घरबासले बदलिँदै बोटे समुदायको जीवनशैली

– कृष्ण आचार्य
भरतपुर, २० असार (रासस) : जल, जमिन र जङ्गलमा आश्रित चितवनको माडीका बोटे समुदाय अहिले आफ्नो घरबास (होमस्टे)मा आउने पाहुनालाई स्वागत गर्न व्यस्त छन् । बोटे समुदायको पुर्खौली पेसा खोलामा माछा मार्ने र डुङ्गा चलाउने भए पनि अहिले घरबास सञ्चालन गरेर जीवनशैली परिवर्तन गरिरहेका छन् ।

माडी नगरपालिका–१ वनकट्टा बोटे टोलमा आउने पर्यटकलाई यहाँका बोटे समुदायले आफ्नो संस्कृतिअनुसार ‘बिन्ती बाटी’ (मान्यजन तथा पाहुनालाई गरिने सम्मान) गरेर पाहुनालाई स्वागत गर्दछन् । घरबास सञ्चालन गरेपछि उनीहरुलाई बिन्ती बाटीसँगै बोटे होमस्टेमा आउने पाहुनाको स्वागत गर्न भ्याइनभ्याई छ ।

माडी नगरपालिका–१ की रीताले बोटे हिजोआज कामका लागि खोलानाला र वनजङ्गल जानु नपरेको बताउनुभयो । घरबासमा आउने पाहुनाको स्वागत, सत्कार र मीठा परिकार बनाउने काममा दैनिकी बित्ने गरेको भन्दै उहाँले अब दुःखका दिन क्रमशः हट्दै गएको बताउनुभयो । “गुजारा चलाउनका लागि माछा मार्न जाने, जङ्गलमा घाँस–दाउरा खोज्ने र निहुरो टिप्ने काम गर्नुपथ्र्यो”, उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण परिवारसहितको जीवन चलाउन धौ–धौ थियो, घरबास सञ्चालनमा आएपछि अहिले जीविकोपार्जनमा सहज भएको छ ।”

रीताको मात्र होइन गाउँका अन्य महिलाको पनि अहिले घरबासको व्यवस्थापन र पाहुनाको स्वागतसत्कारमा दैनिकी बित्ने गरेको छ । बोटे टोलका फुलमाया बोटेले घरबास सञ्चालनबाट आएको रकमले जीवनमा परिवर्तन ल्याएको बताउनुभयो । “यहाँबाट हुने आयआर्जनले छोराछोरीलाई विद्यालय पढाउने, घरव्यवहार चलाउनेलगायत काममा खर्च गर्न धेरै सजिलो भएको छ”, उहाँले भन्नुभयो ।

बोटे सामुदायिक होमस्टेका कोषाध्यक्ष जगनारायण बोटेले विसं २०७५ मा निर्माण सुरु गरेर विसं २०७७ देखि घरबास सञ्चालनमा ल्याएको बताउनुभयो । “चितवन राष्ट्रिय निकुञ्जले जनचेतनामूलक कार्यक्रम गरेपछि घरबास निर्माणमा लागेका हौँ”, उहाँले भन्नुभयो, “पहिला वन्यजन्तुबाट पीडित बनेका हामी अहिले वन्यजन्तु देखाएर पर्यटक भित्र्याउने गरेका छौँ ।” उहाँले निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमार्फत दिगो जीविकोपार्जनसम्बन्धी तालिम लिएको घरबास सञ्चालन गरिएको जानकारी दिनुभयो ।

माडीको रिउ नदी तरेपछि मूल सडकको सेरुवा गेटबाट एक हजार पाँच सय मिटरको दूरीमा पश्चिमतर्फ लागेपछि बोटे सामुदायिक घरबास पुगिन्छ । घरबास बनाउन माडी नगरपालिका, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समिति, तराई भूपरिधि कार्यक्रम (ताल)ले आर्थिक सहयोग गरेका छन् । रू १० लाखभन्दा बढी खर्च गरेर सुविधासम्पन्न दुईकोठे होमस्टे बनाइएको छ । सो क्षेत्रमा १२ वटा होमस्टे सञ्चालित छन् ।

यहाँका होमस्टेमा एक रातमा ६० जनासम्म अटाउने कोषाध्यक्ष जगनारायणले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ आउने पाहुनालाई हाँसका विभिन्न परिकारका साथै स्थानीय उत्पादन साग, निहुरोको तरकारी, माछाको आचार, घोंगी, बाँसको तामाको चोखाजस्ता स्थानीय र आफ्नो जातिसँग जोडिएका परिकार खुवाउने गर्दछन् ।

“होमस्टेमा बसेका पाहुनालाई मनोरञ्जन दिन नाचगानलगायत सांस्कृतिक कार्यक्रम हुन्छ । सोहोर्ना, जगिया, गोलेनी, सोल्टी–सोलोटना, सोरठी, मारुनीलगायत कला र नाच प्रदर्शन गरिन्छ”, जगनारायणले भन्नुभयो । उहाँका अनुसार जगिया, सोहोर्ना, गोलेनी बोटे समुदायको परम्परागत संस्कृति झल्कने नाँच हुन् ।

घरबास खुलेपछि बोटेको लोपोन्मुख संस्कृति संरक्षणमा टेवा पुगेको कोषाध्यक्ष जगनारायणको भनाइ थियो । पाहुनालाई होमस्टेबाट पाँच सय मिटर पर रहेको गोद्दकनाथ मन्दिर, एक किलोमिटर पर रहेको पाँचपाण्डव, डेढ किलोमिटर पर रहेको अष्टशिव लिङ्ग, चार किलोमिटर पर रहेको परशुराम कुण्डसम्म भ्रमण गराउने गरिएको उहाँले बताउनुभयो ।

घरबासको अझै प्रचार–प्रसार गर्न सके आन्तरिक र बाह्य पर्यटक अझै बढ्ने जगनारायणको भनाइ थियो । यस अवधिमा पाँच हजार बढीले घरबासबाट सेवा लिएको भन्दै उहाँले काठमाडौँ, पोखरालगायत स्थानबाट यहाँ पर्यटक आउने गरेको बताउनुभयो । “कतिपय चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने विदेशी पनि आएका छन्”, उहाँले भन्नुभयो, “पहिचान झल्कने घर र संस्कर–संस्कृतिले उहाँहरुलाई आकर्षित गरेको छ ।”

होमस्टे सञ्चालनमा आएपछि स्थानीयले तरकारी खेतीसँगै कुखुरा, हाँस, बाख्रा र माछापालनलाई व्यावसायिक बनाउन थालेका छन् । गाउँमा समूह गठन गरेर रकम सङ्कलन गर्ने र व्यवसाय गर्न चाहनेलाई छ प्रतिशत ब्याजमा ऋणसमेत दिने व्यवस्था गरिएको छ । यसले लघुवित्तको समस्याबाट यहाँका बासिन्दाले छुटकरा पाउँदै जान थालेको तराई भूपरिधि कार्यक्रम (ताल)का कार्यक्रम संयोजक प्रेम पौडेलले बताउनुभयो । उहाँले कार्यक्रममार्फत स्थानीयलाई विभिन्न आयआर्जनका काममा सहयोग गरिरहेको बताउनुभयो ।

पाँचपाण्डब मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष नारायण सापकोटाले घरबास निर्माणका लागि मध्यवर्तीले पनि आवश्यक सहयोग गरेको बताउनुभयो । उहाँले घरबास निर्माणपछि यहाँका बोटे समुदायका मानिस जङ्गल जाने क्रम कम भएको र मानव–वन्यजन्तुबीचको द्वन्द्व पनि कम भएको बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना मध्यवर्ती क्षेत्रका नगरिकको जीविकोपार्जन र आयआर्जनलाई व्यवस्थित बनाउन घरबासले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले निकुञ्जसँग जोडिएका बस्तीका आदिवासी र पछाडि परेका समुदायलाई घरबासमार्फत आयआर्जन सिर्जना गर्नका लागि निरन्तर सहयोग गरिने बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।