ताप्लेजुङ ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने

ताप्लेजुङ, ३१ असार (रासस) ः ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदकका ६४ घरपरिवारलाई स्थानान्तरण गरिने भएको छ । यही असार २ गते राति अविरल वर्षासँगै गएको बाढी र पहिराका कारण उच्च जोखिममा रहेका सिङ्गो बस्तीका घरपरिवारलाई अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गरिने भएको हो ।

शनिबार स्थानीय विपद् व्यवस्थापन समितिको आयोजनामा भएको सर्वपक्षीय बैठकले तत्काल वडा नं ३ स्थित खुला स्थानमा अस्थायी टहरा निर्माण गरी स्थानान्तरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार अस्थायी टहरा निर्माणका लागि यहाँस्थित सबै राजनीतिक पार्टी, सुरक्षा निकाय, जनप्रतिनिधिको संयुक्त टोली खटिने छ । उहाँका अनुसार आगामी साउन ७ गतेदेखि उक्त काम प्रारम्भ हुने छ ।

यस्तै स्थानान्तरणका लागि विभिन्न निकायसँग समेत समन्वय गर्ने जनाइएको छ । विपद्का घटनामा सबैले मिलेर अघि बढ्नुपर्ने आवश्यकता देखिएकाले यसमा सहयोग गर्न गाउँपालिका अध्यक्ष वनेमले आग्रहसमेत गर्नुभयो । बाढीपहिराका कारण यस गाउँपालिकाको ओदकका बासिन्दा सबैभन्दा बढी प्रभावित बनेका छन् । ओदक बस्तीमा जाने विभिन्न खोला खोल्साका पुल बाढीले बगाएको छ भने बस्तीका विभिन्न भाग पहिराले चिराचिरा परेको छ । पहिराकै कारण यहाँ ओहोरदोहोर गर्नसमेत समस्या छ ।

ताप्लेजुङमा लाखे नाच
ताप्लेजुङमा शनिबारदेखि नेवार समुदायमा प्रचलित लाखे नाच सुरु गरिएको छ । गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्वका अवसरमा नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङले सदरमुकाम फुङलिङस्थित भिन्तुना डाँडामा लाखे नाच सुरु गरेको हो ।

फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले लाखे नाचको शुभारम्भ गर्नुभएको छ । नेपाल भाषा तथा सांस्कृतिक समाजले भिन्तुना डाँडामा लाखे नाच शुभारम्भ समारोहको आयोजना गरेको थियो । सांस्कृतिक पर्व गठेमङ्गलका अवसरमा हरेक वर्ष सदरमुकामवासीले लाखे नाच निकाल्दै आएका छन् ।

लाखेको मुखुन्डो पहिरिएर प्रस्तुत गरिने परम्परागत नृत्यलाई नै लाखे नाच भन्ने गरिएको छ । उक्त नाचमा ढोलक, ट्याम्को, मजुरालगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको मान्छेको आत्माले दुःख नदेओस् भनेर यो नाच देखाइने गरेको नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शङ्कर श्रेष्ठले बताउनुभयो ।

नेवार समुदायमा तन्त्रमन्त्र र भूतप्रेतबाट बच्न गठेमङ्गललाई विशेष दिनका रूपमा लिने गरिएको छ । यस दिनमा भीमकाय राक्षसको सम्झना गरिन्छ भने उक्त राक्षसको मृत्युपछि भय त्रासबाट मुक्त भएको विश्वास गरिन्छ ।
–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।