हलेसीमा भैँसी र बाख्रा वितरण

खोटाङ, १७ असार (रासस) :हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन नगरपालिकाले यस आवका लागि करिब रु तीन करोड बराबरको बजेटसमेत विनियोजना गरेको छ ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरेको छ । एघार वडा रहेको यस नगरपालिकाले ४४ जना किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ वटा बोयर जातको बोका वितरण गरेको छ ।

किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिएको नगरपालिकाले यसअघि दुई माउ भँैसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाका संयोजक सन्देश ताम्राकारले जानकारी दिनुभयो । संयोजक ताम्राकारका अनुसार नगरपालिकाको बाहुनीडाँडा, बडहरे, मङ्गलटार, महादेवस्थान र सल्लेमा दुई माउ भैँसी पाल्ने किसान पहिचान गरी माउ भँैसी किन्न किसानलाई नै रु एक–एक लाखका दरले नगद उपलब्ध गराइएको हो ।

नगरपालिकाको सर्शत अनुदानअन्तर्गत रु ७५ लाख बजेट ४४ जना किसानलाई भैँसी किन्न रु एक–एक लाख र भैँसीलाई गोठ बनाउन प्रतिकिसान रु २०–२० हजार प्रदान गरिएको छ । सर्शत बजेटभित्रैबाट भैँसी पाएका किसानलाई दिने गरी १० लिटरको ४४ वटा मिल्क क्यान (दूध लगाउने भाडा) खरिद गरिएको छ ।

किसानलाई वितरण गर्नकै लागि १३ वटा च्यापकटर मेसिन पनि नगरपालिकामा ल्याएर राखिएको जनाइएको छ । किसानले पालेका भैँसीबाट उत्पादित दूध सङ्कलन गर्न रु चार लाख बजेट दूध सङ्कलन केन्द्रलाई छुट्याइएको नगरपालिकाले जनाएको छ । किसानले उत्पादन गरेका दूध त्रिधार्मिकस्थल हलेसी बजारमा घरभाडामा लिएर दूध सङ्कलन केन्द्र स्थापना गरेर बिक्री गर्ने व्यवस्था मिलाइको जनाइएको छ । किसानले ल्याएका भैँसीमा कृत्रिम गर्भाधानसमेत गराएर उन्नत जातको पाडापाडी उत्पादन गर्ने लक्ष्य लिइएको नगरपालिकाले जनाएको छ ।

सोही रु ७५ लाख बजेटभित्रैबाट खानेपानीका लागि ३२ वटा हिलट्याङक ल्याएर नगरपालिकामा राखिएको जनाइएको छ । आवश्यकतानुसार किसानलाई हिलट्याङ्क वितरण गरिने नगरपालिकाले जनाएको छ । वैदेशिक रोजगारमा गएका परिवार, स्वास्थ्यको अवस्था कमजोर भएको परिवार, कृषि तथा पशु समूह, कृषि तथा पशुफार्म, कृषकको हकमा १५ माउभन्दा बढी बाख्रा भएका कृषकलाई बोयर जातको बोका वितरण गरिएको छ । बाहुनीडाँडामा आठ, डिकुवामा चार, च्यास्मिटारमा तीन, बडहरेमा तीन, दुर्छिममा सात, मङ्गलटारमा तीन, महादेवस्थानमा दुई, धितुङमा चार, अर्खौलेमा चार र राजापानीमा पाँचवटा बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

रोजगारीको खोजीमा विदेश जाने युवा जमात बढ्दै गएकाले यसलाई रोक्न व्यावसायिक कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो । “रोजगारीको खोजीमा युवापुस्ता दिनानुदिन विदेशिने क्रम बढ्दो छ । युवा जमातलाई रोक्न नगरपालिकाको तर्फबाट कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकामा त्रिधार्मिकस्थल हलेसीसमेत रहेको छ । हलेसी आउने पर्यटकका लागि समेत धान्ने गरी दूध र मासुमा आत्मनिर्भर बनाउने गरी किसानलाई कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरिएको हो ।”

नगरपालिकाले कृषि तथा पशुपालनमा अनुदानको व्यवस्था गरेसँगै अहिले हलेसी क्षेत्रका युवा व्यावसायिक कृषि तथा पशुपालनमा जुटेका छन् । यसअघिदेखि नै व्यावसायिकरूपमा पशुपालन गर्दै आएका किसान नगरपालिकाले अनुदानमा भैँसी, बोका तथा बाख्रा उपलब्ध गराएसँगै उत्साहित बनेका छन् । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थलसमेत रहेको नगरपालिकामा दूध र मासुमा आत्मनिर्भर बनाउने नगरपालिकाको कार्यक्रमलाई निकै महत्वमा साथ हेरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीड लाग्ने त्रिर्धामिकस्थल हलेसीमा अहिले दूध र मासु अभाव देखिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।