बिहेको प्रलोभन देखाएर दुई वर्षदेखि लगातार बलात्कार, गर्भमा बच्चा बसेपछि न्याय खोज्दै किशोरी

गोकुलेश्वर । १६ वर्षीय दोभान (परिवर्तित नाम) यतिबेला न्याय खोज्दै प्रहरी कार्यालय पुगेकी छन् । पश्चिम सुर्खेत घर भएकी ती किशोरीलाई गाउँकै कमल माझी (काले) भनिने २१ वर्षीय युवकले दुई वर्षदेखि बिहे गर्ने प्रलोभनमा बलात्कार गर्दै आएको बताएकी छन्। उनको गर्भमा नौ हप्ताको बच्चासमेत आइसकेको उनको स्वास्थ्य रिपोर्टले देखाएको छ ।

दलित समुदायकी ती किशोरीलाई माझीले विभिन्न समयमा उनकै कोठामा, घरमा र विद्यालयमा लिएर बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ। उनको समस्याको समाधान गाउँमै गर्न खोजिए पनि असार ९ गतेदेखि ती युवा फरार छन्। त्यसपछि न्याय माग्दै किशोरी प्रहरी कार्यालयसम्म आइपुगेकी हुन् ।

विवाह गर्छु भन्दै विभिन्न आश्वासन दिएर दुई वर्षदेखि बलात्कार गर्दै आएको पीडित किशोरीले बताइन् ।

‘मायाँ गर्छु, विवाह गर्छु भनेर मलाई कहिल्यै राति कोठामा आएर, कहिले उसकै घरमा त कहिले स्कुलमा लिएरसमेत बलात्कार गर्यो। बच्चा भयो भनेर उसलाई भनेपछि तँ सानो जातको होस्, घरमा स्विकार्दैनन् । भनेर गाउँबाटै भागेर गयो। गाउँ समाजमा कुरा काट्छन्,’ पीडित किशोरीले भनिन्, ‘मलाई यसरी घर न घाटको बनाउने त्यसलाई कारबाही गरेपछि मात्रै मैले न्याय पाउने थिएँ ।’

पीडित १६ वर्षीय किशोरीले यो वर्ष मात्रै एसईईमा २.४० जीपीए ल्याएर पास भएकी छन्। तीन भाइ, दुई बहिनीमध्ये कान्छी उनले पढेर स्टाफ नर्स बन्ने सपना देखेकी छन् ।

घटनापछि आफ्नो पढाइ र सपनामा बज्रपात भएको भन्दै उनी अहिले न्याय मागिरहेकी छन्। उनी वीरेन्द्रनगरस्थित एक गैरसरकारी संस्थाको आवास गृहमा आश्रय लिइरहेकी छन् ।

यही घटनाका कारण उनलाई मानसिक समस्यासमेत देखिएको उनको स्वास्थ्य परीक्षणमा सहभागी चिकित्सक बताउँछन् ।

दुई वर्षदेखि विवाह गर्छु भन्ने आश्वासन दिएर पटक–पटक यौन सम्बन्ध राखेपछि पीडक परिवारले समस्या समाधानतर्फ ध्यान नदिँदा न्याय खोज्दै प्रहरीसम्म आइपुगेको किशोरीकी भाउजूले बताइन् ।

‘हामी त भारततिर नै हुने, घरमा सासू, ससुरा तर नन्द मात्रै थिए। पहिला हामीलाई केही जानकारी भएन। उसले बिहे गर्ने लालच देखाएर पटक–पटक यौन सम्बन्ध राखेको रहेछ। जब नन्दको महिनावारी रोकियो, त्यसपछि मात्रै यो कुरा बाहिर आयो,’दुधे बालक काखमा च्यापेर प्रहरी कार्यालय आएकी किशोरीकी भाउजूले भनिन्, ‘यो समस्या समाधान गर्न हामीले केटा पक्षलाई पनि छलफल गरौं भनेर बारम्बार भन्यौं। तर, उनीहरूले केटा नै भगाएपछि जिल्लासम्म आएका हौं ।’

पीडित किशोरीका बुवाआमा सामान्य कृषक हुन्। उनका बुवा गाउँघरमा मिस्त्री (घर बनाउने) काम गर्छन्। दिदीको विवाह भइसकेको छ भने दाजु र भाउजूले भारततिर मजदुरी गरेर जीविका चलाइरहेका छन् ।

यही घटनाका कारण गाउँघरमा उनीहरूबारे नकारात्मक कुराहरू सुनिन थालेपछि बुवाआमासमेत मानसिक समस्यामा परेका छन् । पीडित किशोरीले यही साउन ४ गते प्रहरीमा ती युवकविरुद्ध जबरजस्तीकरणीको जाहेरी दिएकी छन्। युवक फरार भएकोले प्रहरीले उनको खोजी कार्य अघि बढाएको छ ।

‘हामीकहाँ जाहेरी आएको छ। किशोरीको स्वास्थ्य परीक्षण र घटनाको मुचुल्कासमेत गरिसकेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम चौधरीले भने, ‘केटा फरार रहेकाले विभिन्न तवरबाट हामीले उसको खोजी कार्य जारी राखेका छौं ।’

यस्तो छ किशारीको बयान
गाउँकै छिमेकी काले भनिने कमल माझीले आजभन्दा दुई वर्ष अगाडि म स्कुल गएको बेला मलाई माया गर्छु भनेर भन्यो। मैले केही वास्ता गरेकी थिइन्। निरन्तर मेरो पिछा लाग्न थालेपछि म पनि प्रभावित भएँ । ऊ मभन्दा दुई कक्षा बढी पढ्थ्यो । उसले मलाई विवाह गर्छु भनेर यौन सम्बन्ध राख्यो। त्यसपछि पटक–पटक जबरजस्ती रूपमा यौन सम्बन्ध हुन्थ्यो। प्रतिकार गर्दा विवाह गर्ने त हो नि भन्दै फकाउँथ्यो। ऊ गाउँमा पनि अलि बदमास भनेर चिनिन्थ्यो। जाँडरक्सी र गाँजासमेत सेवन गर्थ्यो ।दिदीको बिहे र दाइ भाउजु भारततिर गएकोले मेरो घरमा बुवाआमा र म मात्रै हुन्थ्यौं। बुवाआमा अर्को कोठा र म अर्को कोठा सुत्थें। ऊ त्यहीँ आएर मलाई जबरजस्तीकरणी गर्थ्यो। म कराउन खोज्दा धम्की दिएर चुप लगाउँथ्यो। त्यसरी नै दिन, महिना हुँदै वर्ष बिते । केही महिना अगाडि एक्कासि मलाई बान्ता भयो, चक्कर लाग्यो । महिनावारी पनि रोकिएको थियो। भाउजू भारतबाट घरमा अएकाले मैले भाउजूलाई सबै कुरा भनें। त्यसपछि उहाँले अस्पतालबाट गर्भ बसेको नबसेको थाहा पाउने किट किनेर ल्याउनुभयो । जचाउँदा बच्चा देखियो। मैले त्यो कुरा कमललाई भनें। उसले मलाई उल्टै मेरो होइन। अरुको होला भनेर आरोप लगायो। फेरि जात नमिल्ने भएकाले तँलाई विवाह गर्न मिल्दैन भन्यो। मेरो घरकाले छलफल गर्ने भनेर भन्दा त्यसको भोलिपल्ट ऊ गाउँबाटै भागेर बेपत्ता भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।