चर्को खडेरीले सुके पानीका मुहान

– ध्रुवसागर शर्मा
गलेश्वर, ३२ जेठ (रासस) : चर्को खरेडीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घन्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन् ।

पहिले पहिले पानीको छेलोखेलो हुने गाउँका टोलटोलमा अहिले खानेपानीका धारा त छन् तर धारामा प्रायः पानी खस्दैन । लगातारको खडेरी, जलवायु परिवर्तन, वनजङ्गल विनाश र मानवीय क्रियाकलापका कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ । कतिपय खोला र मूलमा पानी सुकेर सुख्खा बनेका छन् ।

पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढ्दै गएको छ । खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौँ बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ । वर्षौँदेखि खानेपानी उपभोगका लागि समस्या नभएका स्थानीयमा अहिले पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कंदै गएको बताउँछन् ।

म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका ७४ वर्षीय डम्मरबहादुर सिउथानी मगर दुई दशकअघिसम्म गाउँको जरुवामा रहेको कुवाबाट पानी पिएको, नुहाएको, लुगा धोएको अनि त्यही कुवाको पानीले घर बनाएको झल्झली सम्झनुहुन्छ ।

सोही गाउँपालिका वडा नं ३ रुमका ७६ वर्षीय बलबहादुर विकलाई पनि घरको सिरानमा रहेको पाखो र डहरे खोलाको छेउमा रहेका दुई वटा पोखरीमा भैँसी आहाल बसालेको, पोखरीको पानी कुलाएर रोपाइँ गरेको याद छ । उहाँका अनुसार आजभोलि शिरानको पाखोमा न पानीको कुवा छ न त डहरेखोलामा पोखरी नै छन् ।

वर्षात्मा खानेपानीको समस्या खासै नहुने भए पनि सुक्खा मौसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय काकाकुल बन्ने अवस्थामा पुगेका बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटाले बताउनुभयो । “लामो खडेरी र चर्को गर्मीका कारण पानीका मुहान सुक्दै गएका छन् । अबको चार महिना खानेपानीको हामीलाई निकै सकस हुन्छ”, उहाँले भन्नुभयो ।

बेनपा–६ थाकन पोखरी, मङ्गला गाउँपालिका–१ कुहूँ, बेनपा–१ अर्जमलगायत दर्जनौँ गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । पानीका लागि स्थानीय घन्टौँ टाढाका पानीका मुहान धाउन थालेका छन् । जिल्लाको बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभाव भएपछि स्थानीय समस्यामा परेका हुन् ।

केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा अप्राकृतिक समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताउँदै आएका छन् । खासगरी विसं २०७२ सालको भूकम्पयता म्याग्दीको लेकाली क्षेत्रमा समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका अगुवा टीकाबहादुर पुनले बताउनुभयो । “भूकम्पका साथै दुई वर्ष अघिको बाढीपहिरो र खडेरीले पानीका मूल सुक्दै गएपछि यहाँ समस्या उत्पन्न भएको छ । मूलहरु पुरिँदै गएका छन्, नयाँ स्रोत देखिएका छैनन्”, उहाँले भन्नुभयो ।

कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गाका जलाधार क्षेत्रमा मात्रै होइन, जिल्लाका अन्य ओसिला ठाउँमा रहेका सयौँ पानीका मुहान सुकिसकेका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । खानेपानीका मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र नभइ, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको वातावरण संरक्षणकर्मीको भनाइ छ । उनीहरुका अनुसार वनजङ्गल विनाश र अनियन्त्रित विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर पारेको छ । डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका वातावरण संरक्षणकर्मी बताउँछन् ।

“सडक खन्ने नाममा प्राविधिक रिपोट र वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन्”, थानीय डिलबहादुर सापकोटाले भन्नुभयो । यही गतिमा विकासका नाममा अनियन्त्रित रुपमा सडक खन्दा केही वर्षमा भूक्षयको समेत जोखिम बढ्ने उहाँले बताउनुभयो । उहाँका अनुसार विकासका नाममा मेसिनले सडक खन्दा पानीका मुहान सुक्नुका साथै मजदुरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मर्कामा परेका छन् ।

चिन्तामा जेठो पुस्ता

टन्टलापुर घामको उखुम गर्मीमा झरना र कुवाको चिसो पानी पिउँदा बेग्लै आनन्द आउँथ्यो । आँतै हरर्र हुने गरेका ती दिनलाई सम्झँदै जेठो पुस्ता अहिलेको अवस्थाप्रति चिन्तित छन् । पहाडका कन्दराबाट रसाएर बग्ने पानीका झरना र कुवा अहिले सुक्दै गएपछि गर्मी सुरु हुनेबित्तिकै खानेपानीको अभाव भएको छ । वनजङ्गल, डाँडाकाँडामा जथाभावी डोजरले सडक खन्दा बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोप बढेका छन् भने गाउँ, बस्तीमा खानेपानीको अभाव हुन थालेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी चलेका डोजरले सडक निर्माण भएर यातायातको सुविधा विस्तार भए पनि पानीका मुहान सुकेपछि खानेपानी बोक्न सास्ती हुन थालेको बेनी नगरपालिका–२ का ८९ वर्षीय वेदप्रसाद उपाध्यायले बताउनुभयो । उहाँका अनुसार डोजरले वनजङ्गल, डाँडाकाँडा भत्काउँदै सडक खन्न थालेपछि थुप्रिएको माटोले म्याग्दीका विभिन्न स्थानीय तहमा रहेका खानेपानीका मुहान, झरना र कुवासमेत नासिएका छन् ।

“डोजरले जथाभावी सडक खन्दा पानीका प्राकृतिक मुहान सङ्कटमा परेको छन् । कुवा, झरना र जलुकेनी केही रहेनन्, डोजरले सबै सक्यो, यस्तै अवस्था भइरहने हो भने अबका केही वर्षमा नै खानेपानीको हाहाकार उत्पन्न हुन्छ”, उपाध्यायले भन्नुभयो, “बरु सडक घुमाउरो भए पनि केही हुँदैन तर पानीका मुहान भने बचाउन आवश्यक छ ।”

गाउँको सिरानमा रहेका पानीका मुहान सुकेपछि म्याग्दीका विभिन्न ठाउँका पुछारमा रहेका खोलाबाट लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण गरिएका छन् । लिफ्ट प्रविधिबाट अहिले म्याग्दीका बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका विभिन्न वडामा १८ वटा लिफ्ट प्रविधिका खानेपानी योजना निर्माण भइरहेको खानेपानी तथा सररफाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ ।

डोजरको रजगजले नासियो जल

डोजरका कारणले मालिका गाउँपालिका–५ देवीस्थानमा खानेपानीका मुहान सुकेका छन् । माईथान मन्दिर नजिकै रहेका चार वटा धारा र कुवामा पानी नहुँदा अहिले गाउँमा खानेपानीको समस्या भएको स्थानीय इन्द्रमति फगामीले बताउनुभयो । गाउँमा रहेका पानीका मुहान सुक्न थालेपछि खोलाको पानी पिउनुका साथै टाढा रहेका पानीका मुहानमा पानी लिन जानुपर्ने बाध्य रहेको उहाँको भनाइ थियो ।

“तीन–चार वर्षअघिसम्म कलकल बग्ने ढोडेनी खोलाको पानी अहिले सुकेको छ । माछा, भ्यागुता र चेपागाँडा कहिल्यै नटुट्ने यो खोला अहिले सुख्खा बगरमा परिणत भएको छ । खोलामा कमिला हिँड्न थालेका छन्”, बेनी नगरपालिका–१ अर्जमका तीलाबहादुर थापाले भन्नुभयो । जथाभावी डोजर चलाएर सडक खन्दा जमिन हल्लिएको र सडकको माटोले खोला पुरिएको उहाँको भनाइ छ । गाउँमा खानेपानीको हाहाकार भएपछि खोलाबाट लिफ्ट गरेर पानी तान्ने योजना निर्माण गर्नुपरेको मालिका गाउँपालिका–७ विमका बासिन्दाले बताएका छन् ।

“डोजरे विकासका कारण बेनी नगरपालिकाका पुलाचौर, रत्नेचौर, ज्यामरुककोट, सिङ्गा, छाप, घतान, पात्लेखेतलगायतका गाउँमा पनि खानेपानीमा मुहान सुकेका छन्”, वास्बोटकी यमुना आचार्यले भन्नुभयो । पानीको हाहाकार भएपछि गाउँबाट निकै टाढाको खोलाबाट गाग्रीमा पानी बोकेर गुजारा चलाउनुपरेको उहाँको भनाइ थियो । डोजरका कारण मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका हराभरा वन मासिन थालेपछि पानीका मुहान सङ्कटमा परेका स्थानीयले बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।