एक्कासि बढ्यो अन्डाको मूल्य

काठमाडौँ — उत्पादनमा कमी आएको भन्दै तीन महिनाभित्रमा अन्डाको होलसेल मूल्य प्रतिगोटा झन्डै ४ रुपैयाँले बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले गत असार २६ मा मझौला अन्डाको प्रतिक्रेट ४ सय २५ रुपैयाँ र ठूलो अन्डा प्रतिक्रेट ४ सय ५० रुपैयाँ तोकेको छ । जबकि तीन महिनाअघि २०७९ चैत २२ मा मझौला अन्डा प्रतिक्रेट ३ सय १५ रुपैयाँ र ठूलो अन्डा प्रतिक्रेट ३ सय ४५ रुपैयाँ थियो । असार महिनामा मात्रै उत्पादकले प्रतिक्रेट २५ रुपैयाँसम्म मूल्य बढाइसकेका छन् ।

होलसेल मूल्य नै बढेपछि अन्डाको खुद्रा मूल्य झनै बढेको छ । खुद्रा बजारमा अन्डा प्रतिक्रेट ५ सय ३० देखि ६ सय रुपैयाँसम्ममा बिक्री भएको छ । त्यस्तै, प्रतिगोटा अन्डा २० रुपैयाँसम्ममा बिक्री भइरहेको खुद्रा व्यापारीहरू बताउँछन् । ‘उत्पादक, होलसेल र वितरकले हप्तैपिच्छे मनपरी मूल्य बढाएका छन्,’ नाम उल्लेख गर्न नचाहने एक खुद्रा व्यापारीले भने, ‘साताअघिसम्म २ वटा अन्डा ३५ रुपैयाँसम्ममा बेच्न सकिन्थ्यो । अहिले गोटाकै २० रुपैयाँ पर्ने भइसक्यो ।’ पर्याप्त उत्पादन नभएको भन्दै व्यवसायीहरूले मूल्य अस्वाभाविक रूपमा बढाएका हुन् ।नेपाल अन्डा उत्पादक संघले बर्डफ्लु महामारी, बैंकको ऋण, आर्थिक मन्दीलगायत कारणले अन्डा उत्पादनमा कमी आएको जनाएको छ ।

‘व्यावसायिक किसानकै संख्या करिब ३० प्रतिशतले घटेको छ । कतिपय किसान बिदेसिएका छन्, भने कतिपयले पेसा छाडेका छन्,’ संघका केन्द्रीय समितिका अध्यक्ष शिवराम केसीले भने, ‘अन्डाको उत्पादन घटेपछि करिब डेढ महिनायता भाउ पनि बढेको बढ्यै छ ।’ उत्पादन ३० देखि ३५ प्रतिशतसम्म घटेको संघले जनाएको छ ।

एक व्यवसायीका अनुसार केही ठूला व्यापारीको सिन्डिकेटका कारण अन्डाको भाउ महँगिएको हो । ‘४/५ वर्षअघि अन्डाका लागि धेरै किसानले लेयर्स (कुखुरा) पालेका थिए, त्यसबेला अन्डा क्रेटकै २ सय रुपैयाँमै पाइन्थ्यो । ठूला व्यापारीले त्यो बेला मूल्य झनै घटाएर बिक्री गरिदिँदा साना किसान मर्कामा परेर पलायन नै भए,’ ती व्यवसायीले थपे, ‘साना किसान डुबेपछि ठूलाले अन्डाको मनलाग्दी भाउ गरे । सीमित व्यापारीको सिन्डिकेटका कारण मूल्य बढेको छ ।’

ललितपुर पोल्ट्रीका सञ्चालक पीताम्बर सञ्जेलले पनि अधिकांश कुखुरापालक किसानहरू पलायन भएपछि अन्डाको उत्पादन घट्दा मूल्य बढेको बताए । ‘चार वर्षसम्म लागत मूल्यभन्दा पनि कममा घाटा खाएर बेच्नुपरेको थियो । घाटा भएपछि धेरै किसानले कुखुरा पाल्नै छोडे,’ सञ्जेलले थपे, ‘बजारमा अन्डा कम भएपछि पोहोरभन्दा मूल्य डेढ गुणाले बढेको हो । अन्डाको यो अहिलेसम्मकै उच्च मूल्य हो ।’ त्यसो त विगतमा अन्डाको लागत मूल्यसमेत नपाएका किसानले अहिले राम्रो भाउ पाएकामा खुसी छन् ।

केही ठूला व्यापारीले एकलौटी रूपमा मूल्य बढाइरहँदा सरकार भने रमिते बनेर बसेको उपभोक्ता अधिकारकर्मीहरू आरोप लगाउँछन् । ‘बजारमा मूल्य मनलाग्दी छ, तर नियमन गर्ने सम्बन्धित निकायले कुनै चासो नै दिएको छैन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘मूल्य नियन्त्रण गर्न तत्काल बजार हस्तक्षेप जरुरी छ । वास्तविकता के हो, पहिचान गरेर कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’ बजारमूल्य हस्तक्षेप तथा नियन्त्रण गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो । तर, विभागले मूल्यको अनुगमन नै गरेको छैन । विभागका प्रवक्ता होमनाथ भट्टराईले मूल्य बढेको सन्दर्भमा उजुरी, गुनासो नआएको बताए । यद्यपि, अन्डाको मूल्यबारे बुझ्ने काम भइरहेको उल्लेख गर्दै भने, ‘मूल्यबारे पशुसेवा विभागमा पनि जानकारी मागेका छौं ।’

पशुसेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले अन्डाको माग र आपूर्तिले मूल्य निर्धारण भएको बताए । बजारमा लेयर्स कुखुराको संख्या घटेकाले मूल्य बढेको बताए । ‘बर्डफ्लु, आर्थिक मन्दीका कारण कुखुराको संख्या पनि घटेको छ । गत वर्षमात्रै करिब ६ लाख लेयर्स नष्ट भयो,’ उनले भने, ‘संख्या कम हुँदा उत्पादन पनि घटेको देखिन्छ, त्यसको असर स्वाभाविक रूपमा मूल्यमा पनि परेको छ ।’

त्यसो त सरकारले अन्डा उत्पादनमा आत्मनिर्भर रहेको भन्दै २०७७ चैतमा घोषणा नै गरेको थियो । हरेक नागरिकलाई बर्सेनि ६१ गोटा अन्डा भागमा पर्ने भन्दै उक्त घोषणा गरिएको साढे दुई वर्ष बित्न नपाउँदै उत्पादनमा कमी आएको भन्दै बजार मूल्य अकासिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।