोक छ, के छैन ?, उतिबेला घ्यु बोकेर १५÷१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकै छिनमा आउँछ ।”

खच्चड र मानिसले नै बोकेर खाद्यान्नलगायतका सामान ढुवानी गर्दै आएका स्थानीयवासीले सडकले सिधा सम्पर्क जोडिएसँगै गाउँमा उत्पादन हुने उपजलाई सहज बजारीकरणमा सुविधा पुग्ने भएपछि उत्साहित बनेका छन् ।

मालिका गाउँपालिकाको दक्षिणी भेगमा पर्ने रुम गाउँ २०.७४ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । बागलुङ जिल्लासँग सिमाना जोडिएको यो गाउँमा तीन हजार सात सय तीन जनसङ्ख्या छ । यहाँ मकै, कोदो, गहुँ, जौ, फापर आदिको राम्रो खेती हुन्छ । यस क्षेत्रमा उत्पादन हुने कृषिउपज, स्लेट ढुङ्गा र भेडाबाख्राको बजारीकरणमा सडक सञ्जालले टेवा पु¥याएको मालिका गाउँपालिका–२ रुमका वडाध्यक्ष उदयकुमार बुढाथोकीले बताउनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।