कान्द्रामा पुल बनेपछि हट्दैछन् भजनीका दुःख

भजनी, १९ असार (रासस) :कैलाली भजनी नगरपालिकाका भिक्कु थारु उमेरले ७६ पुग्नुभयो । आजसम्म उहाँको जीवन कान्द्रा नदीमा जोखिम मोल्दै डुङ्गा चलाएरै बित्यो । जीवनभर कहिले नदीमा हाम फालेर, कहिले डुङ्गाबाट त कहिले काठे पुलबाट नदी तर्नुभएक भिक्कु पुल बनेपछि भने सन्तानले आफूले जस्तो दुःख भोग्नु नपर्नेमा खुसी हुनुहुन्छ ।

“कान्द्रामा पक्की पुल बन्ला र जोखिम मोलेर नदी पार गर्नुपर्ने दिन हट्लान भन्ने हामीले सोचेकै थिएनौँ”, भिक्कुले भन्नुभयो, “हेर्दाहेर्दै यसपटक पुल बन्यो, अब कसैले अकालमा ज्यान गुमाउनु नपर्ने भयो ।”

विगतमा पुल नहुँदा कान्द्रा नदी पार गर्ने क्रममा कैयनले अकालमै ज्यान गुमाएको उहाँले सुनाउनुभयो । प्रत्येक वर्खामा पानीको बहावसँगै दुर्घटनाको जोखिम पनि बढ्थ्यो । यद्यपि निर्माण सुरु भएको १२ वर्षमा भए पुल बनेकोमा भने स्थानीय निकै खुसी छन् । बर्खाको समयमा नदीमा पानीको बहाव बढ्दा वारपार गर्न निकै कठिन हुँदै आएको थियो । सामान्य कामका लागि पनि भजनी बजार पुग्नुपर्ने बाध्यतामा कान्द्रा नदी पार गर्नु कठीन हुने गरेको उहाँको अनुभव छ ।

“पुल बनेर कान्द्रको डुङ्गा विस्थापित होला भनेर सोचिएकै थिएन, लामो समयको पर्खाइपछि आज डुङ्गा विस्थापित भयो”, स्थानीय प्रकाश चौधरीले भन्नुभयो, “निर्माण सुरु भएपछि अलपत्र परेको पुल बन्ला भन्ने आशा पनि मरिसकेको थियो ।”

स्थानीय कविता देवकोटा पुल निर्माणसँगै सडक निर्माण पनि भइदिए स्थानीयलाई सहज हुन्थ्यो भन्नुभयो । “भजनी नगरपालिका वडा नं ५ र ७ का स्थानीयका लागि भजनी बजार आउजाउ गर्न नदी तर्नैपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “यसका लागि प्रत्येक पटक रु ४० खर्चनु पर्दथ्यो भने पैसा पनि जोगिने भयो र जोखिम पनि कम हुने भयो ।”

भजनी नगरपालिकाका प्रमुख केवल चौधरीले १२ वर्षदेखिको भजनीवासीको सपना पूरा भएको प्रतिक्रिया दिनुभयो । “पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म पुर्‍याउन निकै सहज भएको छ । यसले किसानको आर्थिक गतिविधि पनि बढ्ने देखिन्छ”, उहाँले भन्नुभयो, “पुल बनेपछि हुलाकी राजमार्गबाट यात्रा गर्नेलाई पनि सहज भएको छ । यो भजनीको विकासमा ठूलो फड्को हो ।”

एकसय मिटर लामो यो पुल निर्माणका लागि विसं २०६८ जेठमा ठेक्का सम्झौता भएको थियो । तत्कालीन समयमा डिजाइन परिवर्तनका कारण निर्माण ढिलाइ भएको निर्माण कम्पनी बिरुवा/लामा/शेर्पा साल्पा जेभीको दाबी छ । कम्पनीले रु तीन करोड ४५ लाख २० हजार लागतमा पुल निर्माणको जिम्मा पाएको थियो ।

“पुलबाट आवागमन सुरु भइसकेको छ, बाँकी गर्नुपर्ने कामका लागि कम्पनीलाई भनिरहेका छौँ”, हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी दीपक सुनारले भन्नुभयो, “पुल निर्माणको ९५ प्रतिशत काम सकिएको र पुलमा रेलिङ र आसपासमा ग्राभेल बिछ्याउने काम बाँकी छ ।”

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।