खुला प्रतिस्पर्धाबाट नयाँ प्रअ नियुक्त गर्दै दिक्तेल रुपाकोट मझुवागढी

खोटाङ, ९ साउन (रासस) ः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक हटाएको छ । अब खुला प्रतिस्पर्धामार्फत नयाँ प्रधानाध्यापक नियुक्त गर्ने गरी नगर कार्यपालिकाको बैठकले तयारी थालेको छ ।

सङ्घीय शिक्षा ऐन, नगर शिक्षा ऐन, नियमावली र प्रधानाध्यापक छनोट तथा व्यवस्थापनसम्बन्धी कार्यविधिले व्यवस्था गरेबमोजिम प्रधानाध्यापक नियुक्ति गर्ने निर्णय गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “विज्ञापन गरेर पुनः प्रधानाध्यापक नियुक्त नभएसम्म हाल कार्यरत प्रधानाध्यापकलाई निमित्त दिएर कामकाज गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी नगरपालिकाले कार्यविधि निर्माण गरेको छ । सोही कार्यविधिअनुसार सबै तहका विद्यालयमा नयाँ प्रधानाध्यापक नियुक्त गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।”

सङ्घीय शिक्षा ऐन र नगरपालिकाले निर्माण गरेको शिक्षा ऐनमा हरेक पाँच–पाँच वर्षमा परीक्षा लिएर प्रधानाध्यापक नियुक्त गर्ने प्रावधान छ । नगरपालिकाले निकाल्ने विज्ञापनअनुसार योग्यता पुगेका शिक्षकलाई खुला प्रतिस्पर्धाबाट कार्यविधि र दुवै शिक्षा ऐनअनुसार प्रधानाध्यापक नियुक्त गरिने जनाइएको छ ।

शैक्षिक क्षेत्रको गुणस्तर सुधार गर्ने उद्देश्यका साथ नगरपालिकाले निर्माण गरेको शिक्षा ऐन कार्यान्वयन गर्ने गरी प्रक्रिया अगाडि बढाइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख एवं वडा नं १२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताउनुभयो । “अहिलेसम्म शिक्षामा गुणस्तर ल्याउने भन्ने गफमात्र भयो । काम कोहीबाट पनि भएन । शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न ऐन तथा नियम बन्छन् । तर अहिलेसम्म कार्यान्वयनमा ल्याइएका छैनन्”, उहाँले भन्नुभयो, “आफँैले बनाएको ऐनलाई टेकेर योग्यता पुगेका शिक्षकलाई प्रधानाध्यापक बनाउँदा शैक्षिक क्षेत्रमा गुणस्तर सुधार आउने विश्वासका साथ हामीले यो प्रक्रिया अगाडि बढाएका हौँ ।”

क्षमतावान व्यक्तिले नेतृत्व गर्दा विद्यालयको पठनपाठनमा समेत गुणस्तर कायम हुने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको बुझाइ छ । खुला प्रतिस्पर्धाबाट ऐन एवं कार्यविधिअनुसार प्रधानाध्यापक नियुक्त गर्ने विषयले शिक्षा क्षेत्रमा हुने राजनीतिक भागबण्डा केही हदसम्म कम हुने र यसले विद्यार्थीका लागि गुणस्तीय शिक्षा प्रदानमा समेत ठूलो टेवा पुग्ने अपेक्षा गरिएको अभिभावकहरूले बताएका छन् ।

विद्यालयमा प्रधानाध्यापक नियुक्त गर्दा योग्यता भएका शिक्षक हुनुपर्ने माग आफूहरूले यसअघिबाटै राख्दै आएको नेपाल शिक्षक महासङ्घ खोटाङका अध्यक्ष मीनकुमार दाहालले बताउनुभयो । “आफूहरूको मागअनुसार नगरपालिकाले प्रधानाध्यापक व्यवस्थापन गर्न लाग्नु सकारात्मक काम हो । तर नयाँ प्रधानाध्यापक नियुक्त नहुँदै अहिले कार्यरत प्रधानाध्यापक हटाउनुहुँदैथ्यो”, उहाँले भन्नुभयो, “नगरले नियुक्त गर्ने प्रधानाध्यापक निष्पक्ष हुनुपर्छ । विद्यालय क्षेत्र निष्पक्ष नभएसम्म शैक्षिक सुधार सम्भव छैन ।”

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरूले यसअघि नै नगरपालिकासँग लिखितरूपमा प्रतिबद्धता जनाएका थिए । नगरपालिकाभित्र सञ्चालित मावि, निमावि र आविका विद्यालय व्यवस्थापन समिति अध्यक्षले १५ तथा प्रधानाध्यापकले १७ बुँदामा शैक्षिक सुधारका काम गर्ने लिखित प्रतिबद्धता जनाएका हुन् ।

जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (पन्ध्रवटा वडा रहेको) यस नगरपालिकामा ९१ सामुदायिक विद्यालय सञ्चालित रहेका छन् । माध्यमिक तह २१, आधारभूत (कक्षा १–८ पढाइ हुने) १३ र कक्षा १–५ पढाइ हुने ५७ विद्यालय सञ्चालनमा छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।