दलवीरको बेमौसमी बन्दाखेती

म्याग्दी, २८ असार (रासस) :म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गर्नुभएको छ ।

समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बरामीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दाखेती गरेको बताउनुभयो ।

“बेमौसममा खेती गर्न सकिने जातको बन्दा परीक्षणका लागि भित्र्याएको हो”, उहाँले भन्नुभयो, “वैशाखमा लगाएको बिरुवा हुर्किएर बन्दाको आकार लिएको छ । साउन पहिलो हप्तादेखि बजार पठाउने तयारीमा छु ।” पानी खप्न सक्ने र चिसो हावापानीमा गर्न सकिने ग्रिन क्रोनेट जातको बेमौसमी बन्दा खेतीले पुनको फार्म हराभरा भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले जिल्लामा पहिलो पटक बर्खायाममा बन्दा उत्पादन भएको बताउनुभयो । “बन्दा हिउँदे तरकारी बाली हो, अहिले बर्खामा पनि खेती गर्न सकिने जातको विकास भएको छ”, उहाँले भन्नुभयो, “बेमौसममा उत्पादन भएको बन्दाले बजार र मूल्य राम्रो पाउँछ ।”

तीन वर्षदेखि टमाटरखेती गर्दै आएका पुनले यस वर्ष बेमौसमी बन्दाखेती गर्नुभएको हो । उहाँको फार्ममा हाल पाँच वटा सेमी हाइटेक टनेलमा टमाटर उत्पादन भएको छ । खुला टनेलमा हावाहुरी र असिनाले क्षति गरेपछि कृषि ज्ञान केन्द्रको सहयोगमा सेमी हाइटेक टनेल बनाएको पुनले बताउनुभयो ।

पुन विसं २०५७ देखि २०६८ सम्म तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा जनमुक्ति सेनाका रुपमा सहभागी हुनुभएको थियो । नेकपा (माओवादी केन्द्र)को वडा कमिटी अध्यक्ष रहेका पुन दहवन शिविरबाट स्वेच्छिक अवकाश लिएपछि करिब पाँच वर्ष रोल्पामै व्यापार, व्यवसाय गर्नुभएको थियो । सात वर्षअघि घर फर्किएर २१ रोपनी जग्गा किनेर कृषि फार्म स्थापना गर्नुभएको थियो ।

बाख्रापालनबाट फार्म सुरु गरेका पुन तीन वर्षयता टमाटर र बेमौसमी तरकारी खेतीमा केन्द्रित हुनुभएको छ । फार्ममा हालसम्म रु ५० लाख लगानी भएको पुनले बताउनुभयो । “कृषिमार्फत नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोचेर विदेश जान छाडेर यही खेती गरेर बसेको हुँ”, उहाँले भन्नुभयो, “आम्दानीबाट सन्तुष्ट छु । फार्मको पूर्वाधारमा लगानी विस्तार गरेको छु ।” दुई जना छोराछोरीलाई बेनीमा निजी विद्यालयमा पढाउनुभएको छ ।

बिहान झिसमिसेदेखि साँझसम्म फार्ममा काम गर्ने पुनले आवश्यकताअनुसार स्थानीय मजदुरलाई ज्यालामा काम गराउँदै आउनुभएको छ । मसलेदार फल टिम्मुर पनि खेती गर्नुभएका पुनको जडीबुटी खेती गर्ने योजना बनाउनुभएको छ ।

सिँचाइ सुविधा र चिसो हावापानी भएकाले तरकारी खेती प्रभावकारी भएको छ । सडक पुगे पनि यातायातको असुविधाका कारण ढुवानीमा धेरै खर्च हुने, बजारमा व्यापारीले भनेको मूल्यमा सामान बेच्नुपर्दा समस्या भएको पुनले बताउनुभयो । बेनी, बागलुङमा खपत नभएको तरकारी पोखरा पठाउने गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत तरकारीको बजारी गरेको पुनले बताउनुभयो ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।