आत्मनिर्भरको बाटोमा ग्रामीण महिलाहरु

–सुशील दर्नाल
गोरखा, २४ जेठ (रासस) : शहिद लखन गाउँपालिका–२ बेतेनीस्थित ‘लगनशील कोशिस कृषि महिला समूह’ले पछिल्लो दुई महिनामा १७ हजार रुपैयाँको फूल बेचेको छ । पाँच महिनादेखि फूल खेती सुरु गरेको समूहले फूल बेचेर रु १७ हजार आम्दानी गरेको हो । उन्नाइस महिला आबद्ध समूहले एक रोपनी जग्गा भाडामा लिएर फूल खेती गरेको हो । समूहले जग्गा धनीसँग वार्षिक पाँच हजारका दरले भाडा तिर्ने गरी पाँच वर्षसम्मको लागि सम्झौता गरेको छ । समूहमा आबद्ध महिलाले सुरुमा फूल कसरी लगाउने, कति मल राख्ने कति पानी राख्ने, टनेल कसरी बनाउने, फूलको बीउ कसरी राख्नेलगायत फूल खेतीसम्बन्धी तालिम लिएपछि खेती सुरु गरेका हुन् । समूहकी अध्यक्ष पृथ्वीमाया गुरुङले भन्नुभयो, “गएको पुसमा तालिम लिएपछि माघमा फूलको बेर्ना सारियो र वैशाखदेखि फूल बेच्न सुरु ग¥यौं, फूलको माग अनुसार पु¥याउन सकेको छ्रैनौं ।” यतिछिटै फूल बिक्रीबाट आम्दानी गर्न सकिएला भन्ने उहाँहरुलाई लागेको थिएन ।

अध्यक्ष गुरुङ भन्नुहुन्छ, ‘‘समूहका सबै महिला मिलेर अहिले गोदावरी र सयपत्री फूल लगाएका छौँ, मुख्यगरी जग्गा र पानीको समस्या भएको छ, जग्गा पढाउने तयारीमा छौँ ।” धेरै फूल खेती गर्नका लागि अहिले जग्गा र पानीको अभाव भएको छ । समूहले उत्पादन गरेको फूल मनकामना मन्दिरमा लगेर बेच्ने गरेको छ ।शहिद लखन गाउँपालिका–९, नामजुङ खड्कगाउँस्थित लालुपाते कोशिस महिला कृषि समूहका सचिव रुपा दवाडीको घरमा अहिले १४ वटा बाख्रा छन् । बीस सदस्य रहेको समूहकी सचिव दवाडीले सुरुमा छ वटा मात्रै बाख्रापालन गर्दै आउनुभएको थियो । बाख्रापालनसम्बन्धी तालिम लिएपछि भने आठ बाख्रा थपेर अहिले १४ पु¥याउनु भएको छ ।

“पहिला बाख्रा बिरामी हँदा कुन औषधि खुवाउने, कस्तो दाना खुवाउने भन्ने थाहा थिएन, बाख्र्राको लागि खनिज ढिक्का बनाउने पनि थाहा थिएन”, उहाँले भन्नुभयो, “तालिम लिइसकेपछि बाख्रा पाल्न सजिलो भएको छ, तालिममा बाख्रापालन गर्दाको फाइदा, बाख्राको खोर बनाउँदा ध्यान दिनुपर्ने विषय र बाख्रामा लाग्ने आन्तरिक परजिवी र उपचार पद्दतिबारे सिकेपछि अहिले बाख्रा पाल्न सहज भएको छ ।” त्यसैगरी रत्ननगर नगरपालिका–११, चितवन, गैरीगाउँस्थित ‘गैरीगाउँ महिला कोशिस कृषक समूह’ले करेला र भिण्डी बिक्री गरेर रु ४० हजार आम्दानी गरेको छ । चार कट्ठा जग्गा भाडामा लिएर करेला र भिण्डी लगाएको समूहले भिण्डीको प्रतिकेजी ६० र करेलाको प्रतिकेजी ५० रुपैयाँमा बेच्दै आएको छ । समूहमा आवद्ध महिलाले सामूहिक रुपमा करेला र भिण्डी लगाएर आम्दानी गरेका हुन् । उनीहरुले एक दिन बिराएर नारायणघाट सब्जीमण्डीमा लगेर तरकारी बेच्ने गरेका छन् ।

समूहकी सदस्य शान्ति बास्तोलाले भन्नुभयो, “तालिम लिँदा र नलिंदा धेरै फरक हुँदोरहेछ, तालिम लिएपछि कसरी तरकारी लगाउने, तरकारीमा समयमै पोटास, युरिया, पानी राख्नुपर्ने, बेलाबेलामा गोडमेल गर्नुपर्नेलगायत धेरै कुरा थाहा भएपछि तरकारी खेती गर्न सहज भएको छ ।” समूहमा सदस्यहरुले मासिक सय रुपैयाँ उठाउने गरेका छन् । गत पुसमा समूह गठन गरेर सदस्यहरुले १ प्रतिशत व्याजमा समूहबाट आवश्यकताको आधारमा पैसा निकालेर घर खर्च चलाउँदै आएका छन् । कट्ठाको वर्षको ३५ सय रुपैयाँको दरले जग्गाको भाडा तिर्नुपर्छ । समूहले जमिन बढाउने योजना पनि बनाएको छ । बास्तोलाले भन्नुभयो, “समूहमा बसेर काम गर्दा छुट्टै रमाइलो हुँदोरहेछ, विभिन्न कुराहरु जान्ने अवसर पनि मिलेको छ ।” समूहभित्र पनि पाँच÷पाँच जनाको उपसमूह बनाएर आ–आफ्नो पालोमा तरकारी टिप्ने र बेच्ने गर्दै आएका छन् ।सुरुमा दलित महिला उत्थान सङ्घ (एड्वान) ले फूलखेती र बाख्रा पालनसम्बन्धी १५ दिनको तालिम फूलको बीउ र आवश्यक औजार प्रदान गरेको थियो । तालिममा बाख्रामा लाग्ने विभिन्न रोग र नियन्त्रणका उपाय, औषधि÷उपचार, जुुकाको उपचार र सुुइ, रोग सर्ने माध्यम, बाख्रालाई खोप लगाउँदा अपनाउनुुपर्ने उपाय, भर्खर जन्मेका पाठापाठीको हेरचाह गर्ने तरिका, ब्याउने बाख्रा र सुत्केरी माउको हेरचाह गर्ने तरिका, सन्तुलित दाना बनाउने तरिकाको प्रयोगात्मक अभ्यास गराइएको थियो ।

बाख्रापालनबाट आम्दानी गरेर घर खर्च चलाउँदै आउनुभएकी लालुपाते कोशिस महिला कृषि समूहका सचिव दवाडीले सबै बाख्राको बीमासमेत गराउनु भएको छ । “श्रीमानको खासै आम्दानी हुँदैन, बाख्रा पालेर पनि छोरा÷छोरी पढाउनलगायत घर खर्च चलाउन सकिन्छ भन्ने लागेको छ, खासमा हामीले बाख्रा पाल्न नजाने र रहेछ, राम्रोसँग गरियो भने हुँदोरहेछ ।”, उहाँले भन्नुभयो । अब एड्वानले बाख्राको खोर व्यवस्थित बनाउन सहयोग गरिदिए हुन्थ्यो भन्ने लागेको छ दवाडीलाई । खोर व्यवस्थित भएको खण्डमा बाख्रा थप्ने योजनामा हुनुहुन्छ उहाँ । दवाडीले भन्नुभयो, “मैले पहिले पनि फर्म दर्ता गरेरै बाख्रा पालेको थिए, पहिला ३५÷४० वटा नि थियो, पछि बाख्रालाई रोग लागेर धेरै मरेपछि जम्मा ५÷६ वटा माउहरु मात्रै बाँकी भयो ।”

तालिमपछि एड्वानले दिएको यातायात खर्चवापतको प्रतिव्यक्ति ४५ सय रुपैयाँ पनि समूहमा राखिएको छ भने समूहमा मासिक १०० रुपैयाँ उठाउने गरिन्छ । तालिम सञ्चालन गर्दाको खर्च जोगाएको रु ९० हजारसमेत गरी अहिले समूहमा रु एक लाख २४ हजार जम्मा भएको छ । त्यसैबाट आवश्यक मात्रामा ऋण लिएर बाख्रा किनेर पाल्ने गरेको उहाँको भनाइ छ । बाख्रा पालेर खेतीको लागि मल पनि भएको उहाँले बताउनुभयो ।

रुपाले जस्तै शहिद लखन गाउँपालिका–९ गम्थालेकी डिलकुमारी नेपालीले पनि १५ वटा बाख्रा पाल्नु भएको छ । डिलकुमारीको पनि तालिम लिनुअघि नौ वटा मात्रै बाख्रा थिए तर तालिम लिएपछि भने थपेर १५ वटा बनाउनुभएको छ । “पन्ध्र दिनको तालिममा धेरै कुरा सिकियो, बाख्रा विरामी भएको बेलामा एउटै खोरमा राख्न नहुने रहेछ, खोरलाई सधैँ सफा राख्ने, हप्तामा दुई पटक बाख्राको मल छुट्टै राख्नुपर्ने रहेछ भन्ने जानियो”, उहाँले भन्नुभयो । पोहोर साल मात्रै तीन वटा खसी बेचेर छोराको पढाइ खर्च पु¥याएको उहाँले सम्झिनुभयो । डिलकुमारीले बाख्रापालन गरेरै घर खर्च चलाउने र छोरा÷छोरीको पढाइ खर्च पु¥याउँदै आउनुभएको छ । अब भैँसी हटाएर बाख्रा नै थप्ने उहाँको सोचाइ छ । खड्क गाउँकै समूहकी सदस्य सुनिता भण्डारीले हालै एउटा खसी बिक्री गरेर रु १८ हजार हात पार्नुभयो । यसले आफूलाई घर खर्च चलाउन सजिलो भएको उहाँको भनाइ छ । समूहकी सदस्य अनिषा दवाडीले पनि समूहबाट ऋण निकालेर सातवटा बाख्रा पाल्नुभएको छ । यता गण्डकी गाउँपालकिा–१, मकैसिंहस्थित ‘देवीमाई कोशिस महिला कृषक समूह’की सदस्य माया गुरुङले २७ वटा बाख्रा पाल्नुभएको छ ।

मायाले बाख्रापालनबाटै आम्दानी गरेर घर खर्च चलाएर केही रकम बचतसमेत गर्नुभएको छ । उहाँले बाख्रा पालनसँगै सुन्तला खेती पनि गर्नुभएको छ । शहिद लखन गाउँपालिकामा ‘हातेमालो कोशिस महिला कृषक समूह’, ‘लालीगुराँस कोशिस महिला कृषक समूह’, ‘नवपालुवा कोशिस महिला कृषक समूह’ र ‘बौद्धनाथ कोशिस महिला कृषक समूह’ गरी विभिन्न १२ वटा समूह गठन गरिएको छ । ती समूहले पनि अदुवा, बेसार, अकबरे खुर्सानी, कोसेवाली, बङ्गुरपालन, बाख्रा र कुखुरापालन गर्दै आएका छन् । सोही गाउँपालिकामा अहिलेसम्म सातवटा कृषिसम्बन्धी, एउटा पशुपालनसम्बन्धी र तीन वटा नेतृत्व विकाससम्वन्धी तालिम सम्पन्न भएको छ । त्यसैगरी गण्डकी गाउँपालिकामा अहिलेसम्म ११ वटा समूह गठन गरिएको छ भने छ वटा कृषिसम्बन्धी, एउटा पशुपालनसम्वन्धी र दुईटा नेतृत्व विकाससम्बन्धी तालिम सञ्चालन गरिएको थियो । गण्डकी गाउँपालिकाका ‘देवीमाई कोशिस महिला उद्यमी कृषक समूह’, ‘त्रिशुली कोशिश महिला कृषक समूह’ र ‘सिर्जनशील बहुउद्देश्य कोशिस महिला कृषक समूह’लगायत ११ वटा समूहले पनि कृषि र पशुपालन गर्दै आएका छन् । फूल खेती गरेर वा बाख्रापालन गरेर आत्मनिर्भर हुने पृथीमाया, रुपा, अनिषा, डिलकुमारी, सुनिता र माया उदाहरण मात्रै हुन् । वर्षौँदेखि घाँस दाउरामै ब्यस्त ग्रामीण भेगका महिला पृथ्वीमाया र रुपा जस्तै अचेल सामूहिक व्यावसायिक तरकारी खेती तथा पशुपालनमा लागेका छन् ।

पितृसत्तात्मक सोचबाट गुज्रेको हाम्रो समाजमा अझै पनि महिलालाई आयमूलक कार्यमा सग्लन कम र घरायसी काममा बढी समय दिनुपर्ने वाध्यता छ । उमेर नपुग्दै विवाह गरिदिने, आर्थिक स्रोतका लागि श्रीमानमा भर पर्नुपर्ने, अवसरबाट वञ्चित रहनुपर्ने, घरायसी बन्धन र निर्णय गर्ने अधिकार नहुनेजस्ता समस्याहरुले महिला पछाडि परेका छन् । युवा विदेश जाने प्रवृत्ति बढेसँगै कृषि क्षेत्रमा महिलाको सक्रियता बढ्दै गएको छ । शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापाले महिला र पुरुषबीचको विभेद् हटाउन पनि महिलालाई आत्मनिर्भर बनाउनुपर्ने तर्क गर्नुहुन्छ । महिलालाई सचेतनासँगै कृषिमा सशक्तीकरण गर्न सकिएमा कृषि उत्पादन वृद्धि हुनुको साथै आर्थिक सबलीकरणमा सहयोग पुग्ने देखिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।