हेंवाले बहाव बदल्दा तटीय क्षेत्रमा जोखिम

पाँचथर, २८ असार (रासस) : यस वर्षको वर्षायामको सुरुआतमै हेंवा खोलामा आएको बाढीले तटीय क्षेत्र तहसनहस भयो ।

बाढीले तटीय क्षेत्रका सबै संरचना, बालीनाली तथा पूर्वाधारमा क्षति पु¥याएपछि जनजीवन असामान्य बनेको छ । चार वटा मोटरेवल पुल बगाएको हेंवा खोलाले तटीय क्षेत्रमा रहेको हजारौँ रोपनी खेतीयोग्य जमिनलाई खण्डहरमा परिणत गरेको छ तर त्योभन्दा मुख्य कुरा हेंवा खोलाले ठाउँ–ठाउँमा बहाव बदलेको छ । यसले तटीय क्षेत्रमा जोखिम बढाएको छ ।

हिलिहाङ गाउँपालिकाको हेंवा खोलाको तटीय क्षेत्रमा कृषि उत्पादन र पशुपालन गर्दै आउनुभएका भवानी योक्पाङ्देन तटीय क्षेत्र जोखिमपूर्ण बनेको बताउनुहुन्छ । “बाढी आउनुअघि ठूलो बगर थियो । फिजारिएको खोलामा बाढी आइहाल्दा पनि डराउनुपर्ने अवस्था थिएन”, योक्पाङ्देनले भन्नुभयो, “अहिले बाढीले सबै बगर पुरेको छ भने खोला गहिरिएर गएको छ ।” गहिरिएको खोलाले सानो बाढी आउँदा पनि बगर छिचोल्ने डर तटीय क्षेत्रका बासिन्दाको छ ।

विगतमा रहेकोभन्दा बाढी आएपछि खोलाले बहाव यत्रतत्र बदलेको छ । जसकारण पानीको मात्रा बढ्नासाथ बहाव बदलिएर बस्तीसम्म पस्ने खतरा कायमै रहेको योक्पाङ्देनको चिन्ता छ । “बर्खा सुरु मात्रै हुँदैछ । अझै पानी पर्ने समय तीन÷चार महिना बाँकी छ”, योक्पाङ्देनले भन्नुभयो, “समग्रमा खोलाले तटीय क्षेत्रमा चिन्ता थपेको छ ।” प्रायजसो साउन र भदौमा अधिक वर्षा हुने हुँदा बाढीको जोखिम उत्तिकै रहेको र अब बाढीले कता क्षति पु¥याउला भन्ने अनुमान गर्न नसकिने अवस्था आएको उहाँको भनाइ छ ।

हेंवा खोला र तमोर नदीको दोभान माझीटारमा खोलाले शताब्दीऔँदेखि बसोबास गरिरहेको बस्तीमा कटान थालेको छ । फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ माझीटारमा कहिल्यै खेती नटुटेको खेतबारीलाई यसपालिको बाढीले ढुङ्गामुढाको खण्डहरमा परिणत गरिदिएको छ । दोभान नजिकै हेंवा खोलामा ढुङ्गा थुपारेको छ । नदीको कटान परिवर्तन हुनु र ढुङ्गा थुपारिनुले माझीटारको मुख्य बस्ती जोखिममा परेको स्थानीयवासी प्रकाश माझीको भनाइ छ । “अहिलेसम्म हामीले यस्तो जोखिम देखेका÷भोगेका थिएनौँ”, माझीले भन्नुभयो, “यसपालि घर छोडेर भाग्नुपर्ला कि जस्तो बनायो ।”

बाढीका कारण हेंवा खोलाका कुलबहादुर लावतीको खेतीयोग्य जमिन बालुवा, ढुङ्गा र मुढाले भरिएको छ । जे रोप्यो त्यही फल्ने खेत बालुवाले पुरेपछि के आम्दानीले जीविका चलाउने भन्ने चिन्ता परेको लावती बताउनुहुन्छ । बङ्गुर, हाँस र कुखुराको पालन तथा सागसब्जी उत्पादन गरी फिदिममा बिक्री गर्दै आउनुभएका भवानी योक्पाङ्देनको लगानी बालुवामा परिणत भएपछि उस्तै चिन्तामा हुनुहुन्छ । माझीटारको धेरै धान उत्पादन हुने खेत बगाएको छ भने खानीपानी र सिँचाइका स–साना योजनालाई कामै नलाग्ने बनाइदिएको छ ।

हेंवा खोलाले शताब्दीऔँदेखि अन्नपात उत्पादन गरिँदै आएका खेतबारीमा क्षति पु¥याएको छ । खण्डहर र बगर बनेका खेतबारीमा तत्कालै उत्पादन हुने सम्भावना छैन । जसले हिँउद र बर्खामा दुई खेती गरी जीविका चलाउँदै आएका कृषकलाई मारमा पारेको छ । त्यससँगै बाढीको जोखिमले भविष्यबारे पनि स्थानीयवासीलाई चिन्तित पारेको छ ।

आफूहरु जोखिममा परे पनि सरकारी निकायले वेवास्ता गरेको हिलिहाङ–७ की सुमिना लिम्बूको भनाइ छ । “घर बगाएका, मृत्यु र बेपत्ता भएका परिवारबारे सरकारले चासो राखेको छ तर घरबार भएर पनि बस्न नसक्ने स्थितिमा पुगेका हामीलाई कसैले एक शब्द सोध्नुभएको छैन्”, लिम्बूले हिलिहाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष भुवानीप्रसाद लिङदेनसमक्ष गुनासो पोख्नुभयो, “आज बल्ल तपाईं हाम्रो पीडा हेर्न आइदिनुभयो । अरुलाई त फोन गरेर आइदिनुहोस् न भन्दा पनि मान्नुभएन ।”

तमोर कोरिडोर र मेची राजमार्गमा पेसा व्यवसाय चलेका तथा खेतीयोग्य जमिनमा प्रसस्तै उत्पादन भइरहेका क्षेत्रलाई एकै बाढीले धराशायी बनाएपछि स्थानीयवासी अत्तालिएका छन् । स्थानीय सरकारले केही ढाडस दिएर जोखिममुक्त गर्दै उत्पादन र व्यवसायलाई पुरानै लयमा फर्काउनु आवश्यक रहेको जिल्ला समन्वय समिति पाँचथरका निवर्तमान प्रमुख विष्णुप्रसाद सापकोटा बताउनुहुन्छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।