बजारसँग यातायात सम्पर्क विच्छेद, दैनिक उपभोग्य वस्तुको अभाव

ताप्लेजुङ (रासस) :बाढीपहिराले सडक यातायात अवरुद्ध हुँदा मैवाखोला गाउँपालिकामा खाद्यान्नलगायतका उपभोग्य वस्तुको अभाव सिर्जना हुन थालेको छ ।

नजिकको बजार दोभानसँग नै यातायात सम्पर्क विच्छेद भएपछि दैनिक उपभोग्य वस्तुको अभाव सुरु हुन थालेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । “मदन भण्डारी राजमार्गअन्र्तगतको माङ्माया खोलाको पुल बाढीले बगाउँदा, दोभान र फुङलिङ बजारसँग यातायात सम्पर्क टुटेको छ, वसन्तपुर गुफा सडकखण्ड पहिराले अवरुद्ध छ, गाउँघरमा खाद्यान्न लगायतका वस्तुको अभाव देखिन सुरु भयो, आकस्मिकरूपमा कोही बिरामी परेर कतै लैजानुपरेमा कुनै उपाय छैन”, अध्यक्ष वनेमले रासससँग भन्नुभयो । उहाँका अनुसार गाउँका आधा दर्जनभन्दा बढी पुल क्षतिग्रस्त छन् ।

मदन मण्डारी राजमार्गअन्र्तगत मैवाखोला २ र ३ जोड्ने मोटरेबल पुल पूर्णरूपमा बाढीले बगाएको छ । सोही गाउँपालिकाकै वडा नं ३ र ५ जोड्ने अर्को मोटरेबल कल्भर्ट बाढीले पूर्णरूपमा बगाएको छ । विभिन्न गाउँलाई जोड्ने चार झोलुङ्गे पुल र एउटा काठे पुल बाढीले क्षतिग्रस्त बनाएको छ । अहिले गाउँपालिकाको केन्द्रदेखि विभिन्न वडामा सवारी साधन ओहोरदोहोर ठप्प बनेको छ भने झोलुङ्गे पुल क्षतिग्रस्त हुँदा एक गाउँदेखि अर्को गाउँमा ओहोरदोहोरमा कठिनाइ छ ।

शनिबार रातिको बाढीले ती पुल क्षतिग्रस्त बनेका हुन् । “भएका पुल पुलेसा बाढीले बगाएपछि वरिपारि गर्न कठिन छ, दर्जनौँ परिवार विस्थापित छन्, उनीहरूसम्म तत्काल पुग्न सकिएको छैन, बल्ल तल्ल ओदकमा पहिरो पार गरेर पुगियो, यहाँका २१ परिवार विद्यालय र गुम्बामा बसेका छन्”, अध्यक्ष वनेमले भन्नुभयो । उहाँका अनुसार ओदक टोलका १० घर उच्च जोखिममा छन् भने ओदकसहितका विभिन्न क्षेत्रका २६ घर जोखिममा छन् । चारैतिरको बाटोघाटो र पुल पहिराले क्षतिग्रस्त हुँदा ओदक कुनै टापु जस्तै बनेको छ । यहाँका मानिस अन्यत्र जान सकिरहेका छैनन् ।

सडक सञ्चालनमा समय लागे गाउँपालिकाभित्र धेरै समस्या आइलाग्ने देखिएको अध्यक्ष वनेमले बताउनुभयो । अवरुद्ध वसन्तपुर, गुफा सडकखण्ड खोल्न गाउँपालिकाले सुरु गरेको छ । तर यसमा समय लाग्ने वनेमले बताउनुभयो । “वसन्तपुरतर्फको सडक खुल्न झण्डै हप्ता दिनसम्म लाग्ला, माङ्मायालगायत खोलामा पुल वा बेलिब्रिज नबन्दासम्म नजिकको बजार दोभान पुग्न कुनै विकल्प छैन, बेलिब्रिज राख्ने र सडक खुलाउने विषयमा विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ”, उहाँले भन्नुभयो । आधा दर्जन झोलुङ्गे पुल बाढीले क्षतिग्रस्त बनेपछि गाउँका सर्वसाधारणलाई आवतजावतमा समस्या छ ।

बाढीले मैवाखोला–४ को भालढुङ्गा, माङ्माया खोलाको, मेरिङदेन गाउँपालिका जोड्ने खार्ते खोलाको, माङ्माया खोला सत्तल छेउको झोलुङ्गे पुल क्षतिग्रस्त बनाएको छ । ती पुलबाट वारिपारि गर्ने उपाय छैन । नेरुवा खोलाको काठे पुल बाढीले बगाएको छ । उक्त पुल निर्माण नहुँदासम्म गाउँघरमा आवतजावत ठप्प जस्तै हुने अध्यक्ष वनेमको भनाइ छ । सानातिना खोला खोल्सामा काठेपुल निर्माण गरे पनि ठूला खोला खोल्सामा झोलुङ्गे पुलको विकल्प छैन । मानवीय क्षति नभएको यस गाउँपालिकामा करोडौँ मूल्य बराबरका संरचना क्षतिग्रस्त बनेका छन् ।

बाढीपहिराले यहाँका पाँच वटा सानातिन जलविद्युत् आयोजना ध्वस्त भएका छन् । केन्द्रीय प्रसारण लाइनका पोलसमेत ढलेकाले गाउँपालिका नै अन्धकारमय बनेको छ । बिजुली नहुँदा सर्वसाधारण अन्धकारमा बस्न बाध्य छन् भने सञ्चारविहीन बनेका छन् । “मोबाइल चार्ज गर्ने ठाउँ छैन, भए पनि टेलिफोनका टावर दिनमा दुई घण्टा चलेर बन्द हुन्छन्, बिजुली नहुँदा पालिका तथा वडा कार्यालयबाट प्रदान गर्ने कतिपय सेवा अवरुद्ध छन्”, अध्यक्ष वनेमले भन्नुभयो ।

मैवाखोला–३ मा पर्ने थेरथेरेमा केन्द्रीय प्रसारण लाइनको पोल पहिरोका कारण ढलेर केन्द्रीय प्रसारण लाइन अवरुद्ध बनेको हो । यस्तै छ वटा खानेपानी आयोजनामा क्षति पुग्दा मजुवा, ताम्राङ, साँघु बजार, तेम्बेलगायत दर्जनौँ बस्तीका मानिस खानेपानीको सुविधाबाट वञ्चित बनेका छन् । विभिन्न पाँच वटा सिँचाइ आयोजनाका मुहान, कुलोलगायतमा क्षति पुगेको छ । जसले खेतीपातीमा समस्या उत्पन्न हुनेमा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । बर्सातकै बेला समस्या नभए पनि एक दुई दिन घाम लागे धान खेतीमा सिँचाइ अभाव हुने किसानलाई चिन्ता छ ।

शनिबार राति मुसलधारे वर्षासँगै आएको बाढीपहिराले गाई भैँसीसहित दर्जनाँै पशुचौपाया बगाएको गाउँपालिकाले जनाएको छ । बाढीपहिराले सर्वसाधारण विस्थापित हुँदा र भएका दर्जनौँ संरचना क्षतिग्रस्त हुँदा पुनःस्थापना गर्न निक्कै कठिन हुने देखिएकाले समस्या समाधानमा प्रदेश र सङ्घीय सरकारले बजेटसहितका आवश्यक सहयोग गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष वनेमको भनाइ छ । जिल्लामा बाढीपहिरोमा परी तीनको निधन भएको छ भने पहिराले घर बगाउँदा बेपत्ता बनेका मेहेलेका एकै परिवारका तीन जना अझै फेला परेका छैनन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।