वैदेशिक रोजगारीले युवाविहीन बन्दै गाउँघर

नवलपुर, २१ असार (रासस) : वैदेशिक रोजगारीका लागि विदेश जाने युवा जनशक्ति बढेसँगै गाउँघर युवाविहीन बन्दै गइरहेका छन् । युवावर्ग शिक्षा तथा वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्दै जाँदा गाउँमा बालबालिका र ज्येष्ठ नागरिकमात्रै देखिन थालेका छन् ।

नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाको ग्रामीण क्षेत्रबाट प्रतिपरिवार कम्तीमा एकजना वैदेशिक रोजगारमा गएका स्थानीयवासी बताउँछन् । मध्यविन्दु–३ का अगुवा गुणराज पौडेलले स्थानीय युवा १८ वर्ष पुगेपछि राहदानी बनाएर विदेश जाने तयारीमा लाग्ने गरेका बताउनुभयो । “यहाँका युवाहरु १८ वर्ष पुग्ने वित्तिकै वैदेशिक रोजगारमा जानका लागि पासपोर्ट बनाउँछन्” उहाँले भन्नुभयो, “सक्ने १२ पास गरेपछि अध्ययनका लागि भन्दै विदेश जान्छन्, नसक्नेहरु पासपोर्ट बनाएर मेलेसिया, कतारलगायत खाडी मुलुकतिर जाने गरेका छन् ।”

कुनै आकस्मिक काम परेर युवा खोज्दा गाउँमा युवा भेटाउनै मुस्किल हुने गरेको पौडेलले गुनासो गर्नुभयो । “नगरपालिकाभित्र पर्ने भए पनि पिछडिएको क्षेत्र भएकाले यहाँबाट कमाउनका लागि विदेश जाने युवा धेरै छन्” उहाँले भन्नुभयो, “वैदेशिक रोजगारमा जाने क्रम रोकिएन भने गाउँमा मलामी जाने युवाको समेत अभाव हुने सम्भावना देखिएको छ ।” वैदेशिक रोजगारमा नगएका युवा पनि अध्ययन तथा अवसरको खोजीमा जिल्ला बाहिरका सहरमा जाने गरेकाले गाउँमा युवाहरु भेटाउनै मुस्किल हुने गरेको पौडेलले बताउनुभयो ।

स्थानीय ६० वर्षीय फणिन्द्रदेवी उपाध्यायका दुई छोरामध्ये दुवै वैदेशिक रोजगारमा हुनुहुन्छ । “एउटा छोरा साउँदीमा छ, अर्को थाइल्याण्डतिर व्यवसाय गरेर बसेको छ” उहाँले भन्नुभयो, “स्वदेश फर्किएर केही गर् भन्दा नेपालमा केही गर्ने वातावरण नै छैन भनेर फर्किएका छैनन् ।” अहिले आफूसहित घरमा एउटी बुहारी र साना नातिनातिना मात्रै बस्ने गरेको उहाँले बताउनुभयो ।

“बूढेसकालको साहारा बन्लान् भनेर छोराछोरी पाल्यो, हुर्कायो, बढायो तर उनीहरु घर बाहिरै गएर रमाउने भए” उपाध्ययले भन्नुभयो, “दुई तीन वर्षमा आउँछन् । आउने वित्तिकै जान हतार हुन्छ, गइहाल्छन् ।” उहाँका अनुसार गाउँबाट एउटै परिवारका तीन–चार जनासम्म युवा वैदेशिक रोजगारीका लागि तेस्रो मुलुक गएका छन् ।

गाउँबाट रोजगारीका लागि भारतमा जाने युवाको सङ्ख्या कति छ भनेर कुनै तथ्याङ्क नै नभएको स्थानीय बताउँछन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार यस नगरपालिकाबाट सात हजार भन्दा बढी मानिसहरु वैदेशिक रोजगारका लागि गएका छन् । मध्यविन्दु नगरपालिकामा १५ हजार चार ३० परिवार रहेकामा सात हजार ६ सय ३९ जना मानिस वैदेशिक रोजगारमा गएका तथ्याङ्कले देखाएको छ । राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार पनि औषतमा प्रति दुई परिवारमा एक जना वैदेशिक रोजगारमा जाने गरेको देखिएको छ ।

वैदेशिक रोजगारमा जाने मानिसमध्ये १५ वर्षदेखि २४ वर्ष उमेर समूहका मानिस धेरै देखिएका छन् । यस उमेर समूहका तीन हजार पाँच सय ९८ युवा रोजगारीको सिलसिलामा नेपाल बाहिर रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । युवा उमेर मानिने १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका छ हजार नौ सय ९७ जना युवा मध्यविन्दु नगरपालिकाबाट वैदेशिक रोजगारमा गएका विभागले जनाएको छ ।

युवाहरु विदेश पलायन हुँदा मुलुकको चौतर्फी विकासमा असर पर्ने मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले बताउनुभयो । “अहिले मुलुक नवनिर्माणको अभियानमा छ । यसबेला देशमा दक्ष र प्राविधिक जनशक्तिको खाँचो छ” उहाँले भन्नुभयो, “तर, प्रतिभा पलायनले गर्दा दक्ष जनशक्तिको अभाव छ । मुलुक निर्माणको महाअभियानमा युवालाई विकासको साझेदार बनाउनुपर्छ ।”

युवाको ज्ञान, सीप, सिर्जनशीलता र ऊर्जा राष्ट्र निर्माणमा लगाउन सके मात्र विकास सम्भव भएको नगरप्रमुख अधिकारीले बताउनुभयो । हरेक वर्ष ठूलो सङ्ख्यामा यसवा शक्ति वैदेशिक रोजगारीमा जानु दुःखद् भएको उहाँको भनाइ थियो ।

“युवा विदेश जाने बढ्दो क्रम रोक्न स्वदेशमै रोजगारीको ग्यारेन्टी, सबै खालका श्रमको सम्मान र समाजिक सुरक्षाअन्तर्गत बेरोजगारलाई बाँच्न पुग्ने भत्ताको व्यवस्था गर्नु आवश्यक छ” नगरप्रमुख अधिकारीले भन्नुभयो, “यसका लागि तीनै तहको सरकारका साथै मुलुकका उद्योगी व्यवसायीको सहकार्य आवश्यक छ ।” पालिकाले वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्थानीयस्तरमै स्वरोजगार बनाउनका लागि सहुलित ऋण उपलब्ध गराउनुका साथै आवश्यक तालिम प्रदान गरिरहेको उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।