छतमा पक्षीपालन गर्दै उमाकुमारी

–सुशीला रेग्मी
रामपुर (पाल्पा), २६ असार (रासस) : मेहनत र जाँगर भयो भने गरिखान प्रशस्त जग्गा पनि नचाहिदो रहेछ । मानिसमा इच्छाशक्ति भए खेतबारी नभए पनि कृषि तथा पक्षीपालन व्यवसायबाट मनग्य कमाइ गर्नका लागि उमाकुमारी श्रेष्ठ समाजमा उदाहरणीय बन्नुभएको छ।

पाल्पा रामपुर नगरपालिका– ५ स्थित बेझाड बजार निवासी उहाँले तीनतला घरमाथिको छतमा पशुपक्षीपालन व्यवसाय सञ्चालन गर्नुभएको हो । उमाकुमारीले छतमा स्थानीय जातका कुखुरा, कालिज, लौकाट, बट्टाईजस्ता पक्षीपालन गरिरहनुभएको छ । “ठूलो सङ्यामा यो व्यावसाय छतमा सुरु गरेको दुईवर्ष भयो । व्यवसाय गर्ने हो भने जग्गा जमिन नै चाहिदैन, जाँगर र मेहनत भयो भने घरका छत, करेसाबारी सदुपयोग गरेर पनि कमाइ गर्न सकिन्छ” उहाँले भन्नुभयो,“मैले बेझाड बजारको तीन तलामाथिको छतमा पक्षी व्यवसाय र तरकारी खेती गरिरहेको छु, उत्पादन पनि राम्रै भइरहेको छ ।”

हाल उमाकुमारीको घरमा स्थानीय जातको कुखुरा एककिलोदेखि डेढकिलोसम्म चार सयवटा, ठूला एक सयवटा (चल्ला उत्पादनका लागि, अण्डा दिने), कोइलर कुखुरा चल्ला उत्पादनका लागि ५० वटा, कालिज ठूलो माउ पाँच र साना बच्चा ३०, लौकाट पाँचवटा माउ र चल्ला १५ वटा, बट्टाई तीनवटा माउसहित एक सय ५० रहेको छ ।

स्थानीय जातको कुखुरा प्रतिकिलो रु आठसय, ब्रोइलर कुखुरा प्रतिकिलो रु पाँच सय, कालिज भाले रु दुई हजार पाँच सय र पोथी रु दुई हजार, लौकाट रु एक हजार, बट्टाई रु दुई सयमा बिक्री भइरहेको उहाँले बताउनुभयो । बजारमै व्यवसाय भएकाले बिक्रीका लागि समस्या नभएको हुँदा पक्षीपालनलाई जोड दिइएको हो । चल्ला उत्पादन गर्ने र बिक्री गर्ने मुख्य उद्देश्य लिएर व्यवसाय थालनी गरिएको उमाकुमारीको भनाइ थियो।
आफ्नै घरमा ह्याचरी मेसिन बाट चल्ला उत्पादन गरी उहाँले बिक्री गर्दै आउनुभएको छ । एक महिनामा चार सय चल्ला बिक्री हुने गरेको छ । स्थानीयस्तरमा नै चल्ला खपत भइरहेको छ । छतमा गरिएको यस व्यवसायबाट वार्षिकरूपमा रु पाँच लाख बराबरको आम्दानी हुँदै आएको छ ।

“घरमै ह्याचरी मेसिन राखेर चल्ला उत्पादन गर्न थालिएपछि धेरै फाइदा हुँदोरहेछ, घरको छतभरी कुखुरा, कालिज, लौकाट, बट्टाईमध्ये कोही बिक्री गर्न लायकका छन् भने केही चल्ला हुर्कदैछन्, केही जन्मने बेला भएका छन्, यो देख्दा धेरै रमाइलो लागिरहेको छ” उमाकुमारीले भन्नुभयो ।

ह्याचरी मेसिनबाट चल्ला उत्पादन गर्नुअघि उहाँले काठमाडौँबाट चल्ला खरिद गरेर व्यवसाय चलाउनुहुुन्थ्यो । बाहिरबाट चल्ला खरिद गरेर व्यवसाय चलाउँदा खासै फाइदा नभएपछि घरमै ह्याचरी मेसिन ल्याएर चल्ला उत्पादन गरी बिक्री गर्दा धेरै फाइदा हुने गरेको उमाकुमारीको भनाइ थियो। उहाँले खाली समय सदुपयोग गर्न इन्टरनेटको सहायताबाट अध्ययन गरेर व्यवसाय सुरु गरेको बताउनुभयो ।

यस व्यवसायबाट धेरै सन्तुष्ट रहनुभएकी उमाकुमारीले पक्षीको मल सदुपयोग गर्न घरको आडैमा रहेको रामतुलसी नमुना माविको पाँच रोपनी जग्गा भाडामा लिएर तरकारी, धान, मकैलगायत बाली लगाउँदै आउनुभएको छ । छतका छेउमा कुरिलो, खुर्सानी खेती पनि छ । चारवर्ष अघिदेखि रामपुरमा उहाँले पहिलो व्यवसायीका रुपमा एक सयवटा बट्टाईपालन सुरु गर्नुभएको थियो । बट्टाईबाट आम्दानी राम्रो हुने सम्भावना देखेपछि छतमा खोर विस्तार गरी कुखुरा, लौकाट, कालिज पनि व्यावसायिकरूपले पाल्न थालिएको उमाकुमारीले बताउनुभयो ।
विसं २०५५ मा रम्भा गाउँपालिका–५ वीरकोटबाट रामपुरको मुख्य बजार बेझाड बजारमा किराना व्यापार गर्न साथमा रु १५ हजार रकम लिएर आउनुभएकी उहाँले अहिले आएर धेरै सफलता हात पार्नुभएको छ । आफ्नो मेहनत, जाँगर र सीपले उमाकुमारीले बेझाड बजारमा तीन तलाको घर खरिद गर्नुुभएको छ भने तीन छोराछोरीलाई काठमाडौँमा राखेर उचित शिक्षा दिदै आउनुुभएको छ ।
“श्रीमान् परदेशमा साना बालबच्चा काखमा लिएर आयआर्जन गर्ने अभिलाषा बोकेर रामपुर बजार आएँ, रामपुर आउन परिवार र आफन्तले साथ दिएका थिएनन्। , मेरो जोडबलले केही गर्नुपर्छ भन्ने उद्देश्यले यहाँ आएको र अहिले राम्रै गरेजस्तो लाग्छ” उहाँले सुनाउनुभयो ।

एसएलसी उत्तीर्ण हुनुभएकी उमाकुमारीको अहिले रामपुरका विभिन्न सामाजिक सङ्घ संस्थामा सक्रियता पनि उत्तिकै छ । रामपुर झरेपछि लामो समयसम्म किराना पसल गर्नुभएकी उहाँ अहिले परदेशमा रहनुभएका श्रीमान् घर फर्केपछि आफ्नै घरमा होटल व्यवसायसमेत चलाउनुभएको छ । आफ्नै कमाइमा रमाउन पाउँदा ज्यादै गर्व लागेको उमाकुमारीले बताउनुभयो ।

उहाँले पक्षीपालन व्यावसायमा रामपुर नगरपालिकाबाट दुईवर्ष अघि युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रु दश लाख बराबरको ब्याज अनुदान पाउनुभएको थियो ।

नगरपालिकाको व्याज अनुदान कार्यक्रममा छनोट भएपछि उमाकुमारीले रामपुर– ८ मा कुखुरापालन गर्नुभयो । सो व्यवसाय घरबाट रेखदेख गर्न जान टाढा भएपछि इन्टरनेटमा पनि घरको छतमा पक्षीपालन गरेको देखेपछि छतमा नै व्यावसाय चलाएको बताउनुभएको हो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।