इभेन्ट परियोजनाले बनायो सातसय युवालाई आत्मनिर्भर

सुरुङ्गा (झापा), ३० जेठ (रासस) : इलामको लारुम्वाक पुष्पा राईले दमकमा सलाइबुनाइ व्यवसाय सुरु गर्नुभएको छ । सानैदेखि सिलाइबुनाइमा रुचि राख्ने राईले दमक १ मा यो व्यवसाय सुरु गर्नुभएको छ ।

लामो समयसम्म बेरोजगार उहाँलाई व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)बाट लिएको निःशुल्क तीन महिने सिलाइबुनाइ तालिमले व्यवासय सुरु गर्न सक्ने गरी सक्षम बनाएको हो ।

इभेन्टसँगको सहकार्यमा दमक टेक्निकल एजुकेशन फाउण्डेशन प्रालिले सिलाइ बुनाइसम्बन्धी ‘लेभल १’ को तालिम सञ्चालन गरेसँगै सोही तालिममा सहभागी बन्नुभएकी राईले सीप सिकेसँगै अहिले घरमै सिलाइबुनाइ व्यवसाय सञ्चालन गर्नुभएको छ । जसबाट उहाँ आफैंँ स्वरोजगार बन्दै मनग्य आम्दानी गरिरहनुभएको छ ।

“निःशुल्क तालिम नलिएको भए म यतिबेला विदेशमा हुने थिएँ । तर, तालिम लिएपछि आफ्नै ठाउँमा उद्यमी बन्न पाएकी छु यसैमा म गर्व गर्छु”, राईले भन्नुभयो ।

दमक नगरपालिका–८ निवासी कविता मोतेले इभेन्ट परियोजनाद्वारा प्रदान गरिएको निःशुल्क सिलाइबुनाइ तालिम लिएर अहिले दमकमा माया टेलर्स सञ्चालन गर्नुभएको छ । मोते एकल महिला हुनुहुन्छ । श्रीमानको निधनपछि उहाँलाई घर चलाउन सहज थिएन । तर, इभेन्ट परियोजनाले प्रदान गरेको सिलाइबुनाइसम्बन्धी निःशुल्क तालिमले उहाँको जीवनले नयाँ मोड लिएको छ । स्वरोजगार नहुँदा सामान्य घरखर्च चलाउनसमेत समस्यामा पर्ने भए पनि अहिले अरुलाई समस्या पर्दा सहयोग गर्न सक्ने हुनुभएको छ ।

एक वर्षअघि यो व्यवसाय सुरु गर्नुभएकी उहाँले अहिले अरुलाइसमेत निःशुल्क प्रशिक्षण प्रदान गर्न सुरु गर्नुभएको छ । दैनिक औसतमा रु एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ हुन थालेपछि हाल मासिक रु ३० हजारसम्म बचत हुन थालेको उहाँको भनाइ छ ।

सुरुमा दौरा सुरुवाल, टोपी, भोटो, ब्लाउज सिलाए पनि अहिले अन्य पोषाक पनि सिलाउन सक्नेहुनुभएको छ । मेतेसँगै सोही ठाउँ निवासी सन्ध्या श्रेष्ठ पनि अहिले सोही व्यवसायमा आबद्ध हुनुहुन्छ । इभेन्ट परियोजनाले उपलब्ध गराएको तालिमले नै उहाँलाई पनि स्वरोजगार बनाएको छ ।

विश्व बैंकको सहयोगमा नेपाल सरकारले सुरु गरेको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)बाट तालिम लिएर आत्मनिर्भर बन्ने झापामा धेरै छन् । जसमध्ये कमल गाउँपालिका निवासी सुमन बाँस्कोटा पनि एक हुनुहुन्छ । उहाँले मोबाइल रिपेयरिङसम्बन्धी तालिम लिएर अहिले मनग्य आम्दानी गरिरहनु भएको छ । वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेपनि रोजगारीबाट फर्किएसँगै उहाँले सीप सिक्नु भएको हो । तालिमप्राप्त गरेपछि धेरै युवाहरुलाई विदेश जानुको विकल्प प्राप्त भएको छ । स्वदेशमै केही गर्नका लागि हातमा सीप भएपछि विदेश जानै पर्ने बाध्यता पनि हटेको छ ।

उहाँका अनुसार सीप सिकेपछि काम खोज्दै विदेश जानेभन्दा स्वरोजगार हुने धेरै छन् ।त र आफूलाई भने मोबाइल रिपेयरिङसँगै आफू मोबाइलको मार्केटिङ पनि गर्ने भएकाले आर्थिकरुपमा समस्या नभएको उहाँको तर्क छ । “यसअघि हातमा सीप थिएन त्यसैले विदेश जानुको विकल्प थिएन, तर अहिले सीप र बजार दुवै भएकाले विदेश जानुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो ।

इभेन्ट परियोजनासंग सहकार्य गर्दै दमक टेक्निकल एजुकेशन फाउण्डेशन प्रालिले सन् २०१७ बाट सुरु गरेको सीप विकाससम्बन्धी तालिममा सहभागी गराएर सात सयभन्दा बढी युवा स्वरोजगार बनेको दमक टेक्निकल एजुकेशन फाउण्डेशन प्रालिका प्रिन्सिपल श्यामकुमार विष्टको भनाइ छ ।

“ग्रामीण क्षेत्रका विपन्न, पिछडिएका, सिमान्तकृत, अतिसिमान्तकृत, आदिवासी जनजाति, महिला र एकल महिलालाई प्राथमिकतामा राखेर हामी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “ निःशुल्क तालिम लिएपछि धेरै बेरोजगार युवा स्वरोजगार बन्दै अरुलाई समेत रोजगारी प्रदान गर्न सक्ने हुनुभएको छ ।”

इभेन्टसँगको सहकार्यमा आफूहरुले १८ देखि ४० वर्ष उमेर समूहका युवालाई लक्षित गर्दै विल्डिङ इलेक्ट्रिसियन, सिलाइकटाइ, ब्युटिसियन, कम्प्युटर हार्डवेर टेक्निसियन, मोबाइल रिपेरियरसम्बन्धी तालिम दिइरहेको उहाँको भनाइ छ । “टेलरिङ र सिलाइबुनाइ व्यवसाय सुरु गर्नेमध्ये अधिकांशले मासिक रु ५० हजारसम्म आम्दानी गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “निःशुल्क तालिमले धेरैलाई स्वरोजगार बन्न सहयोग गरेको छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।