झोलुङ्गे पुलले फेरियो दैनिकी

ढोरपाटन, ३० जेठ (रासस) : पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै एउटा अग्लो र लामो झोलुङ्गे पुल बनेको छ । त्यो पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो, भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै देखिन्छ । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पुलमा दैनिक दुई सय बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन् । स्थानीयले घाँस, दाउरा ल्याउन र बारीमा काम गर्न वारपारका लागि निर्माण गरिएको पुलमा पर्यटकको घुइँचो लाग्न थालेपछि स्थानीय पनि हर्षित बनेका छन् ।

बुर्तिबाङ–बोङ्गादोभान सडकखण्डको माथिपट्टि निर्माण भएको पुलले यात्रुलाई समेत आकर्षित गर्ने गरेको छ । गत वर्षसम्म वारपार गर्दा सास्ती भोग्दै आएका स्थानीयलाई यो पुल वरदान सावित भएको छ । वारि गाउँ र पारि खेतीयोग्य जमिन हुँदा स्थानीय वारपारमा निकै समस्या थियो । गत पुसमा निर्माण सुरु भएको पुल दुई महिनामै सम्पन्न भई चैतदेखि सञ्चालनमा आएको हो । पुल दुई सय ४३ मिटर लामो छ । पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ । पुल निर्माणपछि ढोरपाटन नगरपालिका–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमरलगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ ।

आफ्नो बारी खोलापारि र घरवारिपट्टि हुँदा काम गर्न जाँदा पनि धेरै समय लगाउनुपर्ने बाध्यता पुल निर्माण भएपछि टरेको स्थानीय तिलकुमारी कुँवरले बताउनुभयो । हिउँदको समय जसोतसो खोला वारपार गरेर काम गरे पनि बर्खामा निकै समस्या भोग्दै आएको यस वर्षदेखि सहज हुने सुनाउनुभयो । पुलले गाउँलेको दैनिकी नै फेरिएको उहाँको भनाइ छ ।

“बर्खामा खोला उर्लिएर आउँछ, पारि बारीमा पुग्न धेरै समस्या थियो, वारि गाउँदेखि पारि गाउँ पुग्न बुर्तिबाङ बजारबाट चुरेलाबास हुँदै बारीमा पुग्नुपथ्र्यो, घर र बारी नजिकै भए पनि बीचमा खोला हुँदा धेरै अवरोध भएको थियो । भनेको बेलामा बारीमा पुग्न सकिँदैनथ्यो”, उहाँले भन्नुभयो, “यहाँ पुल बनेपछि त हामी धेरै खुसी भएका छौँ, हाम्रो आधा समस्या समाधान भएको छ, अब त बारीमा तरकारी फलाएर उत्तिखेरै टिपेर ल्याउन सकिन्छ, पहिले त बारीबाट तरकारी लिएर आउन झन्डै दुई घन्टा लाग्ने गथ्र्यो ।”

स्थानीय कुलबहादुर नेपालीले अब खोला तर्दा कसैले ज्यान गुमाउन नपर्ने बताउनुभयो । उहाँले पहिले खोला वारपार गर्दा धेरैले ज्यान गुमाएको स्मरण गर्नुभयो । बुर्तिबाङ बजार नजिकै भए पनि यहाँ लामो समयसम्म पुल नबन्दा आफूहरूले खेतीपाती गरेर जीवन निर्वाह गर्नसमेत गाह्रो भएको उहाँले बताउनुभयो ।

स्थानीय नेपालीले भन्नुभयो, “पुल निकै छिटो बन्यो, हिउँदमा बाँसको फड्के बनाएर खोला तर्ने गथ्र्यौँ, त्यही फड्केबाट लडेर कतिले ज्यान गुमाए, फड्के नहुँदा भारीसँगै खोला तर्यौँ, नेताहरुलाई धेरै पटक यहाँ पुल बनाउनका लागि आग्रह गरेका थियौँ सुनेनन्, बल्ल पुसमा बजेट परेछ र अहिले पुल बन्यो, अब वारिपारि गर्न खोला तर्नुपर्ने छैन, पुल निकै लामो छ, त्यही भएर होला अहिले पुलमा धेरै मान्छे आउँछन् ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।