जोखिम मोलेर खेती गर्न बाध्य छन् बिरुवाफाँटका कृषक

गण्डकी, २६ असार (रासस) :“रोपाइँका लागि हातेट्र्याक्टरले हिलो सम्याउँदै थिए । कोदालीले छेउकुनाको माटो तान्दै गर्दा अचानक पैतालामा केही वस्तुले कोपेपछि हिलोमै लडेँ ।” यो दुःखेसो हो पोखरा महानगरपालिका वडा नं १७ महतगौडाको झौरीखेतमा धान रोपाइँका लागि खेतको तयारीमा जुट्ने क्रममा घाइते भएका ५७ वर्षीय कृषक राजु भण्डारीको ।

दिनभरिको हिलो र पानी खेल्ने क्रममा नरम भएको पैतालामा जोखिमयुक्त फलामे वस्तु गढेपछि दुःखाइ सहन नसकेर उहाँ हिलोमा लड्नुभएको हो । भित्रसम्म गढेको उक्त वस्तु निकाल्न बल प्रयोग गर्नुपरेको जनाउँदै घाइते भण्डारी भन्नुभयो, “टिटानसको सुई लगाएर अहिले औषधि खाँदै घरमै आराम गरेको १५ दिन भयो ।”

यस्तै भोगाइ छ कृषक ऋषिराम भण्डारीको । उहाँले भन्नुभयो,“ बिरुवाफाँटको पिपलतरामा खेत रोप्ने क्रममा अचानक खुट्टाको पैतालामा चसक्क गर्यो हेर्दा सिसा गढेको रहेछ । उपचारमा खर्च पनि भयो, निको हुन समयसमेत निकै लाग्यो । फेवा सिँचाइ नहरमा पानीसँगै पृथ्वीमा उत्पादन भएका सम्पूर्ण वस्तु बगेर आउने गरेकाले कतिखेर के हुन्छ भन्नै सकिँदैन ।”

“अरुले गरेको गल्तीको सजाय कृषकले भोग्नुपर्ने यो कस्तो विडम्बना हो”, उहाँले थप्नुभयो, “मानव स्वास्थ्य र उत्पादनमा समेत असर गर्ने फोहर व्यवस्थापनाका लागि महानगरपालिकाले बेलैमा सोच्नु पर्दछ ।” फोहरको जोखिमसँगै पछिल्ला केही वर्ष फाँटमा तालबाट फेवा नहरमा बगेर आएको जलकुम्भी झारले समेत दुःख दिने गरेको छ । खेतमा पसेको झार निकाल्दा दुई दिनसम्म शरीर चिउने गरेको उहाँको भनाइ छ । जलकुम्भी झारसँगै आउने फोहरले धानखेतीलाई समेत पुरेर क्षति पुर्याउने गरेको छ ।

यी कृषकहरू प्रतिनिधि पात्रमात्र हुन् पोखरा र आसपासमा बचेखुचेका फाँटमा काम गर्ने कृषक वा कृषि मजदुरको हात तथा खुट्टामा चोट नलागेको भेट्न पाइँदैन । बिहान खाना खाएर काममा गएका मजदुर घाइते भएर अस्पतालसम्म पुग्ने गरेका छन् । धानखेती गर्दा मात्र होइन, पशुको लागि घाँस काट्दासमेत घाइते हुनुपरेको कृषकको भनाइ छ ।

पोखरा बजारको ढल विरौटामा आएर बिरुवा फाँटको सिँचाइ फेवा नहरमा सिधैँ जोडिएका कारण नालामा बगेर आउने फोहरसँगै जोखिमयुक्त विषाक्त वस्तु फाँटमा आउने गर्दा कङ्क्रिट बस्तीको बीचको खाली जग्गा यतिखेर डम्पिङसाइटमा परिणत हुँदै गएकामा यस क्षेत्रका बासिन्दा चिन्तित बनेको छन् ।

पोखरा महानगरपालिका–१७ वडाध्यक्ष राधिका शाही योगीका अनुसार पोखराका मुख्य बजारका फोहर यस वडामा आउने गरेको बताउँदै नियन्त्रणका लागि जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ । “महानगरले फोहर वर्गीकरणलाई पहिलो प्राथमिकता दिँदै आएको छ”, उहाँले भन्नुभयो, “सचेत नगरवासीले कुहिने र नकुहिने फोहर छुट्याएर तल्लो भागमा हुने जोखिम न्यूनीकरणमा सहयोग गर्नु अपरिहार्य छ ।”

जोखिमयुक्त क्षेत्रमा गमबुट, पञ्जालगायतका सुरक्षा सामग्रीको प्रयोग गर्न कृषक वर्गलाई अनुरोध गर्दै उहाँले पोख्रेलीले फोहरको उचित व्यवस्थापन गर्न सकेमात्र पनि कृषक सुरक्षित तवरले कृषि पेसामा लाग्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विशेषगरी लागु पदार्थका दुव्र्यसनी लुकीछिपी बस्ने र प्रयोग गरेका सिरिन्ज जथाभावी फालिदिँदा वातावरणसँगै मानवीय स्वास्थ्यमा समेत गम्भीर समस्या सिर्जना हुने गरेको उहाँको भनाइ छ ।

“खेतका प्रत्येक गरामा होस् वा बाटोमा फोहरसँगै फलामका टुक्रा, तार, सिरिन्ज, फुटेका सिसाका टुक्रा, बोत्तलले भरिएका छन्”, उहाँले भन्नुभयो, “जोखिम बढेसँगै खेतमा धान रोप्नभन्दा बाँझै राख्न किसान बाध्य छन् ।” धानमध्येको अव्बल मानिने जेठोबूढो झुल्ने पोखराका अधिकांश फाँट यतिखेर खुम्चिँदै गएका छन् भने नहरमा आउने फोहरको व्यवस्थापन नहुँदा खेतमा काम गर्ने अधिकांश कृषकमा थप जोखिम बढेको स्थानीय बताउँदछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।