संरक्षण हुन छाड्यो रैथाने बाली

रामपुर (पाल्पा), १० असार (रासस)ःबजारमा आएका उन्नत जातका बीउको प्रयोगले परम्परागत बीउ पाउन मुस्किल परेको छ । परम्परादेखि नै लगाउँदै आएका अन्नबाली, तरकारी तथा फलफुलका बिरुवा हिजोआज किसानले लगाएको खासै देखिँदैन । छोटो समयमा धेरै उत्पादन लिन बजारमा आएका उन्नत तथा हाइब्रिड जातका बीउमा धेरैको आकर्षण बढेको छ । थोरै जग्गामा अन्नबाली, तरकारी, फलफूल लगाएर उत्पादन धेरै लिन किसानले रैथाने बाली लगाउन छाडेर उन्नत बीउ रोज्न थालेका हुन् । परम्परागतरूपमा लगाउँदै आइएका बाली क्रमशः हराउँदै गएको र हिजोआज उन्नत र हाइब्रिड सबैले प्रयोग गर्न थालेको रामपुरकी सीता देवकोटा बताउनुहुन्छ ।

“व्यावसायिकरूपमा खेती गर्न पुरानो जातका बीउले बढी उत्पादन लिन सकिँदैन, घरायसी प्रयोजनका लागि मात्रै खेती गरेर भएन” उहाँ भन्नुहुन्छ,“धान, मकै तथा तरकारीको खेतीमा नयाँ जातको बीउ नै लगाउने गरिएको छ” । उहाँले विगत एक दशयता तरकारी, धान, मकै, गहुँबालीमा उन्नत नै बीउ लगाउँदै आउनुभएको छ। स्थानीय जातको बीउ लगाउँदा लगानीअनुसारको उत्पादन लिन नसकिने कृषक देवकोटाको भनाइ छ । किसानले बजारका एग्रोभेटबाट नयाँ जातका बीउबिजन खरिद गरेर लगाउने गरेका छन् । गाउँ–गाउँमा एग्रोभेट खुलेपछि नयाँ जातका बीउबिजन खरिद गर्न सहज भएकाले स्थानीय जात हट्दै गएका हुन् ।
बाहिर बजारमा पुगेर बीउ खरिद गर्ने झण्झटले कतिपयले स्थानीय बीउ नै लगाउने गरेपनि पछिल्लो समय एग्रोभेटले नयाँ–नयाँ जातका बीउबिजन ल्याउन थालेकाले बीउ खरिद गर्न सजिलो भएको अगुवा किसान दिलबहादुर थापा बताउनुहुन्छ । उहाँले करिब दस रोपनी भाडामाको जमिनमा तरकारी लगाउँदै आउनुभएको छ । “जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्नेलाई स्थानीय जातको बीउ लगाएर हुदैन, स्थानीय जातमा धेरै रोगकीराले सताउने गर्दछ, बजारमा आएका नयाँ जातका बीउ बेला बेलामा खरिद गरेर तरकारी खेती गरिरहेको छु, उत्पादन राम्रै दिइरहेको छ” उहाँ भन्नुहुन्छ ।

स्थानीय जातका बीउ लगाउँदा मेहनत र लगानीअनुसारको उत्पादन लिन नसकिने तर उन्नतले उत्पादन वृद्धि र रोगकीरा पनि कम लाग्ने गरेको कृषक थापाको भनाइ छ । उहाँले हरेक वर्ष बिरुवा राख्नु अगावै कृषि प्राविधिकसँग सल्लाह लिएर नयाँ जातका बीउ लगाउँदै आउनुभएको छ । भण्डारण गरिएको गुणस्तरको बीउ पाइएपछि किसान यसतर्फ आकर्षित हुन थालेका हुन् । किसानले बर्सेनि एकै जातको भण्डारण नगरिएका धान, तरकारी बालीको बीउ प्रयोग गर्दा लगानी उठाउन समस्या परेको थियो ।

बजारमा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ, र फलफूलमा नयाँ जातको गुणस्तरको बीउ आएपछि खेती गर्न सहज र धेरै उत्पादन लिन पाइने भएपछि पुरानो जात छाडेर नयाँ जातको बीउ धेरैले प्रयोग गर्न थालेको रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “रैथाने बाली केही ठाउँमा बीउ जोगाउन छिटफुट मात्रामा लगाउने गरिए तापनि सबैले बर्सेनि नयाँ र उन्नत जातका बीउ प्रयोग गर्ने गरेको पाइन्छ, राम्रोसँग भण्डारण गरिएको गुणस्तरको बीउ पाइने हुँदा उत्पादन धेरै लिन पुरानो बाली छाडेर नयाँ जातका बालीमा किसान आकर्षित छन्” ।

अहिले धानबालीअन्तर्गत सावित्री, सावा मन्सुली, यू यस ३१२ च्यापियन, राजा गोरखनाथजस्ता जातका बीउ चलनचल्तीमा छन् । पाल्पाको दोस्रो खाद्यान्न बालीका रूपमा रहेको धान बाहिरबाट निर्यात हुँदै आएको छ । खेतीयोग्य जमिन घर घडेरीमा परिणत हुन थालेपछि उत्पादन घट्दै गएको कृषि प्राविधिक बताउँछन् । खेती गरिएको जमिनमा भने उन्नत जातको धान उत्पादन बढ्दो मात्रामा रहेको छ ।

थोरै जमिनमा धेरै उत्पादन लिने उद्देश्य राखेपनि स्थानीय र उन्नत जातको स्वादमा भने फरकपन हुन्छ । छोटो समयमा धेरै उत्पादन लिने उद्देश्यले स्थानीय जातका परम्परागत बीउ लोपहँुदै गएको हो । व्यावसायिक तवरले खेती सुरु गरिएकाले स्थानीयबीउबाट आर्थिक लाभ लिन नसकिने हुँदा मनग्य उत्पादन गर्न उन्नत बाली लगाउने गरिएको सम्बद्ध किसान बताउँछन् ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।