दिउँसो पाँच, राति तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौ । अहिले (मंगलबार बिहान) काठमाडौं उपत्यकासहित देशभर विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यतिबेला कोशी, मधेश र कर्णाली प्रदेशका एक/दुई स्थानमा र बाँकी प्रदेशमा केही स्थानमा वर्षा भइरहेको हो ।
पछिल्लो ३ घण्टामा चितवन आसपास, पाल्पा आसपास, दाङ आसपास र कैलाली टीकापुरमा भारीदेखि धेरै भारी वर्षा भएको छ’, उनले भने । मौसमविद् झाका अनुसार आज मौसम खुल्ने सम्भावना छैन। ‘केही बेर खुलेजस्तो भए पनि फेरि मौसम बदली र वर्षा हुने देखिन्छ’, उनले भने ।
मौसम महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै राति पनि देशभर मौसम सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाका अनुसार राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
महाशाखाले आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्शपनि जारी गरेको छ ।
जसमा भनिएको छ– देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । तसर्थ यसकारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।


