ताप्लेजुङमा पहिराले पुरिएर बेपत्ता भएको खोजी तीव्र,मोटर पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध

फुङ्लिङ, ३ असार (रासस) ः ताप्लेजुङमा शनिबार राति गएको पहिराले पुरिएर बेपत्ता भएकाहरूको खोजी तीव्र पारिएको छ । प्रहरीका अनुसार आज बिहान सबेरैदेखि बेपत्ता हुनेहरूको खोजी तीव्र पारिएको हो ।

निरन्तरको वर्षासँगै गए राति गएको पहिराले पुरिएर जिल्लाको सिदिङ्वा गाउँपालिका–६ मेहेले भालुखोपका एकै परिवारका तीनसमेत चार जना बेपत्ता भएका छन् । मेहेलेका स्थानीय यादव बुढाथोकीकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्जवल बेपत्ता भएका हुन् ।

यस्तै सोही स्थानका गणेश तामाङलाई पनि पहिराले बगाएर बेपत्ता भएको छ । बेपत्ता हुनेको अहिले खोजी सुरु भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटेको छ ।

यता वर्षाको क्रम निरन्तर रहेकाले पहिराले पुरिएर बेपत्ता हुनेको खोजी तथा अन्य जोखिममा परेकाको उद्धारको कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो । यद्यपि मौसम प्रतिकूल भए पनि बेपत्ता हुनेको खोजी र जोखिममा परेका परिवारको उद्धारमा सम्बन्धित स्थानीय तह तथा जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षाकर्मी खटिसकेको प्रजिअ चेम्जोङले बताउनुभयो ।

यसैगरी चार दिनदेखिको निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा बाढी पहिराले मानव बस्तीलाई जोखिम बनाएको छ भने ठाउँ–ठाउँमा भौतिक संरचनामा क्षति पुर्याएको छ । स्थानीयका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोपका प्रेमकुमार सेलिङसहितको तीन घर पहिराले बगाएको छ । त्यस्तै अन्य तीन घर उच्च जोखिममा परेको शिक्षकसमेत रहनुभएका स्थानीय चैतन्यप्रसाद बुडाक्षेत्रीले जानकारी दिनुभयो ।

यस्तै सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनमा स्थानीय जगतबहादुर राईको होटल (कटेज) काबेली खोलामा आएको बाढीले पुरेको छ । स्थानीय मनकुमार राईका अनुसार हाल याम्फुदिनका करिब १५ परिवार बाढीपहिराको उच्च जोखिमका कारण विस्थापित भई सुरक्षित स्थानमा रहँदै आएका छन् ।

त्यस्तै तमोर नदी र मैवाखोलामा आएको बाढीले मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजार पनि जोखिममा परेको स्थानीयले बताएका छन् । दोभान बजारका स्थानीय टङ्कप्रसाद खतिवडाका अनुसार तीनवटा घर उच्च जोखिममा परेको छ । मैवाखोला गाउँपालिका–६ फाकुम्बामा पनि केही घर पहिराको जोखिममा परेका स्थानीयले बताएका छन् । ताप्लेजुङको सदरमुकामसहित धरै क्षेत्रमा विद्युत्समेत अवरुद्ध भएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा स्वास्थ्यचौकी भवन, विद्यालय, सडक, मोटरेबल पुल, झोलुङ्गे पुललगायतका भौतिक संरचनामा समेत बाढीपहिराले क्षति गरेको प्रहरीले जानकारी दिएको छ । वर्षाका कारण शुक्रबारदेखि जिल्लामा बाढीपहिरो बग्न थालेको र बाढीपहिराले जनधनको क्षति पुर्याउन थालेको छ ।

अहिले वर्षा निरन्तर भइरहेकाले जिल्लाको सबैतिरको क्षतिको यकिन विवरण आइनसकेको प्रमुख जिल्ला अधिकारी चेम्जोङले बताउनुभयो । उहाँले स्थानीय तहसमेतको समन्वयमा प्रहरीले क्षतिको विवरण सङ्कलन गरिरहेको पनि जानकारी दिनुभयो । प्रजिअ चेम्जोङले वर्षाको क्रम निरन्तर रहेकाले बाढीपहिरोबाट हुने क्षति तथा सम्भावित जोखिमप्रति सचेत रहनसमेत जिल्लावासीलाई आग्रह गर्नुभएको छ ।

मोटर पुल बगाएपछि मेची राजमार्ग अवरुद्ध

मेची राजमार्गको ताप्लेजुङ–फिदिम खण्ड अवरुद्ध भएको छ । पाँचथरको हेवाखोलाको पुल बाढीले बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बाढीले पुल बगाएको जानकारी दिनुभयो । तमोर करिडोरका विभिन्न स्थानमा समेत बाढी र पहिराको प्रभाव रहेकाले समन्वय गरेर मात्र यात्रा गर्न उहाँले आग्रह गर्नुभएको छ । हेवाखोलाको पुल बगाएपछि मेची राजमार्गको ताप्लेजुङबाट फिदिम–इलाम हुँदै झापा निस्कने सम्पर्क टुटेको छ ।

प्रहरीका अनुसार इखोलामा रहेको बिबिएसल पुलसमेत पहिराले बगाएको छ । उता तमोरनदी र मैवाखोलामा बढेको पानीको बहावले नदी तटीय क्षेत्र दोभान बजार जोखिममा परेको छ । दोभान वारि–पारि हुने मोटरेबल पुल नजिक गएको पहिराले सडक अवरुद्ध गरेपछि आठराई–क्रिवेणी र मैवाखोला गाउँपालिकातर्फ जाने सडकको सम्पर्कबिच्छेद भएको डिएसपी लिम्बूले जानकारी दिनुभयो ।

यस्तै सिरिजङ्घा गाउँपालिका–४ तेल्लोकस्थित बाघथलाका धनबहादुर थेवेको घरलाई बीचमा पारि गएको पहिराले बाँधथलाबाट गाउँपालिकाको कार्यालयतर्फको क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ ।

विभिन्न क्षेत्रका जलविद्युत् आयोजनामा समेत बाढीपहिराले क्षति पुगेपछि गाउँघर अन्धकार बनेका छन् । रातभर ठूलो वर्षा भएको ताप्लेजुङमा बिहानदेखि केही सामान्य भएको छ । गए रातिको वर्षा, बाढी र पहिराले पुगेको क्षतिको थप विवरण प्रहरीले सङ्कलन गरिरहेकाले यकिन विवरण आउन बाँकी छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।