‘बिताउँ जुनी हाँसेर माया गाँसेर’

अन्नपूर्ण (कास्की), २ साउन (रासस) :
‘आए म त खैजरीको तालै सुनेर
दिए मन तिमीलाई नै हजारौँमा चुनेर ।
जिन्दगी त दुई दिनको पाहुना हो
बिताउँ जुनी हाँसेर माया गाँसेर ।।’

गायक नवराज थापा, राजकुमार बगर र प्रसाद थापाको स्वरमा रहेको यो कौराहा (कौडा) गीत निकै चर्चामा छ । यो गीतभन्दा अघि र पछि पनि कौराहा गीत र नृत्य निकै चर्चामा रह्यो । आधुनिकतामा गीत चर्चामा रहे पनि मौलिक शैलीको कौराहा संस्कृति लोप हुने हो कि ? भन्ने चिन्ता छ, मगर समुदायलाई ।

यही चिन्तालाई मध्यनजर गर्दै पछिल्लो समय मौलिक कौराहा संस्कृति जोगाउन तल्लिन छन् मगर समुदाय । केटाले गीत गाएर खैजरी र मुजुरा बजाउँदै केटीलाई नचाउने कौराहा नृत्य नेपालमा मगर समुदायको परम्परा लोकप्रिय नाच हो । सोही परम्परा जोगाउन पछिल्लो समय मगर युवायुवती नै लागिपरेका छन् । नेपाल मगर सङ्घ कास्की कदममार्ग चाउथे एकाइ समितिका युवायुवती मगर समुदायले आयोजना गर्ने हरेक कार्यक्रममा पुगिहाल्छन् । मगर पोशाकमा सजिएका उनीहरू खैजरी र मुजुराको तालमा कम्मर मर्काउन सुरु गरिहाल्छन् ।

कदममार्ग चाउथे एकाइ समितिका कलाकार सीमा रानामगर आफ्नो संस्कृति हराउने हो कि ? भन्ने चिन्ताले केही समयअघि सिकेर नाच्दै हिँडेको बताउनुहुन्छ । “मैले सिकेको पाँच–छ महिना भयो । हामीले नसिके हाम्रो संस्कृति नै हराउने हो कि भन्ने चिन्ता थियो”, सीमाले भन्नुभयो, “युट्युबमा आएको गीतमा त पहिला पनि नाचेको थिएँ । तर खैजरी र मुजुरा बजाएर प्रत्यक्ष नाच्नु हाम्रो परम्परा रहेछ । अहिले बल्ल थाहा भयो ।” उक्त समूहमा अहिले १० जनाले नृत्य गर्ने गरेको उहाँले सुनाउनुभयो । “हामी अहिले १० जना छौँ । हामीले केही भए पनि जानिसकेका छौँ”, सीमाले भन्नुभयो, “हामीले जानेपछि पछि आउने पुस्तालाई पनि सिकाउन सजिलो हुन्छ ।”

सोही समूहमा खैजरी बजाउने अनि गीत गाउने क्याप्टेन ताराबहादुर रानामगरले लोप हुन थालेका कौराहा संस्कृति बचाउन सफल भएको बताउनुहुन्छ । “केही समयअघि त संस्कृति लोप नै हुने हो कि ? भन्ने साह्रै चिन्ता थियो”, ताराबहादुरले भन्नुभयो, “पछि हामीले नै हाम्रो संस्कृति जोगाउनुपर्छ भनेर लागेपछि युवायुवतीले पनि रुचि राखेर सिके । अब चाहिँ बचाउन सकिन्छ भन्ने लागेको छ ।”

कदममार्ग एकाइले जस्तै देशभरका नेपाल मगर सङ्घ अन्तर्गतका अरु समाजले पनि मौलिक कौराहा नाच्ने गरेको उहाँले बताउनुभयो । “पोखरामा अगल–अगल जिल्लाका मगर समुदायका मानिसको बसोबास छ । त्यसैले चुनौती पनि थियो । तर हामीले आँट्यौँ”, उहाँले भन्नुभयो, “बूढापाका अनि नानीबाबुलाई बोलाएर सिक्यौँ अहिले त सजिलो भएको छ । हामीले जस्तै अरु समाजले पनि सिक्दै हुनुहुन्छ ।” पुरानो घर तनहुँ बताउनुहुने ताराबहादुरले गाउँघरको जस्तै कौराहा जोगाउन सकेकामा खुसी व्यक्त गर्नुभयो । तनहुँतिरको मौलिक कौराहाको गीत उहाँले यसरी सम्झनुभयो ।

‘खैजरी के को छालाको
नानी त रैछ बाजेको पालाको ।
पछ्यौरीको छेवै भिज्यो तिम्ले माया मार्दा
यो नानीको मायाले गर्दा ।।’

राष्ट्रिय मौलिक कौराहा संरक्षणका लागि समिति नै गठन गरेर काम गरिरहेको राष्ट्रिय मौलिक कौराहा संरक्षण नेपालका अध्यक्ष हर्क आलेमगरले बताउनुभयो । विसं २०७३ मा स्थापना भएको समितिले सोही वर्ष मौलिक कौराहाको राष्ट्रिय सम्मेलन गरेको उहाँले जानकारी दिनुभयो । “स्थापनापछि हामीले दमौलीमा राष्ट्रिय सम्मेलन ग¥यौँ । त्यहाँ कौराहाको पृष्ठभूमिसहित परिभाषामाथि चर्चा भयो”, अध्यक्ष आलेमगरले भन्नुभयो, “पृष्ठभूमिको दस्तावेजीकरणका लागि हामीले दमौली घोषणापत्र जारी गर्यौँ ।”

दमौली घोषणापत्र जारी भएपछि समूह निर्माण गरी संरक्षणका लागि विभिन्न जिल्लामा पुगेको उहाँले सुनाउनुभयो । “यसको विकृति बढिरहेकाले मौलिकता जोगाउनुपर्छ भनेर समूह निर्माण विभिन्न जिल्लामा पुग्यौँ”, उहाँले भन्नुभयो, “जसले जस्तो किसिमले नाच्ने गाउने गरे पनि पहिला यसरी नाचिन्थ्यो भनेर मौलिकता देखाउन खोजिएको छ ।” पत्रकारिताका माध्यमबाट मौलिक कौराहा संरक्षणका लागि ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार’को स्थापना गरेको पनि उहाँले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।